बन्दागोभी भन्ने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने पनि बेर लगाउँदैनन् । तर बन्दा गोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । बन्दागोभीका लाभ यस्ता यस्ता छन् ।

बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको रोकथाममा सहयोग गर्छ । बन्दामा डिनडली मिथेन, सिनिग्रिन, ल्युपेल, सल्फोरेन, इन्डोल थ्री कार्बिनल जस्ता तत्व हुन्छन् । यिनीहरुले क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् । बन्दागोभीको नियमित सेवनले खासगरी पेटको अल्सर तथा क्यान्सरको जोखिम कम गर्छ ।

बन्दाको नियमित सेवनले सरीरमा रोग प्रतिरोधी क्षमताको विकाश गर्छ । बन्दामा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । जिउमा गाँठागुठी देखिने, जोर्नी तथा अन्य भाग दुख्ने र सुन्निने जस्ता समस्याबाट पीडित हुनुहुन्छ रु त्यसोभए बन्दागोभी नियमित खाने गर्नुस् ।

विज्ञहरुका अनुसार बन्दाको नियमित भोजनले आँखाका विभिन्न खाले समस्याका साथै मोतियाविन्दु तथा रतन्धोको जोखिम पनि कम हुन्छ । बन्दाको नियमित सेवनले अल्जाइमरको जोखिम पनि कम हुन्छ । बन्दामा पाइने भिटामिन के का कारण अल्जाइमरको जोखिम कम हुने विज्ञहरु बताउँछन् ।

वजन घटाउन वा नियन्त्रण गर्न चाहनेहरुका लागि पनि बन्दा लाभदायी हुन्छ । बन्दाको सलाद, अचार वा तरकारी नियमित खाने गर्नाले अनुहारको छाला चम्किलो बन्दछ । बन्दागोभीमा ल्याक्टिक एसिड पर्याप्त मात्रामा पाइन्छ । यसका कारण मांशपेशीको दुखाइ कम गर्नुका साथै विभिन्न खाले चोट छिटो निको हुनका लागि समेत सहयोग गर्छ । कब्जियतको समस्या छ रु त्यसो भए नियमित रुपमा बन्दागोभी खानुस् ।

परम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली बन्दा केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न थालिएको छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा बन्दा खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमा अर्थात असार देखि कात्तिकसम्म उत्पादन गरिने वालीलाई वैमौसमी वन्दा खेती भनिन्छ भने कातिक पछि जेठसम्म उत्पादन हुने वन्दा मौसमि बन्दा हो ।

वीउदर: १ रोपनी जग्गाको लागि प्राईड अफ ईन्डिया र गोल्डन एकर जातको लागि २० देखि ३० ग्राम र हाइब्रीड जातको लागि १० ग्राम वीउको आवश्यकता पर्छ ।

लगाउने समय :
मध्ये पहाडमा बेमौसमी बन्दा उत्पादन गर्न चैत देखि असार सम्म बेर्ना राख्नुपर्छ । र २०–२५ दिनको विरुवा सार्नु पर्दछ । मौसमि बन्दाको लागि भने साउन पछि बैसाखसम्म बेर्ना राखिन्छ ।

नर्सरी व्यवस्थापन :
पारिलो वा विहान देखि बेलुकासम्म घाम लाग्ने, पानी नजम्ने, सिँचाइ र निकासको राम्रो व्यवस्था भएका ठाउ छान्ने । अलि अलि वालुवा मिसिएको, खुकुलो दोमट माटो भएको, प्रशस्त प्राङ्गारिक पदार्थ भएको रुख, कान्ला, घर, गोठ आदि केहीको पनि छाँया नपर्ने ठाउँ नर्सरीकोलागि उपयूक्त हुन्छ ।

जग्गाको तयारी :
ठिक्क चाहिने चिस्यानको व्यवस्था गर्न वर्षायाममा बनाईने ब्याड कम्तिमा १५-२० से।मी उच्चो हुनु पर्छ । ब्याडको वरीपरी कुलेसो काटेर पानी तर्काउने व्यवस्था गर्नुपर्छ । ब्याडको चौडाइ १ मिटर जति र लम्बाई आवश्यकता अनुसार हुनुपर्छ । राम्रोसँग खनजोत गरी झारपात, ढुंगाका हटाई डल्ला फोरेर माटोलाई बुर्बुराउँदो बनाउनुपर्छ ।

मलखाद व्यवस्थापन :
१ वर्गमिटर ब्याडलाई ५ किलो गोठेमल, ५ ग्राम युरिया, ५ ग्राम डि.ए.पि, ५ ग्राम पोटासका दरले हाली माटोमा राम्ररी मिलाउनुपर्छ । नोटः– मलिलो माटोमा गोठेमल ८–१० किलो र खरानी ४,५ मुठ्ठी प्रति वर्गमीटर राख्न सके रासायनिक मलको आवश्यक्ता पर्दैन ।

