गांजा शब्द प्रती नेपाली समाजको अनुभुती र विश्लेषण माथिको चिन्तनलाई नियाल्दा तिता,मिठा र अनौठा सबै किसिमका परिदृश्यहरु प्रतिबिम्बित भएको पाइन्छ । कतिपयले त यसलाई प्रकृति माथिको नश्लभेद भनेर समेत परिभाषित गर्ने गरेका छन् । यश बनस्पति भित्र समाहित अन्तरगुणहरुको द्वन्द्वात्मक परिस्थितिले गर्दा नै यश प्रती स्पष्ट धार र विश्लेषणात्मक दृष्टिकोणको अंकुरण हुन पाएको छैन ।
तथापी ,यश वनस्पतिको सन्दर्भ र महत्त्व हाम्रो समाजका ऐतिहासिक ,सांस्कृतिक ,आर्थिक ,आध्यात्मिक तथा धार्मिक संघटकहरु संग पनि जोडिएको पाइन्छ । हिन्दु धर्मावलम्बीको वेद (अथर्व वेद) देखि बौद्धधर्म ,इसाइ,सिख,ईस्लाम आदि धर्म र तिनका ग्रन्थहरुमा समेत यसको प्रयोग र उपयोग बारे बोध गराउन खोजेको अनुभुत गर्न सकिन्छ । नेपाल राज्यको नामाकरण ‘नेपाल’ गरिनु अघि देखिको समाज र मानव सभ्यता संग नै यश वनस्पतिको सम्बन्ध गांसिदै आएको भन्ने पनि गरिन्छ ।

देश र भेष अनुसार यश बनस्पति विभिन्न नामले प्रचलित भएता पनि अङ्ग्रेजीमा भने यसलाई प्रायः हेम्प (औद्योगिक प्रयोजन) र मेरिवानाझ मनोरञ्जन र औसधिजन्य प्रयोजन दुई नामले बढी चिनिन्छ । अहिलेको हाम्रो नेपाली समाजमा भने गांजालाइ धुवाको बिम्बका रुपमा मात्र परिभाषित गर्ने प्रचलनले गर्दा त्यस पछाडिका अपार सम्भावनाहरु कुण्ठित हुन पुगेका छन् । विगत र वर्तमान नेपाली समाज बीच पनि यसको परिभाषा माथी दुई धुर्बिय मतान्तर रहेको पाउन सकिन्छ । ५० वर्ष अघिसम्म नेपाली समाजको आर्थिक पाटो संग गासिएको र साना तथा मध्यम उद्योगहरु माझ यसलाई कच्चा पदार्थको रुपमा प्रयोग गरिदै आएकोमा आजको यश कालखण्ड सम्म आइपुग्दा यो कसरी भयावह ,डरलाग्दो र अवैधानिक बनस्पतिको रुपमा स्थापित हुन पुग्यो त ,भन्ने विषय प्राज्ञिक जगतमा छुट्टै अनुसन्धानको विषय पनि बन्न सक्दछ । यद्यपि ,यसमाथि प्रतिबन्ध लगाइ गैरकानुनी घोषणा गर्ने शृङ्खला भने नेपालमा मात्र सिमित नभइ प्राय विश्वभर नै रहेको देख्न सकिन्छ । विश्वकै शक्तिशाली राष्ट्र भनिने संयुक्त राज्य अमेरिकाको पनि यश सम्बन्धि आफ्नो छुट्टै विगत छ ।

अमेरिकी प्रसङ्गः
१८ औ शताब्दी तिर बेन्जामिन फ्रेङ्लिनले अमेरिकामा कागज उद्योगको स्थापना गरेका थिय ,जसमा ‘हेम्प’ को पनि प्रयोग गरिन्थ्यो । यश उद्योगको स्थापना पश्चात् नै अमेरिका वेलायत माथी कागज ,किताबहरुमा कम निर्भर रहनु परेको थियो । सन् १८८३ सम्म पनि विश्वभर बन्ने ७५-९० प्रतिशत कागजहरुमा ‘हेम्प’ को प्रयोग गरिन्थ्यो । सन् १९३० को दशक सम्म आउदा पनि यो सबभन्दा बढी प्रयोगमा आउने दोस्रो प्राकृतिक ञफाइवरझ अन्तर्गत रहेको थियो । पछि पेट्रोलियम फाइवर हरु जस्तै नाइलन ,रेअन आदिको आविष्कार पश्चात भने यसको प्रयोगमा कमि आएको पाइन्छ ।

