
जलवायु परिवर्तन आजको विश्वको एक ज्वलन्त मुद्दा हो। जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया हो तर पछिल्ला बर्षहरुमा बर्षाको स्थितिमा फेरबदल, तापमानमा भिन्नता, समुन्द्री सतहमा वृद्धि तथा अन्य फेरबदलले जलवायु परिवर्तनको प्रक्रिया चिन्ताको बिषय बन्न पुगेको छ। जलवायु परिवर्तनको गम्भीर असरहरु कृषि, वन तथा मत्स्यपालनमा समेत देखिन थालेको छ। तसर्थ, जलवायु परिवर्तनका असरहरुलाई कम गर्न विभिन्न प्रविधिको पहिचान, उत्थान र अभ्यास बेलैमा गरिनु आवश्यक छ। यसैक्रममा कृषि-वनको अवधारणा जलवायु परिवर्तनको जोखिमलाई कम गर्ने उपयुक्त वैकल्पिक समाधान बन्न सक्छ।
Figure 1: कृषि- बनको नमुना
कृषि, वन र पशुपालनलाई एउटै इकाइमा सँगसँगै एकिकृतरुपले अभ्यास गर्ने प्रणाली नै कृषि-वन प्रणाली हो। छुट्टाछुट्टै रुपमा गरिने पद्धतिलाई छोडेर कृषि, पशुपालन र वनविकासका कार्यहरु एकिकृतरुप गर्नाले जमिनको उत्पादकत्वमा वृद्धिमा नभई रोजगारि, खाधान्न उत्पादन, जैविक विविधता एवम् जलवायु परिवर्तनको नकरात्मक प्रभावलाई समेत न्युनिकरण गर्दछ। यो एक पर्यावरण मैत्री, स्रोत व्यवस्थापन गर्ने प्रणाली हो जसले आर्थिक, वातावरणीय र सामाजिक लाभ प्रदान गर्दछ। यसले माटोको उर्वरतालाई बढाउने, वातावरणीय दिगोपन, खाधसुरक्षा, आयस्रोतमा वृद्धि, आयमा विविधिकरण, खडेरी बाढिविरुध्दको समाधान लगायत समग्र जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्छ। कृषि-वनका विविध प्रकार र पक्षहरु रहेका छन्।
Figure 2: दक्षिण केन्याको नियानो जिल्लामा कृषि वनबाट आएको परिवर्तनको मुल्यांकन
वनमा लगाउने रुखबिरुवा जस्तै सिसो, नीम, टाँकी, उतिस, अलँरची, अदुबा, कफि आदिले सामाजिक र साँस्कृतिक महत्त्व समेत बोकेका छन्। रुखको नियामक कार्यमा जलचक्रको सन्तुलन, ग्लोबल वार्मिग घटाउने, जलवायु परिवर्तनको प्रभाव कम गर्ने र वायुमण्डलीय कार्वनमा सन्तुलन ल्याउनु हो। रुखले कार्वनडाइअक्साइडको मात्रामा सन्तुलन गर्दै समग्र जलवायु परिवर्तनको क्रमलाई सन्तुलनमा राख्न मधत गर्दछ।
Figure 3: कृषि बन को अनुकुलन र शमन क्षमता
कृषि-वन त्यस्तो दृष्टिकोण हो जसले जलवायु परिवर्तनका विरुद्ध अनुकुलनको वृद्धि गर्दै , त्यसको शमनका निम्ति समन्वयका पक्षमा कार्य गर्दछ। त्यस्तै कृषि-वनका प्रकार र पक्षहरुमा आफ्नै किसिमको अलग र अद्वितीय शमन र अनुकुलनका विशेषताहरु छन्। परापूर्वकालदेखि गर्दै आइरहेको जडिबुटी, झारपात, घाँस, डालेघाँस, तरकारि आदिको संरक्षण गर्न हाम्रो पुर्खालि पद्धति नै आजको समष्टिगत एग्रोफरेष्टी हो। विकसित राष्ट्रहरुले धेरै पहिलेबाट सुरु गरेको कृषि -वन हाल नेपालमा बिस्तारै बढ्दो क्रममा छ तर यसको विस्तारमा खासै पहल भएको देखिँदैन। सामान्यतया हामिले हाम्रा बारिखेतको डिल, कान्ला र खरबारीमा डालेघाँस आदि हुर्काएर काठ, दाउराको उत्पादन लिनु नै कृषि-वन हो।
लेखक : स्वदेश रिजाल -कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत छन् ।