
नेपाल एक भुपरिवेष्ठित तथा कृषी प्रधान देश हो। यहाँको करिब ८६ प्रतिशत मानिसहरु ग्रामीण क्षेत्रमा बस्दछन् भने ६५ प्रतिशत मानिसहरु कृषी पेशामा आश्रित छन् । नेपालको कुल जमिन मध्ये धेरै भूभागहरु ग्रामीण क्षेत्रले ढाकेको छ त्यसैले ग्रामीण क्षेत्रमा केही हदसम्म कृषिमा परम्परागत तरिकाले प्रश्रय पाएको छ। करिब केही दशक अगाडि प्राय सबै कृषकहरुले परम्परागत कुषि प्रणाली तथा प्राचीन ज्ञानबाट खेती गरिरहेका थिए। कृषकहरुले खेति गर्ने तरिका , बीउ उत्पादन, बाली संरक्षण तथा त्यसको भण्डारण गर्ने तरिका पनि सबै परम्परागत नै थियो।समयक्रम अनुसार ती परम्परागत ज्ञानहरु पनि परिमार्जित र परिवर्तित हुँदै गइरहेका छन्।नेपालमा हालसम्म उपयोग गरिदै आएका केही परम्परागत कृषि प्रणालीका अभ्यासहरु निम्नानुसार छन्।
१. बीउ उत्पादन तथा बाली लगाउँदा प्रयोग गरिने केही परम्परागत ज्ञानहरु बाली परिवर्तन ( crop rotation) : एकवर्ष लगाएको बाली त्यही ठाउँमा अर्को वर्ष नलगाउने प्रचलन कायम नै छ । यसबाट बालीनाली राम्रो हुने , राेग तथा किरा कम लाग्नुका साथै उत्पादन बढी हुने गर्दछ। जस्तै एकपटक केराखेती गरेकोमा अर्कोपटक उखु वा धान लगाएको खण्डमा पछि केराखेती गर्दा पानामा विल्ट,( Panama wilt) केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।
२. मिश्रित खेती (Mixed cropping): मिश्रित खेती गर्दा जग्गाजमिनको अधिकतम उपयोग गरी धेरै फाइदा लिन सकिन्छ । विभिन्न राेग तथा किराहरूको प्रकोपबाट पनि बच्न सकिन्छ। जस्तै: मकैबालीमा वोडी ,फर्सी रोप्ने गरिन्छ।
३. हिँउदे जोताई(summer ploughing): हिउँद बेलामा बाँझो जग्गा जमिन जोतेर राख्ने चलन छ। त्यसो गर्नाले हिउँदको चर्को घामबाट धेरै हानिकारक किराहरु को नियन्त्रण गर्न सकिन्छ।
४. पानी तलाउने( Flooding):केही समयको लागि खेती गर्ने ठाउँमा पानी तलाउने गर्नाले धेरै प्रकारका किराहरू नष्ट हुने का साथै झार पातहरूको पनि नियन्त्रण हुने गर्दछ।
५. छापो हाल्ने ( Mulching ):बोट विरुवालाई छापो हालेमा सूर्यको किरणले जमिनको चिस्यान उड्न नदिने र माटोको उर्वरा शक्ति बढाउनुका साथै रोग किराहरु बाट समेत बचाउने गर्दछ। धानको बीउ राख्ने क्रममा बिउलाई सुनपानी छर्केर वा छरेको खण्डमा धान सुनजस्तो फल्ने तथा छिटो उम्रने गर्दछ भन्ने भनाइ छ। कुनैपनि अन्नबालीको बीउ छनोट गर्दा राम्रो फलेको ठाउँबाट र धेरै नुगेको बोटहरू बाट लिने गरेको पाइन्छ । यी बिउमा मा राम्रो फल दिने तथा रोगकिरा सँग जुध्ने शक्ति रहेको छ। अलैचीबारीमा उत्तिस, चियाबारीमा शिरिस रोप्नाले उक्त बालीहरुलाई सितलता प्रदान गर्नुका साथै माटोको उर्वराशक्ति बढ्ने गरेको छ।