अमेरिकामा सन १९३७ सम्म आइपुग्दा यसबाट सजिलै फाइवर निकाल्न सकिने डेकोर्डिक्याटोर नामक यन्त्रको आविष्कार भइसकेका कारण अब सहज रुपमै औद्योगिक बालीका रुपमा व्यापक प्रयोगमा ल्याउन सकिने भनी यसलाई ‘न्यु विलियन डलर क्रप’ को उपाधी दिन सुरु गरेको पाइन्छ । तर त्यसै वर्ष सरकारी संयन्त्रहरु र मिडिया द्वारा विभिन्न ‘प्रंपग्यान्डा’ हरुको प्रयोग गरि उक्त वर्ष यसमाथि प्रतिबन्ध पनि लगाइयो भनेर अमेरिकी लेखक ज्याक हेरर ले आफ्नो पुस्तक ‘हेम्प एण्ड मेरिवाना कन्स्पिरेसी’ मा उल्लेख गरेका छन् ।

दोस्रो विश्वयुद्धका कारण अमेरिकामा जापान लगायत अन्य मुलुकहरू बाट आयात गरिने कच्चापदार्थ हरु माथी रोक लाग्न थालेपछि त्यहाँका उद्योगहरुमा मुख्यत ‘फाइवर’ को अभाव सिर्जना हुन थाल्यो । त्यसपश्चात अमेरिकी कृषि विभागले सन् १९४२ मा ‘हेम्प फर भिक्ट्री’ नामक वृत्तचित्र सार्वजनिक गरि किसानहरुलाइ यसको खेती तर्फ प्रोत्साहन गर्न खोजेको पनि पाइन्छ । तथापि ,प्रतिबन्ध भने कायम नै राखिएको थियो ।

यसै क्रममा सन् १९६४ मा डाक्टर राफेल मेकोलम ले यश बनस्पतिमा टि.एच.सि. डेल्टा नामक कम्पाउन्ड रहेको तथ्य बाहिर ल्याए । त्यस पछीका अनुसन्धानहरुमा यसमा ४०० बढी “कम्पाउन्ड’ हरु रहेको र ती मध्य ६० जतिमा ‘मेडिकल प्रपर्टी’ समेत रहेको तथ्य विभिन्न खोज हरु द्वारा पत्ता लागेको थियो । जसकारण ,उक्त समयमा एकतर्फ विभिन्न बहुराष्ट्रिय फार्मा कम्पनीहरु माझ असहज परिस्थितिको सिर्जना हुन गएको र अर्को तर्फ सरकारी पक्षद्वारा नै त्यस्ता तथ्यहरु लाई लुकाउने ,मोड्ने र नकारात्मक सन्देश मात्र बाहिरी रुपमा प्रवाह गर्ने गरिएको घटना पनि ज्याक हेरर ले आफ्नो पुस्तकमा उल्लेख गरेका छन ।

नेपाली कालखण्डः
हिजोका नेपाली समाजहरुमा शासक वर्ग,राजा,महाराजाहरु बाहेक अधिकांश आम नागरिकहरुले उपभोग गर्ने लत्ताकपडा ,जुत्ता चप्पल इत्यादि प्राय सामाग्रीहरु केरा ,सिस्नो ,गांजा ,जुट आदि बनस्पतिहरुको प्रयोग मार्फत नेपाल भित्र नै निर्माण गर्ने गरिन्थ्यो । जसले नेपाली समाज र गांजा बीच निकै पुरानो सम्बन्ध रहेको कुराको पनि झल्को दिन्छ ।

