कृषिमा व्यवसायिक कामको सुरुवात गर्न खोज्दा दृष्टिकोणमा नैं मुस्कील झेल्नु पर्दो रहेछ । सवैले गर्नु पर्दछ भन्ने तर लाग्ने वेलामा अनेक वाहाना निकाल्ने जमात ठुलै हुँदो रहेछ । केही साथीभाइहरुले भने “सफल होला र ? अहिलेसम्म कोही पनि सफलतामा पुगेको देखिन्न । यस्मा तपाइलाई केही समयमा निराशा आउँछ होला ।” यस्ता धेरै सुनियो । हामी अधिकांशका वावु आमाले कृषि पेशावाट नैं हामीलाई यती सम्म वनाउन सफल भएका हुन् भन्ने कुरा हामी सवैले विर्सेको हो की जस्तो लाग्दछ । कृषि पेशा असफल भन्नेले आफ्ना वावुआमा असफल भन्न खोजेकै हो त ? आफुले नगर्ने अनी अरुलाई दोष दिने प्रवृती छ भन्ने लाग्दछ ।

कृषि कर्ममा लाग्ने क्रममा के बाट सुरुवात गर्ने भन्नेमा हामी कम्पनी सञ्चालकहरुमा दुविधा नैं थियो । संयोग मान्नु पर्दछ हाम्रो जग्गा भएको स्थानमा अवलोकन गर्ने मनसाय पूर्व कृषि मन्त्री नागेन्द्र चौधरीले व्यक्त गर्नु भयो । २०७५ मंसिर महिना तिर पूर्व मन्त्री चौधरी सहित हामी चरिकोट तिर लाग्यौं । पूर्व मन्त्री समेत जानु हुने भएकोले दोलखाका केही साथीहरुसँग फोन सम्पर्क गरी कृषी सम्वन्धी सेवा प्रवाह गर्ने सरकारी कार्यालयसँग सम्पर्क भयो । यस कार्यमा पत्रकार गायत्री आचार्यले हामीलाई सहयोग गर्नु भयो । आचार्यको संयोजनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (किवी जोन), पशु सेवा कार्यालय, टुकि संघका प्रतिनिधिहरुको टोली सहित हामी सिक्रि (जग्गा भएको स्थान) तिर लाग्यौं । किवी जोनवाट तत्कालिन अधिकृत मित्रवन्धु भट्टराई, पशुसेवा कार्यालयका तत्कालिन प्रमुख ज्ञानवहादुर थापा, कृषि सहकारीका अध्यक्ष हरिहर न्यौपाने लगायत हामी समेत गरी ८, १० जनाको टिम जुटेका थियौं । सवैले आफ्नो विज्ञताको आधारमा संभावना औल्याउनु भयो ।

समुन्द्री सतह देखि १६,१७ सय मिटर हाराहारीको उचाइमा रहेको हाम्रो जग्गामा किवी फलको संभावना भएको देखियो । त्यस पछि वोच कृषि वागवानीमा पसी त्यहाँ अन्तरक्रिया र अवलोकन ग¥यौं । त्यहाँ किवी खेतीलाई व्यवसायिक वनाउन प्रयोगात्मक अभ्यास समेत भैरहेको छ । गुणराज पौडेलले हामीलाई राम्रोसँग व्रिफिङ्ग गरिदिनु भयो ।  सवैसँगको परामर्श र हामी कम्पनीका सञ्चालकहरुका विचमा सल्लाह गरी किवीको व्यवसायिक खेती गर्ने निचोडमा पुग्यौं । समुन्द्र सतहदेखि १२०० मिटर देखि २४०० सम्म किवीको व्यवसायिक खेती सकिने, रोपेको विरुवाले ५० वर्ष भन्दा वढि उत्पादन दिइरहने भएकोले पनि हामी यस खेती प्रति आकर्षित भएका थियौं । दोलखाका लागि सरकारी प्राथमिकतामा किवी परी किवी जोनको कार्यालय पनि स्थापना भएको र यहाँ विभिन्न स्थानमा परिक्षण समेत भएकोले पनि हामीले उत्प्रेरणा मिलेको थियो । त्यो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत इलाम र दोलखामा किवी जोन घोषणा गरिएको थियो ।

