नेपाल एक कृषि प्रधान देश हो र देशको कुल राष्ट्रिय उत्पादनको लगभग एक तिहाई कृषि क्षेत्रले ओगटेको छ । देश बिकासको लागि कृषि क्रान्ति र यस क्षेत्रको बिकासको अपरिहार्य रहनेमा सबैको एकमत छ । कृषि क्षेत्रमा अनेक समस्या छन । तिनै मध्येको अहिलेको प्रमुख समस्या रासायनिक मलको अभाव हो । अहिलेको परिबेस हेर्ने हो भने किसानहरु बढी रसायनिक मलमा निर्भर भएको पाइन्छ । जसले गर्दा माटोको उर्बराशक्ति घट्नुका साथै वातवरणमा पनि उतिकै असर पार्ने गर्छ । त्यही पनि हाम्रो देश नेपालमा रसायनिक मल सजिलै भनेको समयमा सुपथ मुल्यमा किसानहरुलाई उपलब्ध हुने गर्दैन । समयमा मल हाल्न नपाएका कारण उत्पादन घटेर धेरै किसानहरु मर्कामा पर्ने गर्दछन् ।

अझै भनौ अहिले कोरोनाको महामारीले देश भरि लकडाउन भैरहेको अवस्था छ । गत आर्थिक बर्समा १२ लाख ९५ हजार हेक्टरमा मात्र धान लगाउन सम्भब भएको थियो । पोहोर भन्दा यो वर्ष ५४ हजार हेक्टरमा बढी धान खेति लगाउन पाइयो । यो वर्ष समयमै पानी पर्यो जसले गर्दा आकाशे खेतीमा भर पर्ने हाम्रा लागि यो अब्बल समय थियो । जनशक्ति पनि कोरोना छल्न सहर बजार बाट गाउँ गाउँ पुगेका थिए । त्यसैले पनि बिगतको तुलनामा सबैभन्दा बढी क्षेत्रफ़लमा खेति भयपछि बढी उत्पादनको आशा राख्नु स्वाभाविक नै हो । धान बालीमा यूरिया मल हाल्ने समय भएको छ तर लकडाउन र मल बजारमा उपलप्ध नभएका कारण किसान अतालिएर अलिअलि पाएको यूरिया दोब्बर तेब्बर मुल्यमा किन्न बाध्य भएका छन् । अझै अहिले मल बिक्रेताहरुले चिनी मल यूरिया जस्तै हो भन्दै महँगो मा बेचिरहेका छन् र सोझा किसानहरु ठगीरहेका छन् । किसानहरुले सधै एउटै तरिकाले सोच्ने अनि पुरानै तरिकाले खेति गर्ने गरेको देखिन्छ । हामीले दिन दिनै हामीबाटै सिर्जित अमुल्य मल खेर फालिरहेका हुन्छौ, जुन हाम्रो पिसाब हो । हाम्रो पिसाबमा बालीलाई चाहिने तत्त्वहरु प्रसस्त मात्रामा पाइने गर्छ तर हामी यसलाई ढल बनाई बगाइराखेका छौं । पिसाबलाई राम्रो संग प्रयोग गर्ने हो भने हामीले गर्ने खेतिहरुलाई कुनै पनि रसायनिक मलको आवश्यक पर्दैन । जुन आर्थिक, वातावरणीय र पर्यावरणीय हिसाबले नि फाइदामुलक नै हुनेछ । जसको प्रयोगका लागि आवश्यक प्रविधिमा अनुसन्धान हुनु पर्ने भने देखिन्छ ।

मानिसको पिसाबमा ९५ % पानीको मात्रा हुन्छ भने बाँकी ५ %मा युरिया, युरिक एसिड, एमोनिया, क्याल्सियम, म्यागनेसियम, सल्फेट, पोटास, फोस्फेट आदि तत्वहरु रहेको हुन्छ । मानब शरीरले उपयोग गरेर बाँकी रहेको बस्तु दिशा पिसाबबाट बाहिर फाल्ने गर्दछ । यस क्रममा पिसाबबाट विभिन्न तत्वहरु बढी मात्रामा फालिएको हुन्छ । पिसाबमा भएको युरिया, युरिक एसिड, एमोनिया बाट बिरुवालाई आवश्यक पर्ने नाईट्रोजन उपलब्ध हुन्छ । पिसाबमा २ % युरिया हुन्छ जुन ठुलो मात्रामा नाईट्रोजनको स्रोत हो । एक जना मानिसले दिनमा सरदर १.५ लि. पिसाब फाल्ने गर्दछ । मानिस बसोवास क्षेत्र, खानपान, हावापानी आदी कुराले पिसाबको मात्रा फरक पार्दछ । यसरी हिसाब गर्दा झन्डै एक जना मानिसले एक वर्षमा ५००-६०० लि. सम्म पिसाब फाल्दछ । यसरी एउटा परिवारको हिसाब गर्दा परिमाण झनै धेरै हुन्छ । यसर्थ बिरुवालाई आवश्यक तत्व ले भरिपूण ठुलो मात्राको पिसाब यसै खेरा गईरहेको छ । यसलाई सहि तरिकाले प्रयोगमा ल्याउन सकियो भने सामाजिक, आर्थिक तथा वातावरणीय दृस्टीले असाध्यै राम्रो हुने देखिन्छ ।