सन् १८४६ देखि प्रारम्भ भएको १०४ वर्षे राणाहरुको सामन्तवादी सत्ता सन् १९५० बाट नेपालमा अन्त्य भएता पनि त्यसका केही अवशेषहरु भने लामो समयसम्म पनि नेपाली समाजमा जिवन्त रहेको पाइन्छ । त्यस्ता ‘ह्यङओभर’ हरु मध्य जमिन सम्बन्धि विकराल रुप लिएको विर्ता प्रणाली पनि एक हो ,जसकारण नेपाली समाजमा मालिक सेवकको सम्बन्धले झनै ठूलो रुप लिन पुग्यो ।

राणाहरुको शासनकालको अन्त्यसम्म हेर्दा नेपालीको कुल खेतीयोग्य जमिनको एक तिहाई भु-भाग विर्ता प्रणाली अन्तर्गत रहेको र त्यस मध्यको तीन चौथाई भु-भाग राणा परिवार भित्र मात्र सिमित रहेको कुरा त्यस बेलाका तथ्यांकहरुले सचित्र रुपमा दर्शाउछन । यश किसिमको सामन्तवादी सत्ताले ठूलो जनसंख्याको हिस्सा लाई खेतीयोग्य जमिनको उपभोग बाट बन्चित गरेको ,र त्यसकारणले गर्दा नै आम नागरिकहरु जीविको पार्जनका निम्ति कम खेती हुने जमिन ,जङ्गल ,भिर पाखा हरुमा उब्जने बनस्पतिहरुमा (सिस्नो,गांजा आदि) बढी आश्रीत रहन बाध्य भएको कुरा स्पष्ट रुपमा बुझ्न सकिन्छ । त्यसैले त्यति बेलाको समाजले औसधि र पौष्टिक आहारको रुपमा होस वा आर्थिक दृष्टिकोणले होस ,गांजा लाइ उच्च वनस्पतिको रुपमा लिएको कुरालाई हामिले नकार्न पनि मिल्दैन । सन् १९६४ को भुमी सुधार नीतिले पनि चलिआएको व्यवस्थालाई तात्विक रुपमा परिवर्तन गर्न नसकेका कारण त्यसपछिका सामाजिक व्यवस्था पनि उहीँ पुरानो संगै एकरुप हुन पुगे ।

सन १९६० को दशक एता नेपालमा ‘हिप्पी’ संस्कृतिलाई अवलम्बन गर्ने पश्चिमा मुलका जमातहरुको बाक्लो उपस्थिती संगै गांजा जन्य वस्तुहरुको मागको बढ्दो क्रम देखेर नै तत्कालीन राजा महेन्द्रले सन् १९६१ बाट गांजा बेचबिखनका निम्ति व्यापारी ,किसानहरुलाइ लाइसेन्स अनिवार्य गरि त्यसमाथि कर व्यवस्थाको पनि थालनी गरे । त्यसै दशक यता नेपालमा गांजा र ‘हिप्पी’ संस्कृतिको विषयलाई लिएर पश्चिमा मुलुकहरूले (मुख्यत अमेरिका ) गांजा प्रतिबन्ध तर्फ इच्छा वा दबाब सिर्जना गरेको भन्ने एउटा चर्चा पनि बाहिरी रुपमा देखा पर्न आउछन् । तर त्यस कालखण्डमा समाजका अन्य पक्ष र परिस्थितिहरु लाई पनि सुक्ष्म ढंगले नियाल्दै जाने हो भने कारण त्यति मात्र हो भनेर दाबी गर्न पनि सकिदैन । अमेरिकामा सन् १९३७ को जस्तो, नेपालमा पनि त्यस कालखण्ड तिर विभिन्न अग्रम बक्रम बहुराष्ट्रिय कम्पनीहरुको चासो,चलखेल बढ्नु र त्यसलाइ त्यसबेलाका सरकारहरुले कुन रुपमा ग्रहण गर्यो भन्ने सम्बन्धले पनि प्रतिबन्ध प्रतिको निर्णयमा पक्कै केही प्रभाव पारेको चाहिँ हुन सक्दछ ।

