अलैंची अदुवावाली (Zingiberaceae) परिवारमा पर्ने प्रमुख मसलावाली हो। यो दुई प्रकारको हुन्छ: सानो अलैंची (Small cardamom) र ठूलो अलैंची (Large cardamom)। साधारणतया अलैंची भन्ने बित्तिकै ठूलो अलैंची(Large cardamom ) लाई बुझिन्छ । यसको वैज्ञानिक नाम Ammomum sabulatum हो। नेपालमा खेती गरिने अलैंचीको उद्गमस्थल सिक्किमलाई मानिएको छ। ईतिहासलाई हेर्दा पहिलोपटक सिक्किमबाट बिरुवा ल्याई ईलाम जिल्लामा अलैंची खेतीको सुरुवात भएको पाइन्छ।

अलैंची खेती खेर गईरहेको भिरालो जमिन, खोल्सा-खोल्सीमा रोप्न सकिने भएकोले यसलाई खोल्साको सुन अथवा कालो सुन पनि भनेर चिन्ने गरिन्छ। मसलाको रानी (Queen of spices) पनि भनेर चिनिने यसको सुगन्धित बियाबाट cineole नामक उडनशील सुगन्धित र मसलाको गुणस्तरयुक्त तेल प्राप्त गरिन्छ।यसको तेल केक, पेस्टी, मिठाई सुगन्धित बनाउन प्रयोग गरिन्छ। आयुर्वेद र चिकित्सामा घाटी दुखेको, फोक्सोमा अवरोध ,पाचन प्रणाली गढबढि आदिको उपचार गर्नका लागिअलैंचीको प्रयोग गरिन्छ।  विशेषत यो बाली नेपालको पुर्बी पहाडी जिल्लाहरुमा गर्ने गरेको पाईन्छ। करिब ९०% भन्दा बढी खेती पुर्बी पहाडी जिल्लाहरुमा र जसमध्ये ८०% भन्दा बढी खेती पाँचथर, ताप्लेजुङ ,ईलाम र संखुवासभामा गर्ने गरिएको  तथ्यांकहरुले देखाएका छन् ।

हावापानी र माटो :
अलैंची छायाप्रिय  तथा चिसो मन पराउने बाली हो। यसको लागि उपयुुक्त तापक्रम ८-२०°से. हो। ४° से. भन्दा कम तापक्रम भएमा बिरुवाको बड्ने गति कम हुन्छ भने तापक्रम बढी भएमा परागसेचनमा असर हुन गई उत्पादनमा ह्रास आउँदछ। यसको खेती समुद्री सतहबाट ७००-२१०० मि. सम्म सफलाताका साथ गर्न सकिन्छ। यसले प्रशस्त मात्रामा आद्रता मन पराउने भएकोले ९०% भन्दा बढी आद्रता यसको लागि राम्रो मानिन्छ तर पानी जम्ने ठाउँमा जरा कुहिने भएर अलैंची राम्रो फस्टाउन सक्दैन। बार्षिक वर्षा १६००-२५०० मि.मि. हुने ठाउँमा अलैंची खेती उपयुक्त मानिन्छ।

अलैंचीखेती प्राय: सबै प्रकारको माटोमा गर्न सकिएतापनी दोमट- बलौटे माटो राम्रो मानिन्छ। माटोको पि.एच. ४.५ -६.५ र प्रशस्त प्राङ्गगारिक पदार्थ भएको हुनु पर्दछ।

प्रसारण :
सामान्यतया अलैंची प्रसारण २ प्रकारले गर्न सकिन्छ

क. बिउबाट
यसको लागि उमेर पुगेको माउबोटबाट छिप्पेको दाना टिपि बोक्रा छोडाउनु पर्दछ र चिप्लोपना हटाउन बालुवामा रगडेर छाँयामा सुकाई नर्सरीमा रोप्नु पर्दछ। बिउबाट रोप्दा उत्पादन लिन समय बढी लागेपनी रोगहरु लाग्र्ने सम्भावना कम हुन्छ । बिउबाट बिरुवा उत्पादन गर्न असोज – मङ्सिरमा पहिलो नर्सरी गर्नुपर्दछ। रोपेको १८-२० महिनापछी दोस्रो नर्सरीमा सार्नुपर्दछ र ३०-४० से.मि. अग्लो भएपछी स्थायी जमिनमा रोप्न सकिन्छ।

