
इलाम। अलैंचीको सिजन शुरु भएकाले इलामका किसानलाई अलैंची टिप्ने र छोडाउने कामको चटारो परेको छ । अहिले मौसम नबिग्रिएको (पानी नपरेको) ले अलैंची टिप्न उपयुक्त भएको किसानको भनाइ छ ।
गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैंची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष उपयुक्त मौसम भएकाले अलैंचीमा फल राम्रो लागेको छ ।
रोग नदेखिएको र अलैंची राम्रो पाकेकाले उत्पादन दोब्बर हुने अनुमान रहेको माइजोगमाईस्थित मलुमझुवाका किसान राम आचार्य बताउँछन् । आचार्यका अनुसार यो वर्ष वैशाखदेखि असारसम्म अलैंचीलाई आवश्यक पर्ने पानी परेकाले उत्पादन बढेको हो । ‘भार्लाङ जातको अलैंची राम्रो फलेको छ’, आचार्यले भने ।
विगतका वर्षमा रोगले शिथिल बनाए पनि यस वर्ष अलैँचीमा रोग देखिएको छैन । ‘टिप्ने र छोडाउने काम एकैचोटी चलेको छ । उत्पादन बढेको छ’, आचार्यले भने । गत वर्ष छ मन (एक मनमा ४० किलो) उत्पादन भएकोमा यस वर्ष १० मन अलैँची उत्पादन हुने उनको अनुमान छ ।
उत्पादन बढे पनि अलैँचीको भाउ नआएकाले किसान निराश छन् । खेती प्रविधिमा सुधार गरेर किसानले अलैँचीको उत्पादन बढाए पनि विगतका वर्षमा भन्दा यस वर्ष भाउ खुम्चिएको छ ।
कोरोनाले समस्यामा पारेकाले अलैंचीको मूल्य प्रतिमन रू. ३० हजार पुग्न सकेको छैन । खेतबारीको अधिकांश भागमा अलैंची खेती नै लगाएकाले बजार मूल्यमा नै बेच्न बाध्य हुनुपरेको माइजोगमाई–१ नयाँबजारका किसान धर्म भट्टराई बताउँछन् । अलैँची खेतीको तालिमपछि आफूले खेतीमा सुधार ल्याए पनि कम मूल्यमा अलैंची तौलिनुपरेको भट्टराईको दुखेसो छ ।
भट्टराईको यस वर्ष मात्रै १५ मन अलैंची उत्पादन हुने अनुमान छ । तर भाउ रू. २० हजारकै अनुपातमा भएकाले आम्दानी धेरै नहुने उनी बताउँछन् । विगतका वर्षमा अलैंची कम उत्पादन हुँदा अलैँचीको भाउ प्रतिमन रू. एक लाखसम्म पुगेको थियो तर अहिले भाउ घटे पनि किसानले अलैंची खेती गर्न छाडेका छैनन् ।
किसानको राम्रो आम्दानी हुने बालीमा पर्ने अलैंचीमा अन्य खेतीको तुलनामा लागत कम पर्छ । त्यसैले वर्षेनी भाउ घटे पनि अलैंचीको उत्पादनमा गिरावट नआउने गरेको रोङ गाउँपालिकाका किसान कुमार मोक्तान बताउँछन् । गएका वर्षमा पाँच मनको हाराहारीमा अलैँची उत्पादन गरेका मोक्तानको यस वर्ष आठ मन उत्पादन हुने अनुमान छ ।
विभिन्न संघसंस्था र स्थानीय सरकारले अलैंची खेती गर्न प्रविधि र तालिम ल्याएपछि किसान अलैंची खेतीमा लागेका अलैंची व्यवसायी संघका केन्द्रीय सचिव मातृका घिमिरेले बताए ।
रासस