त्यस कालखण्ड यता पनि विभिन्न समयहरुमा नवउदारवाद र विश्वबजारिकरणको नाममा दलाल पुजीवादी प्रवृत्ति सहित नेपाल प्रवेश गरेका बहुराष्ट्रिय कम्पनीहरुले नेपालका विभिन्न उद्योगहरु जस्तै हेटौंडा कपडा उद्योग ,भृकुटी कागज उद्योग ,जनकपुर चुरोट कारखाना ,चिया उद्योग ,रवर उद्योग लगाएत अन्य थुप्रै उद्योगधन्दा हरुलाइ विस्थापित गर्दै पतनको संघार सम्म पनि पुर्याएको कुरा जगजाहेर नै छ । कारण जुनसुकै भएता पनि ,सन् १९७३ जुलाई १६ मा नेपालमा गांजा बेचबिखन माथी प्रतिबन्ध लगाइ सम्पुर्ण लाइसेन्सहरु पनि खारेज गरियो । जसकारण ,त्यस बेला सरकारलाइ झन्डै एक लाख डलर महसुल घाटा व्यहोर्नु परेको थियो । क्रमश , सन् १९७६ मा लागुऔसध सम्बन्धि नीति ल्याइ गांजा माथी नेपालले पुर्ण रुपमा प्रतिबन्धको घोषणा र्गयो । यश कदम प्रती असन्तुष्ट मत राख्ने हरुले ,विदेशी चुरोट बेचबिखनका निम्ति गांजा माथी प्रतिबन्ध लगाइयो भनेर त्यस समयमा भन्ने गरेको पनि देखिन्छ ।

संयोगवस नि हुन सक्दछ , सन् १९८६ देखि नै नेपालमा बहुराष्ट्रिय कम्पनी सुर्य नेपालले चुरोट लगाएत अन्य सामाग्रीहरुको बिक्रीवितरण सुचारु गर्यो । यो कम्पनी मुख्यतः वेलायती र अमेरिकी लगानीमा आधारित कम्पनी हो । आज पनि प्रती वर्ष लाखौं डलर बराबरको नेपाली मुद्रा यसै कम्पनी मार्फत विदेशिको खल्तीसम्म पुग्ने गरेको छ ।

यसरी मानव सभ्यता संग जोडिदै आएको बनस्पतिको इतिहास पुर्ण बैज्ञानिक खोज अनुसन्धान बिना नै प्रतिबन्ध तर्फ सरकार स्वयम अघि सरेको देखिन्छ । प्रतिबन्धले यसको सेवन र बेचबिखनमा के कति कमि ल्यायो भन्ने एउटा पाटो होला तर अर्को तर्फ निम्न आए भएका वर्गहरुको गाँस,बाँस,कपास सम्मको स्रोत बनेको यश बनस्पति माथीको प्रतिबन्धले समाजमा कति क्षति र असर पुर्यायो त भन्ने पनि प्राज्ञिक जगतमा बहसको विषय बन्न जरुरी छ ।

आर्थिक महत्त्वः
साधारण रुपले व्याख्या गर्दा , यश बनस्पतिमा मुख्यतः दुई किसिमका कम्पाउन्डहरु पाइन्छन् ( टि.एच.सि.(नशाजन्य गुण भएको) र सि.वि.डि.(औसधिजन्य गुण भएको) । औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने ‘हेम्पमा’ टि.एच.सि. एकदमै न्यून ( ०.०३ प्रतिशत ) पाइन्छ भने सि.वि.डि.को मात्रा बढी हुन्छ , ‘मेरिवाना’मा भने ठिक यसको विपरीत सि.वि.डि. कम र टि.एच.सि. बढी (५-३५ प्रतिशत ) मात्रामा पाइन्छ ।

औद्योगिक दृष्टिकोणमा मुख्यतः विरुवाका तीन भाग ( दाना ,’फाइवर’ र ‘पल्प’ (फाइवर निकालेर बाकी रहेको भाग) बढी उपयोगी देखिन्छन् । प्राचीनकाल देखी नै यी भागहरु विभिन्न रुपले प्रयोग गरिदै आएकोमा औद्यगिक विकास पश्चात् त यसको महत्त्व झनै बढेको छ ।