ख. माउबाट गानो छुट्टाएर
स्वस्थ माउबोट छानेर त्यसबाट गानो छुट्टाएर पनि रोप्न सकिन्छ। यसरी छुट्टाएको गानोलाई तुरुन्तै खाडलमा रोप्न सकिने भएकोले रोपेको २-३ बर्षमा नै उत्पादन लिन सकिन्छ । बिउबाट रोपेको बिरुवाको तुलनामा गानोबाट रोपेको बिरुवामा रोग किरा सर्ने सम्भावना बढी हुन्छ।

जातहरु :
डम्बरसाई, रामसाई, चिबेसाई, गोलसाई, साउने आदि अलैंचीका प्रमुख जातहरु हुन् । डम्बरसाई ७००-१२०० मि. उचाईसम्म, रामसाई १५००-२१०० मि. उचाईसम्म, चिबेसाई ७००-१००० मि. उचाईसम्म लगाउन सकिन्छ। १२०० मि. भन्दा माथी नै लगाउन सकिने साउनेको दाना ठूलो हुने र रोग कम लाग्ने भएकोले रामसाई भन्दा कम फलेपनी किसानहरू साउनेप्रती बढी आकर्षित भएको पाईन्छ।

रोप्ने समय :
अलैंची रोप्नुभन्दा १-२ महिना अगाडिनै खाडल खनेर तयारी गर्नुपर्दछ। ६० से.मि. ब्यास भएको र ५० से.मि. गहिरो खाडल ५.५ फिट *५.५ फिट दुरिमा खनेर राम्ररी पाकेको गोबरमल र सतहको माटो मिसाई खाडल पुर्नुपर्दछ। त्यसरी तयार भएको खाडलमा जेठ -असारमा ४-५ से.मि गहिरो गरेर बिरुवा रोप्नुपर्दछ। प्रतिखाडल ३ वटा बिरुवा त्रिकोण आकारमा रोप्दा बिरुवा मरेर खाडल मरेर रित्तो हुने समस्या आउदैन ।

छाँयाको ब्यवस्थापन :
अलैंची बाली सबैभन्दा बढी छाया मन पराउने मसलाबाली हो। सुर्यको किरण सिधै पातमा परेमा पात पहेँलो हुने र पात डड्ने समस्या हुन्छ जसले गर्दा उत्पादनमा गिरावट आउँछ। अलैंचीमा छहारी ब्यवस्थापनका लागि अग्ला र टुप्पोमा झुप्पो भएका रुखहरु उपयुक्त मानिन्छन ।त्यसमाथि पनि नाईट्रोजन स्थिरिकरण गर्ने भएकोले धेरै जसो छहरिको लागि उत्तिस लगाउने गरेको पाईन्छ ।

गोड्मेल :
समय समयमा बगान गोड्मेल गर्नुपर्दछ। बर्षमा २ पटक चैत -बैशाख र साउन- भदौमा गोड्मेल गर्नुपर्दछ। चैत्र – बैशाख महिनामा अलैंचीमा फुल फुल्ने हुँदा रुखबाट झरेको पातले फुललाई असर गर्ने हुनाले हटाईदिनुपर्दछ।

फलको बिकास :
बिउबाट रोपेको बिरुवाले ४-५ बर्ष र गानोबाट रोपेको बिरुवाले २-३ बर्षपछि उत्पादन दिन सुरु गर्दछ। फाल्गुन -चैत्र महिना बिरुवाको कोपिला देखिने समय हो र बैशाख -जेठ महिना फुल फुल्ने समय हो। यो अवस्थामा यदि लामो समयदेखी पानी परेको छैन भने सिचाइ नगर्नु नै उपयुक्त हुन्छ । पानीको बाफले फुलमा असर पर्न गई उत्पादन घट्ने सम्भावना हुन्छ । फुल फुलेको ३-४ महिनामा फल परिपक्व हुन्छ। अलैंचीमा परपराग्सेचन हुने बाली हो। माहुरी, कमिला, पानी , हावा यसका सेचन सहयोगकर्ता हुन।