कामदार र प्राविधिक जटिलता :
हामी कम्पनी सञ्चालकहरु कृषि उत्पादनमा आधारित काम गर्नु पर्छ भन्ने तर कोही पनि नियमित जमिनमा धसिएर काम गर्न सक्ने खाल्का थिएनौं । नियमित रेखदेखको लागि गिता दाहालको प्रतिवद्धता आएकोले काम थालियो । इसिमोडको गोदावरीमा रहेको नर्सरीमा प्रति गोटा रु ३०० पर्ने गरी ३५० वटा विरुवा वुक गरियो । उता खाल्डा खन्न लगाइयो । ५ फिट गोलाइ र ३ फिट गहिरो भएको खाल्डा खन्नु पर्ने रहेछ । खाल्डा खन्नका लागि मान्छे पाइएन । छिमेकी पालीका शैलुङ्गवाट वोलाएर खन्न लगाइयो । खाल्डा रेंखांकनका लागि किवीको पिता पहिचान पाएका श्याम खड्काको सहयोग लिइयो । उहाँको मार्गदर्शनका आधारमा चिन्ह लगाइयो । खाल्डा विचको दुरी ५ देखी ६ मिटर कायम गरियो । खाल्डा खन्ने अनी मल र माटो मिसाएर पुर्ने । पुर्ने काम पनि जटिल नैं हुने रहेछ । कामदार पाउन मुस्कील । वल्ल वल्ल त्यो काम पनि गरियो । गोदावरीमा अर्डर गरेको विरुवा मध्ये २०० वटा मात्र दिन सक्ने जानकारी आयो । खाल्डा तयार भैसकेको थियो । नपुग विरुवा किवी जोनको सहयोगमा वोचवाट विरुवा मगाइयो । वोचको नीजि नर्सरीवाट मगाएको विरुवाको प्रति विरुवा मूल्य रु. १०० सस्तो पर्न गयो । हामीसँग मल पनि थिएन । मल किनियो । अनी विरुवा रोप्ने आरम्भ गरियो । किवी जोन दोलखाका प्रमुख सहित भैं उत्साहका सथ विरुवा रोपन आरम्भ भयो । विरुवा त के भन्नु र सुकेको जस्ता देखिने सिटा वा छेस्का थिए । के होलार भन्ने जस्तो लाग्दथ्यो । खाल्डा खन्न जती मुस्कील थियो त्यती नैं रोपन र सधैं चिसो पारिराख्नु पर्ने काम पनि । धन्न पानीको जोहो पहिला नैं गरिएकोले मुस्कील त्यती धेरै परेन । पानीलाई थप व्यवस्थीत गर्न किवी जोनले केही मिटर जिआइ पाइप खरिदको लागि सहकार्य ग¥यो । त्यस्तै प्लाष्टिक पोखरी निर्माण गर्न भीमेश्वर नगरपालीकाले सहकार्य ग¥यो । किवी खेती सम्वन्धी किवी जोन दोलखाको सिफारिसमा गिता दाहाललाई वोच वागवानी केन्द्रमा तालिममा सहभागी गराउने मौका मिल्यो । त्यसै गरी दोस्रो वर्ष किवी जोनले सप्ताहव्यापी प्रदेश नं. १ मा भएको व्यवसायिक किवी खेतीको अवलोकलन र अध्ययन गर्ने मौका समेत दिलाएको थियो ।

