चितवन। पूर्बी चितवनका एक युवाले शिक्षण पेशा छाडेर कागति खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन् । कालिका नगरपालिका वडा नम्बर ६ जमुनापुरका सिपि अधिकारीले निजी वोडिङ् र क्याम्पस पढाउन छाडेर पेशागत रुपमा कागति खेती गर्न सुरु गर्नुभएको हो ।

अधिकारीले आफ्नो एक बिगाह र भाडाको एक विगाह १० कठ्ठामा कागति खेती गर्नु भएको हो । पाँच वर्ष अघि आफ्नो जमिनबाट खेती सुरु गर्नुभएको उहाँले दोस्रो वर्ष भाडामा जग्गा लिएर खेती बिस्तार गर्नु भएको थियो ।

अधिकारीका अनुसार पहिलो वर्ष ३ सय ५० विरुवा र दोस्रो वर्ष ६ सय ५० विरुवा रोप्नु भएको थियो । तेस्रो वर्षबाट उत्पादन सुरु भएको हो । अधिकारीले कागति लगाएको तेस्रो वर्ष रु ३ लाख, चौथो वर्ष रु ८ लाख आम्दानी गरिसक्नु भएको छ । यस वर्ष रु १० लाखको कागति बिक्रि गर्ने उहाँको लक्ष्य रहेको छ ।

असार १५ देखि चैत सम्म उहाँको कागति बिक्रि हुने गर्दछ । यस वर्ष ५ विगाह थप गर्ने लक्ष्य रहेको भए पनि लकडाउनका कारण सम्भव नभएको उहाँले बताउनुभयो । आउँदो वर्ष उहाँ खेती बिस्तार गर्दै हुनुहुन्छ । बर्षमा १ लाख ५० हजार देखि २ लाख सम्म खर्च हुने भए पनि आम्दानी राम्रो हुने गरेृको उहाँको भनाई छ । कागति लगाउँदा प्रतिविरुवा रु १ सय ८५ मा खरिद गरेपछि पछिल्ला वर्षहरुमा गोडमेल र औषधि उपचारमा मात्र खर्च हुन्छ ।

भाडाको जग्गाको बार्षिक प्रतिकठ्ठा रु ३ हजार तिर्नुपर्ने हुन्छ । बिज्ञानमा स्नातक गर्नु भएका अधिकारीका लागि पढाउन जहाँ कहिबाट बोलाउने गरिन्थ्यो । त्यसो त ट्यूसन कोचिङ्ममा पनि राम्रो आम्दानी हुन्थ्यो । तर ती सबै छाडेर सुरुमा बाख्रा पाल्दा त्यती सफल हुन नसके पछि उहाँले कागति खेतीमा हात हालेको बताउनुभयो । १७ वर्ष शिक्षण पेशाको अनुभव छाड्नुभएका उहाँ यतिवेला कागतिको अध्ययन अनुसन्धानमा पनि व्यस्त हुनुहुन्छ ।

कागतिको बिरुवा उत्पादन गर्ने तयारीमा उहाँ जुट्नु भएको छ । भारतीय कागति नेपाली वजार भरी हुने हामी बाँझो खेत र खालिहात बसीरहेको भन्दै उहाँले मिहिनेत ग¥यो भने यहि मनग्य आम्दानी हुने वताउनुभयो । चितवनको बजारमा मात्र एक सातामा २० टन भारतीय कागति बिक्रि हुने उहाँको भनाई छ । कालिका नगरपालिकामा १० जनाले व्यवसायीक कागति खेती गरेका छन् । जिल्लामा यो संख्या ५० हाराहारी रहेको छ । यहाँ १ सय बिगाहमा कागति खेती भएको अनुमान छ ।

प्रतिकिलो रु १ सय देखि २ सय सम्ममा कागति विक्रि हुने गर्दछ । भारतीय कागतिको प्रभाव, यहाँका किसानले अनुदान नपाउनु, प्राबिधिक सहयोग नहुनु जस्ता कारण काममा कठिनाई हुने गरेको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो “स्वदेशमानै बसेर आँफैले मिहिनेत गर्न सकेमा यही सफलता हाँसिल गर्न सकीन्छ ।” आँफुले पाँच वर्षमा सिकेको ज्ञान बाँड्न तयार रहेको भन्दै उहाँले कागति खेती गर्नेहरुलाई सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

सोही क्षेत्रका पत्रकार शिशिर सिंम्खडाले अधिकारी नमुना कृषक भएको बताउनुभयो । नपढेकाहरुले मात्र होईन पढेकाहरुले पनि कृषि कर्ममा लाग्नु पर्छ भन्ने उदाहारण उहाँले दिएको बताउनुभयो । राज्यले सहयोग गर्न सकेमा नेपालमा नै कागतिमा आत्मनिर्भर वन्न सक्ने उहाँको मिहिनेतले देखाएको सिंम्खडाको भनाई छ ।

रासस