भरतपुर। चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो ।

मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १ सय ६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए ।

प्रतिहेक्टर ६ हजार रुपैयाँका दरले भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका किसानलाई ३५ लाख ३ सय २८ रुपैयाँ हस्तान्तरण गरिएको उनले बताए ।

विगतमा गरिएको खेतीका आधारमा किसानलाई रकम उपलब्ध गराइएको हो । लाभान्वित समूहबाट ६६, सहकारीबाट ५४ र उद्यमीबाट ४६ किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

केराखेती गर्ने किसानलाई प्रतिफलका आधारमा अनुदान गर्ने योजना रहेको परियोजनाका कार्यान्वयन प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले केरा व्यवसायीले गरेको मेहनतको फलस्वरुप अनुदान रकम हस्तान्तरण गर्न पाउँदा खुशी भएको बताए ।

नगरपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अझै केराको विस्तार गर्दै जान किसानलाई आग्रह गरे । खेतीयोग्य जमीनको संरक्षण गर्दै कृषि उत्पादन बढाउन नगरपालिकाले ध्यान केन्द्रित गरेको उनले बताए ।

रासस