किवीको स्याहार र खर्चिलो कार्य :
पहिलो वर्ष नैं ३५० भन्दा वढि विरुवा रोपिएको थियो । किवीका हरेक विरुवामा पानी नियमित हाल्नु पर्ने काम कठिन हुने नैं भयो । थोपा सिचाईको प्रणाली खर्चिलो भएकोले सो राख्न सकिएन । पाइप तान्दै हरेक विरुवामा पानी हाल्नु त्यो पनि झण्डै २० रोपनी जग्गा भरी छरिएर रोपिएका ३५० भन्दा वढि विरुवामा । यो जटिल काम सम्पादन हुँदै थियो । रोपेको एक महिनामा नैं विरुवाले पात हाल्न थालेको देख्दा असाध्यै रमाइलो लाग्दथ्यो । अनी विस्तारै हाँगा फैलिँदा अनी विरुवाको छेउमै गाडेको लठ्ठीमा वेरिँदा अनी वेरीएको लहरा फुकाउँदाको रमाइलोपन छुट्टै हुन्थ्यो ।

किवी खेतीको लागि पहिलो वर्ष त नियमित पानी लगाउने अनी विरुवाको स्याहार गर्नु पर्दछ । किवीको विरुवालाई ६ फिट उचाइमा पु¥याई रोक्नु राम्रो हुन्छ । अनी विरुवाको कलमी भन्दा तलको भागवाट मुना पलाउँछ त्यसलाई चिमोट्नु पर्दछ । धेरैवटा मुनाहरु मध्ये २ वटा मात्र राखी अरु हटाउनु राम्रो हुन्छ । नियमित रुपमा स्याहार यो खेतीले खोज्दो रहेछ । दोस्रो वर्ष भने यस्को थाँग्रा हाल्नु पर्ने यो अति खर्चिलो पाइयो । थाँग्रा २ तरिकाले हाल्न सकिंदो सकिन्छ । हुनत अस्थायी किसिमको थांग्रा हाल्ने चलन पनि छ त्यसतो भएमा १,२ वर्षमा नैं फेर्नु पर्ने वाध्यता हुन्छ । कंक्रिट र रड सहितको पोल वा जिआइ पाइपको टी आकारको थांग्रा वनाउन सकिन्छ । यस्तो आकारको थांग्रा २ मिटर भन्दा अग्लो हुनु पर्दछ । यसरी तयार गरेको पोल वा थाँग्रा जमिन मुनी डेट फिट भन्दा वढि हुने गरी गिटी, वालुवा र सिमेन्ट सहितको डिपिसी गर्नु पर्दछ । टि आकार दिई अर्थात ढलानवाला घरको छतमा लुगा सुकाउने तार टाँगे जस्तो आकारको थांग्रा गाड्ने र एक थांग्रा देखि अर्को थांग्रासम्म ५-५ वटा तार तान्नु पर्दछ । सोही तारमा किवीको लहरा फैलिन्छ । यो तार उच्च गुणस्तरको राखिनु पर्दछ । यसरी एउटा थाँग्राका लागि ५ हजार भन्दा वढि खर्च हुने रहेछ । यो खर्चिलो नैं हो । यसका लागि अर्को वर्ष पनि केही लगानी गर्नु अपरिहार्य हुन्छ । किवीको व्यवसायिक खेतीका लागि पहिलो र दोस्रो वर्ष अलि वढि लगानी गर्नु पर्ने हुन्छ । त्यसै गरी यसले नियमित स्याहार समेत खोज्दछ । पहिलो वर्ष ३५० वटा विरुवाको स्याहार गर्न पनि एक जनाले मुस्कील परेको थियो भने दोस्रो वर्ष थप ३०० विरुवा रोपिएको छ । अहिले किवीको विरुवाले ओगटेको क्षेत्रफल नैं २ हेक्टर अर्थात ४० रोपनी जती छ ।

किवी खेतीमा सधैभरी खटिइरहने गिता दाहालका अनुसार हरेक ३ दिनमा कम्तीमा एक पटक हरेक विरुवाको छेउमा पुग्नु पर्दछ । झार पलाएको छ की, चिसो हराएको पो छ की अनी चोर वालुवा (अनावश्यक हाँगा वा मुना) पलाएको छ की, हाँगा वढेर बटारियो की भनी ध्यान दिइ रहनु पर्दछ । जहिले हेर्दा पनि मल कम भयो कि जस्तो लाग्छ रे । हिउँदमा हाँगा कटनी छटनीको काम गर्नै पर्दछ । नजिकै जंगल छ । वन्य जन्तुको डर उत्तिकै हुन्छ । किवीको पातलाई मिर्गले मन पराउँदो रहेछ । अनी वाँदरको उपद्रो हुने नैं भैगो । आगो लाग्ला की भन्ने चिन्ता भैहाल्छ ।