बीउ छर्ने तरीका :
८-१० से.मी. (५—६ अँगुल) को फरकमा २ से.मी. (१ अँगुल) गहिरो धर्सा बनाउनु पर्छ । हरेक धर्सामा ४ से.मी. (२–३ अँगुल) को फरकमा बीउ खसाल्नुपर्छ । त्यस धर्सामा बालुवा, खरानी, माटो वा कम्पोष्टको धुलोले बीउ पुरेर हातले हल्कासंग थिच्नुपर्छ । बीउ रोपिसकेपछि वर्षायामको मुसलधारे पानीबाट जोगाउन निम्न उपायहरु अपनाउन सकिन्छ ।

छानो वा गुमोजको व्यवस्थाः–
नर्सरीलाई बर्षात वा बढि चिस्यानबाट बचाउन घाम छिर्ने तर पानी नछिर्ने सेतो प्लाष्टिकको छानो (१–१.५मीटर अग्लो र एकतिर करालो परेको) बनाउनुपर्छ । पानी परेको बेला प्लाष्टिकले छोप्ने र पानी नपरेको बेला प्लाष्टिक हटाउनु पर्छ । तर राती नर्सरीलाई प्लाष्टिकले ढाक्नुपर्छ । तर हिउदमा बेर्ना उत्पादन गर्न को लागि भने पालोबाट बचाउनको लागि प्लाष्टिकको गुमोज बनाउनुपर्छ । बेर्ना उम्रेपछि दिउसो प्लाष्टिक हटाउने र राती छप्ने गर्नुपर्छ ।

बेर्नाको हेरचाह :
यसका लागि २,३ दिन बिराएर हजारीले एकनाससँग बिहान वा साँझपख १ भाग मुत्र वा गितीमलमा ८,१० भाग पानी मिसाएर छर्कनुपर्छ । झारपात देखिने बित्तिकै उखेली हटाउनुपर्छ र चुच्चे कुटोले ब्याड हल्कासँग खोस्री एक दुई पटक बेर्ना गोड्नुपर्छ ।

बेर्ना सार्ने दुरी :
अगौटे जातहरुको लागि ४० सेमि बोटदेखि बोट र ४० सेमि लाईनदेखि लाईनको दुरी र ६० सेमि लाईनदेखि लाईनको दुरी र ४५ से.मी. बोटदेखि बोटको दुरी उपयुक्त हुन्छ ।

जमिनको तयारी :
बन्दा लगाउने जमिन २,३ पटक खनजोत गरि डल्ला फुटाउने, ढुङ्गा, झारपातहरु र बाली नालिका अवशेषहरु हटाउने । बर्षातमा खेती गरिने भएकाले १० सेमि जति अग्लो ड्याङमा बेर्ना रोप्नुपर्छ । अथवा निकासको लागि हरेक २-३ लाइनको फरकमा १०-१५ (१ कुरेत) गहिरो र १ मुडी हात चौडा कुलेसो बनाउने । वरिपरिबाट निकासको राम्रो ब्यवस्था गर्ने ।

मलखाद :
बिरुवा रोप्न को लागि २ सेमि १ बित्ता भन्दा गहिरो खाडलहरु बनाई प्रत्येक खाडलमा २, ३ किलो राम्ररी पाकेको पर्सो, १५ ग्राम गेडामल, १० ग्राम पोटास वा १ मुठी खरानी राख्ने । बोरेक्स १ किलो प्रतिरोपनी का दरले जमिन तयार गर्दा माटोमा मिसाउने ।

बेर्ना सार्ने :
बेर्ना सार्नु १ हप्ता पहिले देखि सिचाई नगरिकन बेर्नालाई खुला वतावरणमा बानी पार्नु पर्दछ । यसको लागि वर्ना ३ पातको भएपछि २,३ दिन सम्म दिनमा प्लाष्टिक हटाउने तर रातको समयमा छोप्नुपर्दछ । त्यसपछि सधैंको लागि प्लाष्टिक हटाइदिनु पर्दछ । ब्याडमा बेर्ना तयार भएपछि बेर्ना उखेल्नु १,२ घन्टा अघि पानीले भिजाउनु पर्छ र जरा नटुट्ने गरी खुर्पीले माटो समेत निकाल्नु पर्छ । र मल राखिएको खाडलमा ब्याडमा बेर्नाको जति भाग माटोमा छ त्यति नै भाग मात्र माटोमुनि पर्नेगरि रोप्ने र सिंचाई गर्ने । बेर्ना सारेको १,२ दिनमै नुभान १ एम एल र बेभिष्टिन १ ग्रा प्रतिलीटर पानीमा मिसाई बेर्नामा र वरीपरी फेदमा समेत पर्नेगरी छर्ने ।