बाली संरक्षणमा पर्योग भएका केही परम्परागत ज्ञानहरु :
कुनैपनि बालीनालीको बीचमा सयपत्रि फूल, तुलसी तथा वावरी रोपेको खण्डमा किराहरू तथा कुनैपनि प्रकारको रोग लाग्दैन। धानको बीउमा पाति, निमको पात, बोझो तथा धोक्रे फूलको झोल बनाए त्यस बीउमा छर्केको खण्डमा सम्पूर्ण रोगहरु बाट बचाउन सकिन्छ। दुम्सीले मकै खायो भने बोका बाख्रा बारीमा छोड्ने चलन छ जसबाट बाख्राको जुतो तथा पिसाबको गन्धले दुम्सी कहिल्यै पनि आउँदैन। बालीनाली लाई बन्यजन्तु बाट बचाउन सिउँडी काँडा को बार बनाई लगाउने चलन छ र चराचुरुंगी बाट बच्नका लागि बुखेचा बनाउने चलन पनि छ। गाईको गहुँत ,खरानी पनि छर्की बालीनाली तथा फलफूलको सम्पूर्ण रोग तथा किराहरु को नियन्त्रण हुने प्रचलन हालसम्म पनि कायम छ। धानखेतीमा राते रोग लाग्यो भने रुखकटहरको बोक्रा पानीको मुहानमा राख्ने चलन छ। पानी परेको समयमा अदुवा गोडीदैन किनकि माटो खाँदिइने तथा कम फल्ने गरेको माछा धोएको पानी काँक्रोको बोटमा हालेको खण्डमा किराहरूको नियन्त्रण हुने तथा बढी उत्पादन दिने गरेको छ।
बाली भण्डारणमा प्रयोग भएका केही परम्परागत ज्ञानहरु :
मकैलाई राम्ररी घाममा सुकाएको त्यसलाई कुन्यु लगाए जस्तो पारेर खरानी एक पत्र अर्को पत्र मकैको घोगा राख्दै गर्दा मुसा बाट बचाउन सकिन्छ। दलन बालीको भण्डारण गर्दा खानेतेल मोलेर राखेको खण्डमा कुनै पनि प्रकारको किराहरू लाग्दैन। भकारीलाई हरियो गोबरले लिपेर र प्लाष्टिक बेरेर कुनैपनि प्रकारका खाद्यपदार्थ भण्डारण गरेमा मुसाको प्रकोपबाट बचाउन सकिन्छ तथा निमपती प्रयोग गरेमा पनि किराहरु लाग्दैन। कुनै पनि सुख्खा विउको सुरक्षित भण्डारका लागि माटोको भाँडामा खरानी सँग मोलेर त्यसलाई हावा समेत छिर्न नसक्ने गरी बन्द गरेको खण्डमा कुनै पनि प्रकारका किराहरु लाग्दैन। हरियो सागसब्जी, बन्दा,गोपी, मुला,बाँसको तामा अन्य सागसब्जी मसिनो पारी काटेर घाममा सुकाएर सुख्खा बनाइराख्ने अचार गुन्द्रुक तथा सिन्कीहरु समेत बनाई राख्ने प्रचलन हालसम्म पनि कायम रहेको छ।
फाइदाहरु:
यस प्रकारका परम्परागत ज्ञानहरु धार्मिक आत्मिक तथा प्राकृतिक चेतनाबाट प्रतिपादित भएका छन् र तिनीहरूले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्दछन।यस्ता ज्ञानले वातावरण, जैविक विविधता तथा पूरै प्रकृतिको रक्षा गर्नुका साथै सम्पूर्ण जीवित प्राणीको समेत दीर्घ जीवनको पथप्रदर्शन गर्दछ ।यी विधिहरु अपनाउन सजिलो, प्रकृतिप्रेमी, कम खर्चिलो एवं स्वास्थ्यकर पनि छ।परम्परागत विधि अपनाएर उत्पादित कृषी वस्तु तथा बीउहरु भण्डारण गर्दा पनि सजिलो, किरा तथा रोगहरूको पनि कम लागेको र लामो समयसम्म भण्डारण गर्न सकिने पनि पाएको छ।
लेखक : कमल काफ्ले