१. हेम्प सिड
नेपाली समाजमा प्राय दानालाइ अचार बनाएर प्रयोगमा ल्याउने प्रचलन रहि आएको छ । कुखुरा ,चराचुरुङ्गी हरुलाइ आहाराको रुपमा पनि खुवाइने यसका दाना ,मानिसको लागि पुर्ण पौष्टिक आहारको स्रोतका रुपमा लिने गरिन्छ । यसमा गुणस्तरीय र उच्च मात्रामा प्रोटिन पाइने भएकाले यसलाई ‘भेजिटेरियन’ हरुको प्रोटिन पाउडरको रुपमा पनि प्रयोग गर्न सकिन्छ । प्रती १०० ग्राम, यसमा ३१.५६ ग्राम प्रोटिन हुन्छ ,जुन बदाममा (२५.८ ग्राम ) पाइने भन्दा पनि अधिक हो । हाम्रो शरीरलाई आवश्यक प्राय सम्पुर्ण ‘अमिनो एसिड’ , ‘फ्याट्टी एसिड’ हरु , ओमेगा -३ र ओमेगा -६ को सन्तुलित अनुपात (१ :३ ) पाइने हुदा यसको लोकप्रियता झनै बढेको छ । यसबाहेक यसको दानामा भिटामिन ए,वि,सि,इ र विभिन्न मिनरलहरु (प्रमुख : पोटासियम ,फस्फोरस,क्याल्सियम ,म्याग्नेसियम ) प्रशस्त पाइन्छन् ।

दानालाइ प्रसोधन गरि त्यसबाट तेल निकालिन्छ भने त्यसको ‘बाइप्रोडक्ट’ (‘सिडकेक’) मा पनि विभिन्न पौष्टिक तत्व पाइने हुदा जनावरहरुलाइ खुवाउने गरिन्छ । कोलेस्ट्रोल रहित पोषणयुक्त तेल उत्पादन हुने हुदा यसलाई खानेकुरा पकाउनका निम्ति प्रयोग गर्न सकिन्छ । तेलमा सि.वि.डि. को मात्रा बढी हुने हुदा यसलाई विभिन्न ‘मेडिकल’ प्रयोगहरुमा समेत समावेश गर्न सकिने कुरा विभिन्न तथ्यहरु द्वारा पनि प्रमाणित भइसकेको छ । यश बाहेक तेलको प्रयोग ‘वायोफ्युल’ को रुपमा ,पेन्टहरुमा ,विभिन्न कस्मेटिक कृम ,साबुन आदिहरुमा पनि गर्न सकिन्छ । सन् १८५९ मा पेट्रोलियम पदार्थको खोज हुनु अघिसम्म बत्ती बाल्नका निम्ति यसको तेल विश्वभर नै सर्वाधिक प्रयोग गर्ने गरिन्थ्यो ।

अनेकौं औषधिजन्य गुण र पौष्टिक तत्वहरुको स्रोत भएको तेल ,यदि प्रसोधन गरि नेपाली बजार समक्ष पुर्याउने वातावरणको सिर्जना हुने हो भने ठूलो नेपाली अर्थतन्त्र विदेशीको खल्तिमा जानबाट जोगाउन सकिने सम्भावना देखिन्छ । नेपालले प्रतिवर्ष झन्डै रु। २२ अर्ब (२०७५/७६) बराबरको सुर्यमुखी ,सोयाविन र तोरिको मात्र दाना तथा तेल आयात गर्ने गरेको छ ।

२.फाइवर र पल्प :
नेपाली समाजका निम्ति यसको ‘फाइवर’ बाट कपडा ,डोरि ,झोला ,जुत्ता चप्पल आदि विभिन्न सामाग्रीहरु उत्पादन र त्यसको उपयोग गर्नु त्यति नौलो विषय भने होईन । कपास भन्दा बढी बलियो ,न्यानो र टिकाउ पनि हुने हुदा विगतको नेपाली समाजमा यो ज्यादै लोकप्रिय रहेको थियो ।

