
दार्चुला। जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन फ्रुट खेती शुरु गरिएको छ ।
नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कृषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन फ्रुट खेती शुरु गरेका हुन् । कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गरेका महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामी लगायतको टोलीले ड्रागन फुड खेती शुरु गरेको छ । एक हजार ८०० वर्गकिलोमिटर जमीन भाडामा लिएर यो खेती शुरु गरिएको इन्जिनीयर महेन्द्रसिंहले जानकारी दिए ।
यो खेतीको शुरुआत गर्न उनीहरुले रु १० लाख बढी रकम खर्च गर्दैछन् । “कृषि पढिसकेपछि आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना लिएर आफूहरुले आफ्नै ठाउँमा व्यवसाय गर्न लागेका हौँ”, भक्तसिंहले भने । ड्रागनले खेती शुरु गरेको ड्रागन फ्रुटले दुई वर्षपछि उत्पादन दिने गर्दछ । कैलाश भन्छन्, “हावापानी, मौसम सुहाउँदो देखिएकाले ड्रागनले खेती शुरु गरेका हौँ ।” यो खेती गर्न गाउँपालिकाले पनि सहयोग गरेको छ । पहिलो चरणमा रु दुई लाख ड्रागन फ्रुट व्यवसाय सञ्चालनको लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।