किवी खेती र अनुदान :
कृषिमा सरकारी अनुदान धेरै हुन्छ भन्ने सम्म सुनिएको हो तर त्यो पाइन्छ भनेर हामीले काम थालेको होइन । गर्दै जाउँ हामीले गरेको काममा केही अनुदान आएछ ठिकै मानौला भन्ने आशा चाँही थियो नैं । अनुदान कैं लागि कृषि कर्ममा जुट्ने हाम्रो चाहाना पटक्कै हैन र छैन पनि । हामीले किवी रोपेको दोस्रो वर्ष प्रदेश सरकार अन्तरगत वाग्वानी वोचले थप ३०० वटा विरुवा रोपनका लागि ३ लाख ८८ हजार रकम उपलव्ध गरायो । यसमा तोकिएको काम गर्नका लागि मात्र १५ लाख भन्दा वढि खर्च भएको छ । अनी गत वर्ष रोपिएका विरुवाका मध्ये १०० वटा थांग्राका लागि लाग्ने रकमको आधा अनुदान वापत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना किवी जोन दोलखाबाट प्राप्त भएको छ । सिचाईको कार्यलाई सहज वनाउन भीमेश्वर नगपालिकाले पाइप तथा प्लाष्टिक पोखरीका लागि आंशिक अनुदान दिएको थियो । हामी आफैं गर्नु पर्ने काम थियो सो काममा केही रकम अनुदान वापत उपलव्ध भयो । यो तरिका हामीलाई ठिक लागेको छ । तर धेरै कृषि अनुदानका लागि मात्र काम गरेको जस्तो गर्ने चलन नभएको पनि होइन । कृषिमा अनुदान भन्ने कुरा गरीरहेको काममा उत्प्रेरणामुखी हुन सके मात्र व्यवसायिकता हुन सक्छ ।

व्यवसायिक किवी खेतीका मूख्य चुनौती र संभावना :
किवीलाइ असिनाले धेरै नोक्सानी गर्दछ । आगोको डर पनि हुन्छ । वन्यजन्तुले पनि हैरान पार्दछ । यसवाट थोरै भए पनि सुरक्षित रहन विमा गर्नु सान्दर्भिक हुन्छ । विमा गर्ने जिम्मेवारी पाएका विमा कम्पनी तयार हुँदैनन् । सरकारी उत्प्रेरणा समेतले धेरै किवीको विरुवा रोपन भएको छ यसको खेती गर्नका लागि देखासेखीले पनि काम गरिरहेको छ । यसैले अब विस्तारका लागि धेरै चिन्ता लिनु पर्दैन । हाल भैरहेको व्यवसायवाट उपलव्धी हासिल भएमा अरु पनि आकर्षित हुनसक्छन् । तर वजारको सुनिश्चीतता भने देखिन्न । गत वर्ष रोपिएको विरुवाहरु मध्ये केहीमा यस पाला नैं फल लागिरहेको छ । अर्को वर्ष देखि अलिक राम्रै उत्पादन हुन्छ होला । यसको वजारको वारेमा अहिले देखि नैं चिन्ता वढेकोछ । नेपाल भित्र यसको खाने बानी परिसकेको छैन । वाह्य निकाशी हुने संभावना पनि तत्काल देखिन्न । त्यसैले किवी फलको प्रशोधनमा राज्यले ध्यान दिन ढिला भैसकेको छ ।

लेखक : खतिवडा भीमेश्वर अग्रानिक एग्रिकल्चर एण्ड रिसर्च प्रा.ली.का अध्यक्ष हुनुहुन्छ ।