पुन मलखाद :
बिरुवा सारेको २०, २५ दिनपछि ५,५ ग्राम (१-१ चिम्टी) यूरिया, र पोटास वा १ मुठि खरानि प्रतिबोट पर्नेगरि फेदबाट ५सेमि टाढा ५ सेमि गहिरो गरी राखि छोपिदिने र डल्ला बन्न लागेपछि प्रतिबोट ५ ग्रा यूरीया बोट वरिपरि छरेर माटोमा मिलाउने र सिचाई गर्ने । युरीयाको वदलामा गहूत वा गितीमल १ भागमा ५ भाग पानी मिसाएर १० दिनको फरकमा छर्कन सकिन्छ ।

बन्दामा लाग्ने रोग र कीरा व्यवस्थापन–
रोग कीरा लाग्न नदिने वा आर्थिक रुपमा क्षति हुन नदिने उपायहरु
१. रोग अवरोधक जातहरु जस्तै बन्दाको ग्रीन क्राउन, गी्रन कोरोनेट, टी–६२१ जातको खेती गर्ने ।
२. सिरेसान वा क्याप्टान २ ग्रा. प्रति किलो का दरले वीउ उपचार गर्ने ।
३. नर्सरीको राम्रो व्यवस्थापन गरी स्वस्थ विरुवा मात्र सार्ने ।
४. राम्ररी पाकेको गोवरमल को प्रसस्त प्रयोग गर्ने ।
५. झारपात तथा पुरानो पातहरु हटाएर खेतबारी सफा राख्ने र लामो फसल चक्र अपनाएर खेती गर्ने ।
६. राम्ररी अवलोकन गरी पातको तल्लोपट्टी भएका पूतलीका पहेला अण्डाहरु र लार्भा हरु थिचेर मार्ने ।
७. निकासको राम्रो ब्यवस्था गर्ने र बेर्ना ड्याङमा लगाउने ।

रोगहरु :
१. डाँठ, फेद, वा जरा कुहिने रोग– यो रोग लागेर विरुवा ओईलाएमा डाईथेन एम ४५ एक लिटर पानीमा २ ग्राम का दरले १० दिनको फरकमा २ पटक छर्कने । गोवर पानी को झोल ४,५ पटक प्रयोग गरेमा पनि यो रोगको क्षति कम गर्न सकिन्छ ।
२. कालो सडन– बन्दाको पातको नसाहरुको बीचमा तीनकुने आकारको पहेलो खैरो धब्बा देखिन्छ र पछि डाठ पात कालो भई कुहिने र गन्हाउने हुन्छ । यसको व्यवस्थापन को लागि पी। सुरक्षा प्रतिलिटर पानीमा घोलेर ४,५ दिनको फरकमा छर्कने । साथै प्लानटोमाइसीन वा स्ट्रेप्टोमाइसीन १,२ मि. लि. प्रति १० लि. पानीको दरले २/३ पटक छर्कने । लामो वाली चक्र अपनाएर खेति गर्ने ।
३. पात नरम भएर सडने रोग– शुरुमा यो रोग लागेको बोटको केही पातहरु दिउसो ओईलाउने र साझ स्वस्थ देखिन्छन् पछि पात कुहिएर मर्छ । डल्ला को बाहिरी पात भन्दा भित्री पात बढी कुहिएको देखिन्छ । यसको व्यवस्थापनको लागि स्वस्थ वेर्ना प्रयोग गर्ने, लामो वाली चक्र अपनाएर खेति गर्ने, राम्रो निकासको व्यवस्था मिलउने,माटोमा प्रसस्त गोठेमल मिसाउने । डाइथेन एम– ४५ वा बेभिस्टिन २ ग्राम प्रति लिटर पानीको दरले १५,१५ दिनको फरकमा २,३ पटक छर्कने ।

किराहरु :
१. लाही किरा– यी किराहरुले कलिलो मुन्टा वा पात मुन्तिर वसेर रस चुसेर क्षति पु¥याउछन् । जसले गर्दा वोट नबढने र पात खुम्चने गर्छ । यसको रोकथामको लागि १ भाग गौंत मा १० भाग पानी मिसाएर छर्कने । खरानी छर्कने ।
२. पात खाने लार्भाहरु– यी लार्भाहरुले पातको हरीयो भाग खाई पात जालीजस्तो वनाईदिन्छ र यसको प्रकोप बैशाख जेष्ठमा बढि हुन्छ । यसको रोकथामको लागि मार्गोसोम वा मल्टिनिम ३ मिली लीटर प्रति लिटर पानीका दरले छर्कने । वा मालाथियन वा थायोडान २ एम।एल।प्रतीलीटर पानीका दरले किराहरु देखेपछि छर्कने । वा १० दिनको अन्तरमा बानस्पतिक बिषादिको प्रयोग गर्ने । लार्भालाई खाने बारुलाको संरक्षण का लागि घातक बिषादिको प्रयोग नगर्ने ।

उत्पादन :
मौसमी बन्दा प्रतिरोपनी १०००–१५०० किलो सम्म उत्पादन हुन्छ । त्यतिबेला बन्दाको मुल्य रु ५–१० सम्म पर्छ ।

लेखक : विपिन सुवेदी