फल टिप्ने :
फल टिप्ने समय जात र उचाईअनुसार फरक फरक पर्दछ। कम उचाईमा साउन- भदौ, मध्य उचाईमा असोज र बढी उचाईमा कार्तिकमा फल टिप्ने गरिन्छ। अलैंचीको फल रातो र बियाँ खैरोबाट कालोमा परिणत भएपछी टिप्न सकिन्छ। नपाक्दै टिपेको फलमा गेडा नरम, खैरो हुन्छ भने बढी पाकेमा फल झर्ने र सुकाउदा फुट्ने हुन्छ।

थुगाका फेदका फलहरु राम्ररी पाकिसकेपछी पनि टुप्पातिरका फलहरु काचै रहने भएकाले टिपेको ३-४ दिन गुम्साएर राखेमा सबै फलहरु पाक्ने अवसर पाउछन।

नल हान्ने :
अलैंची टिप्नुभन्दा २५-३० दिन अगाडि फल लागिसकेका लाक्राहरु ३०-४० से.मि. माथी काटिदिनुपर्दछ जसले गर्दा फल टिप्न सजिलो हुन्छ। कुनै झ्याङगमा फल नलाग्ने लाक्रा (भदौरे लाक्रा) छन भने हटाईदिनुपर्दछ।

सुकाउने :
ताजा फलमा रहने ८०-८५% पानीलाई उडाई १०-१२% सुरक्षित बिन्दुमा झारी फलको संरक्षण गर्न अलैंचीलाई सुकाउनु पर्दछ। अलैंचीलाई विभिन्न तरिकाले सुकाउन सकिन्छ। यसको गुणस्तर र बजार भाउ यसैमा जाचिने भएकोले यस पक्षलाई गम्भीरतापुर्बक लिनु पर्दछ। अलैंची सुकाउने विभिन्न प्रकारका भट्टिहरु पाईन्छन। कुनै भट्टिमा धुवाँको माध्यमबाट सुकाईन्छ, कुनैमा राप र तापको माध्यमबाट सुकाईन्छ। हाल प्रयोगमा आएका भट्टिहरुमा स्थानिय भट्टि, सुधारिएको स्थानीय भट्टि, बिजुली भट्टी आदि छन।

प्रमुख रोग र किराहरु :
अलैंची बालिमा लाग्ने रोगहरुमा जरा तथा गानो कुहिने रोग, अलैंची डडुवा, छिर्के फुर्के रोगहरु प्रमुख हुन। यी मध्येपनि छिर्के फुर्के रोगले धेरै नै बाली नाश गरेको पाईएको छ। साउने र डम्बरसाई केहीमात्रामा छिर्के फुर्के प्रतिरोधी जातहरु हुन भने गोलसाई जातमा यो रोगले बढी सताएको पाईएको छ।

अलैंचीमा लाग्ने किराहरुमध्ये झुसिल्किरा, लाही, गवारो, थ्रीप्स आदि मुख्य किरा हुन। यिनिहरुमध्ये झुसिलकिरा र लाही हानिकरक हुन्छन। झुसिलकिराका लाभ्रेहरु पातको तल्लो भागमा जम्मा भएर बस्दछन, यिनिहरु खन्चुवा भएको कारण धेरै बालिहरुलाई नोक्सान पुर्याउछन भने लाही किराले झुन्डमा बसेर अलैंचीको पात, डाठ तथा फलको रस चुस्दछन र विभिन्न रोगहरु पनि सार्दछन।

रोकथाम :
रोग र किराहरुको रोकथामको लागि बिउबाट उमारिएको बिरुवा रोप्नु उपयुक्त मानिन्छ तर बिउबाट रोपिएको बिरुवाले पानाबाट रोपिएको बिरुवाभन्दा ढिला उत्पादन दिन सुरु गर्दछ। झ्याङगको गोडमेल गर्दा एकदमै सतर्कता अपनाउनु पर्दछ। सकभर बिरुवामा चोटपटक पुर्याउनु हुदैन। रोगी झ्याङगका अलैंची टिप्न प्रयोग गरिएका अलैंची टिप्ने छुरी र गोडमेल गर्ने औजारहरु राम्ररी सफा गरेर मात्र अर्को झ्याङगमा प्रयोग गर्नुपर्दछ । बिरुवाको झ्याङगको वरिपरि पानी जम्मा हुन दिनु हुदैन। यसका निम्ति निकासको राम्रो ब्यवस्था हुनु पर्दछ।  रोप्नु अगावै बीउ वा गानोलाई ढुशीनाशक औषधिले उपचार गरेमा पनि रोग तथा किराहरु कम गर्न सकिन्छ।