कपास खेती भन्दा यसको उत्पादन समय छोटो हुने ,कम उब्जनी हुने जमिनमा पनि सजिलै खेती गर्न सकिने ,पानी र मल त्यति आवश्यक नपर्ने र रोग-किराहरुले पनि कम क्षति पुर्याउने हुदा भुतकालिन नेपालमा कपास भन्दा बढी यसको नै प्रयोग गरिएको पाइन्छ । बालीचक्र अनुसार प्रमुख अन्नबाली पछिको खाली समयमा खेती गर्न मिल्ने र माटोको उर्वरा शक्तिलाई पनि बचाइ राख्ने हुदा किसानहरु माझ पनि यसको खेती गर्ने प्रचलन रहेको बुझ्न सकिन्छ । कपास खेतीमा जस्तो उच्च रासायनिक मल र विषादीहरुको प्रयोग गर्नु नपर्ने भएकाले यो दिगो र वातावरणमैत्री पनि रहेको छ ।

गाजा प्रतिबन्ध पश्चात् नेपालका कपडा उद्योगहरुमा कच्चा पदार्थको अभाव देखिन थाल्यो । सिमित जिल्लाहरुमा मात्र गरिएको कपास खेतिले त्यस्ता उद्योगहरुको माग अनुसारको आपूर्ति गर्न नसक्दा ती उद्योगहरु क्रमश बन्द हुन पुगे । जसकारण कपडा माथिको हाम्रो परनिर्भरता झनै बढ्न पुग्यो । हाल नेपालमा प्रतिवर्ष झन्डै रु। ४८ अर्ब (२०७५/७६)बराबरको कपडा ,धागो तथा पोशाकहरु आयात गर्ने गरिन्छ ।
यसको ‘पल्प’ मा झन्डै ७७ प्रतिशत ‘सेलुलोज’ पाइन्छ ,जसलाई ‘वायोप्लास्टिक’ बनाउन पनि प्रयोग गर्न सकिन्छ । ‘फाइवर’ र ‘पल्प’ को मिश्रणमा पानी र चुन मिसाइ ,ताप र चापको विविध प्रक्रिया मार्फत ‘ब्लक’हरु बनाउन सकिन्छ ,जसलाई ‘हेमकृट’ पनि भनिन्छ । यी ‘ब्लक’हरु घर बनाउदा निर्माण सामाग्रीका रुपमा प्रयोग गर्ने गरिन्छ । यसरी बनेका घरहरू ,नमुना स्वरुप नेपालमा पनि केही भेटिएका छन् ।

यी बाहेक अर्को सबैभन्दा बढि उपयोगी उत्पादन भनेको कागज हो । कागज उत्पादन प्रक्रियामा रुखहरुको विकल्प स्वरुप ‘हेम्प’ को प्रयोग आर्थिक र वातावरणीय दुबै दृष्टिकोणले बढी लाभदायक देखिन्छ । ‘हेम्प पेपर’ अझ तुलनात्मक रुपमा ज्यादा बलियो र टिकाउ पनि रहेको पाइएको छ ।

अमेरिकी कृषि विभागले सन् १९१६ अक्टोबर १४ मा जारी गरेको ‘बुलेटिन न. ४०४’ मा पनि उल्लेख गरिएको छ कि, ४.१ एकड जमिनमा रहेका रुखहरु बाट उत्पादन हुने कागजको कच्चापदार्थ ,१ एकड ञहेम्पझ खेती बाटै लिन सकिन्छ ।
जसले गर्दा कम क्षेत्रफल बाट नै बढी कच्चापदार्थ उत्पादन गर्न सकिने र वनजङ्गलहरुको पनि संरक्षण हुने देखिन्छ ।
नेपालको अधिकांस कागजको माग भारतबाट पुर्ती हुने गरेको छ । तर त्यसका लागि आवश्यक कच्चापदार्थको केही भाग भने हाम्रा तराईका जङ्गलहरु बाट पारी जाने गर्दछ भनेर पनि आमजनस्तरमा भन्ने गरेको पाइन्छ । कापी ,किताबहरु बाहेक नेपालमा प्रतिवर्ष झन्डै रु. ९ अर्ब (२०७५/७६) बराबरको कागज मात्र आयात गर्ने गरिन्छ ।

उपरान्त गमनद्वार ?