नेपालमा बार्षिक हाराहारी ७ लाख मेट्रिक टन रासायनिक मलको आवश्यक पर्छ । सरकारले मागको हाराहारीमा आधा मात्र मल आपूर्ति गर्ने गर्छ । हाल बजारमा रसाएनिक मलको चरम अभाव छ । आवश्यक समयमा मल पाउनुपर्ने बेला ठेकेदार र बिचौलियाको कारण किसानहरु बर्सेनि चपेटामा पर्दै आएका छन् । यसरी ठुलो परिमाणमा रासायनिक मल आयात गर्दा राज्यको ठुलो धनरासी बाहिर गईरहेको छ भने त्यो आयातित मलले उर्वर माटोलाई अझै बिगार्दै गईरहेको पनि छ । यसअर्थमा पनि मानब पिसाब सहि प्रयोगमा ल्याउन सकियो भने राज्यको व्यापार घाटा घट्न जान्छ, बिरुवाले पनि प्रसस्त मात्रामा चाहिने तत्वहरु पाउछ । किसानले परनिर्भरता भोग्नु पर्दैन भने उत्पादन पनि प्रांगारिक हुन्छ । जसको दिर्घकालिन असर राम्रो देखिन्छ ।

पिसाबको संकलन र प्रयोग गर्ने बिधि :
स्वास्थ मानिसको पिसाब शुस्म जीवाणु रहित हुन्छ । पिसाबलाई सिदै सफा तरिकाले कुनै संकलन बिधि ल्याउन सके वा टोइलेटबाट पिसाब संकलन गर्न मिल्ने तरिकाले संरचना निर्माण गर्न सक्ने हो भने पिसाब संकलन गरि जम्मा पार्न सकिन्छ । यसरी जम्मा पारिएको पिसाबलाई उपयोगमा ल्याउन पिसाबमा हुन सकने जीवाणुहरुलाई नस्ट पार्न कम्तिमा २१ दिनसम्म बन्द भाँडोमा राख्नु पर्दछ । बन्द भाडाको पिसाबलाई निकाली एक भाग पिसाब दश भाग पानी गरि बिरुवामा प्रयोग गर्न सकिन्छ । आवस्यकता अनुसार पिसाब र पानीको मात्रा घट बढ गराउन सकिन्छ । यदी झोलमा पिसाबको मात्रा बढी भएमा बिरुवा मर्न सक्दछ । तसर्थ पानी र पिसाबको मात्रा बिरुवाको उमेर, अवस्था र प्रकार हेरिकन उपयुक्त मात्रामा मिलाउनु आवश्यक हुन्छ ।

जैविक गोठे मल मै निर्भर हुदै आएको नेपालको कृषि प्रणाली बिगत चाररपाँच दशक अघिदेखि रसायनिक मलको प्रयोग हुन थाल्यो । बिकसित अर्थतन्त्रमा सन् १९३० देखि बढी प्रचलनमा आएको रासायनिक मलले आधा सताब्दी आघि नै कृषि क्रान्ति सम्भब तुल्यायो । धेरै देशलाई खाद्यान्नमा आत्म निर्भर गरायो, तर रासायनिक मल रोगको घर भन्ने निस्कर्षमा युरोप, जापान लगाएतका बिकसित देशहरु अहिले पुगिसकेका छन् । बिकसित मुलुकहरु जैबिकता तिर फर्किदै छन् भने नेपालमा रासायनिक मलको दिशाबिहिन अवस्थामा हाहाकारको गीत गाउन बाध्य छौँ । अझै कति वर्ष यस्तै गीत गाईरहनु पर्ने हो भन्ने अन्योल्ता छ ।