अमेरिकामा सन् १९३७ मा जब गांजा माथी प्रतिबन्ध लागाइयो ,त्यतिबेला ,त्यहाका पत्रपत्रिका अनुसार , अन्दाजी ६०,००० जति मानिसहरुले यसको सेवन गर्ने गरेको पाइएको थियो । सन् १९७७ मा उक्त संख्या करोड नाघिसकेको पाइन्छ । त्यस्तै ५० वर्ष पछी सन् १९८७ मा हेर्दा प्रती ३ अमेरिकी मध्य १ ब्यक्तिले कम्तीमा एकपटक भए पनि यसको सेवन गरेको पाइएको थियो । यी तथ्यांकहरुको विश्लेषणबाट एउटा निष्कर्ष के पनि लिन सकिन्छ भने समाजमा यसको दुरुपयोग रोक्नका निम्ति प्रतिबन्ध मात्र प्रभावकारी कदम निश्चय पनि होइन ।

नेपालमा पनि झन्डै ५० वर्ष अघि देखि लगाइएको प्रतिबन्ध आज यहाँसम्म आइपुग्दा आफ्नो लक्ष्यअनुरुप कति सफल भयो त ? शासक तर्फका लक्ष्य पूरा भए या जनताका ? दुरुपयोग हुन्छ कि भन्ने प्रश्नका निम्ति त ठिकै देखिएला तर औद्योगिक कच्चापदार्थको रुपमा यश माथिको रोक आजको विश्व परिवेशमा कति सान्दर्भिक ? ग्रामीण समुदायको अर्थतन्त्रमा यसले परेको असरको लेखाजोखा कति ? के र कति बैज्ञानिक तथ्य र अनुसन्धानमा टेकि यसमाथि अविरल प्रतिबन्ध ?

अघिल्लो पुस्ताले यसतर्फ चासो मात्र देखाएता पनि ,पछिल्लो पुस्ताले भने पक्कै पनि यी र यस्तै प्रश्नहरुको जवाफ समाजवाद उन्मुख संविधान भित्र खोज्ने चेष्टा गरिछाड्ने छ ।

एकतर्फको प्रतिबन्धित पाटोमा मात्र केन्द्रित रहदा अर्को तर्फको आर्थिक र औद्योगिक पाटो पछाडि नै छुटेको नेपाल र नेपालीले पत्तै पाएन । पछिल्लो समय संसदीय थलो भित्र नै यश सम्बन्धि प्रश्न उठ्न थालिसकेपछी भने यश बारेको बहस छेडिन थालेको छ । सन् २०२० जनवरी २७ मा ,बिरोध खतिवडा लगायत अन्य ४४ सांसदहरू द्वारा ञगांजा खेती (व्यवस्थापन ) ऐन,२०७६झ को दर्ता प्रक्रिया संसदमा अघि बढाउनु लाई पनि एक पहल कदमका रुपमा लिन सकिन्छ ।

सम्भवत ,देशले लामो समयसम्म आन्तरिक गृहयुद्ध र विभिन्न राजनैतिक मुद्दाहरू माथी नै समय खर्ची रहेका कारण पनि यस्ता सामाजिक मुद्दाहरुले स्थान पाउन नसकेको हुन सक्दछ । परन्तु अहिलेको यश समाजवादी समृद्धि र आर्थिक तथा औद्योगिक विकास तर्फको युगमा यस्ता मुद्दाहरु लाई मुखावृती गर्नु अपरिहार्य बनेको छ । विश्वविद्यालय तथा विभिन्न प्राज्ञिक तह देखि नै यस्ता नीति तथा ऐनहरुलाइ समय सापेक्ष ढंगले परिमार्जन गर्नका निम्ति बैज्ञानिक तथ्यहरुमा आधारित रहि स्वतन्त्र र स्वच्छ बहसको सिर्जना गर्नुपर्ने देखिन्छ । यश प्राकृतिक कच्चापदार्थ लाई विगतबाट वर्तमान तर्फ फर्काएर समयमै भविष्य तर्फको पुनर्विचार गर्ने कि ?

लेखक : सुशील पोख्रेल

नोट : यसमा प्रयोग भएका सम्पूर्ण जानकारी लेखक सुशील पोख्रेलमा निहित छ ।