कृषि नेपालको करिव ६६ % अर्थात् दुई तिहाई जनसंख्या प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा आबद्द भएको क्षेत्र हो। आर्थिक सर्वेक्षण २०१८-१९ का अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा २६.९८ % योगदान कृषि क्षेत्रले पुर्याएको छ। चालु आवधिक योजनाले पनि उत्पादनलाई २.९७ बाट ४ मेट्रिक टन प्रति हेक्टर पुर्याउने लक्ष्य राखेको छ।

अत्यन्त परम्परागत र निर्वाहमुखी कृषिको युगबाट आजको आधुनिक युगसम्म आइपुग्दा कृषिमा आवश्यक पर्ने जनशक्ति, यन्त्र, बीऊ बिजनजस्ता वस्तुहरुमा परिवर्तन आएतापनि कृषिको महत्व र मानव जीवनको अस्तित्वको लागि कृषि अपरिहार्य रहेको थियो, रहेको छ र सधैं रहिरहने छ। परम्परागत देखि आधुनिक कृषिको यात्रामा महिला सहभागिताको अहम भुमिका रहेको छ। नेपालमा मात्र होइन समस्त विश्वलाई नै हेर्दा करिव ४३ प्रतिशत कृषि कार्य गर्ने जनसंख्या महिला रहेका छन्। विश्वको कुल खाध्य वस्तुमध्ये ६० देखि ८० प्रतिशतको उत्पादन महिलाले नै गरेका छन्। विश्वको ७ विलियन जनसंख्यामध्ये ४०० मिलियन महिलाहरु पशुपालनमा आबद्द छन्। नेपालमा पनि परापूर्वकालदेखिनै महिलाहरुले कृषिकार्य र अन्य घरायसी कामकाजलाई सँगसँगै अगाडि बढाउँदै आएका छन्। नेपालमा ६२ प्रतिशत कृषि काम गर्ने महिला छन्।तीमध्ये जम्मा ८ प्रतिशत महिला कृषि श्रमिकले पुरुषसरह पारिश्रमिक पाउँछन्।

परम्परागत कृषिमा केवल आफ्नो घरपरिवारका आवश्यकता अनुसार पर्ने कृषि उपज उत्पादन हुन्थे।मुख्य पेशा कृषि तर निर्वाहमुखी मात्र भइदिँदा आर्थिक उपार्जनको माध्यम बन्न सकेन। कृषिबाट दुई छाक टार्न र सन्तानको पालनपोषण शिक्षादीक्षा गर्न समेत धौधौ पर्थो। गाउँघरमै बनाइएका कृषि औजारको प्रयोग गरी खेती गरिने, एकै थरीका बीऊ धेरै बर्ष प्रयोग गरिने हुँदा थोरै उत्पादनमा पनि धेरै समय लाग्दथ्यो।महिला खेतबारीमा पुरुषका सहयोगी भएर काम गरेतापनि निर्णय लिने भुमिकामा महिला रहेनन्। महिलाको भुमिका  गैर आर्थिक कृषि श्रमिकको जस्तो र साथसाथै घरको चुलोचौको बच्चाबच्ची स्याहारसुरारको दायित्व पनि सँगसँगै रह्यो।

विश्वव्यापी रुपमा कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरण हुन थाल्यो। कृषिकार्यमा नयाँपन ल्याउन बाली विबिधीकरण गर्ने, बहुबाली लगाउने, उन्नत मल बीऊ र कीटनाशक औषधीको प्रयोग गर्ने तथा आधुनिक कृषि औजार प्रयोग गर्ने जस्ता अभ्यासमा जोड दिन थालियो।तर, नेपालमा भने अपेक्षित रुपमा व्यवसायीकरण शुरु हुन सकेन। अधिकांश कृषकले कृषि कार्य दैनिक जीवन निर्वाहका लागि गर्ने धारणा अझैपनि छाड्न सकेका छैनन्। कृषि प्रधान देश नेपालमा नेपालीलाई पुग्ने खाध्यान्न, माछामासु लगायतका सबै चीज उत्पादनले नपुगेर आयात गर्नुपर्ने अवस्था छ। तर, पनि केही ठुला व्यवसायिक रुपमा सन्चालन गरिएका कृषिलाई छाडेर कृषिको प्रमुख मियो महिला नै छन्। हुनत आजभोली सहरीकरण, वैदेशिक विप्रेषण आदिले कृषि विस्थापित हुँदैछ, तर ग्रामीण महिलाहरुमाथि भने कृषिको थप बोझ बढ्दै छ।तथापि कृषिको आधुनिकीकरण सँगै वर्तमान अवस्थामा अगाडि बढ्न महिलाहरु अग्रसर देखिएका छन्।

विगतदेखी वर्तमानसम्म कृषि कार्यमा महिला नै अगाडि छन्। पहिले कृषिसम्बन्धी कार्यमा निर्णय अधिकार महिलामा थिँदै थिएन तर अहिले केही हदसम्म अवस्था बदलिएको पनि छ।विभिन्न तालिम तथा कृषि शिक्षामा आजभोली पुरुष भन्दा महिला अग्रसर छन्।लोग्ने विदेश गएतापनि घरको खर्च आँफै कृषि उध्यम गरेर जुटाउन प्रयासरत महिलादेखी औपचारिक शिक्षा कृषि विषयमा प्रमाणपत्र तथा स्नातक गर्ने छात्राहरुको संख्या उल्लेख्य बढेको छ। यस्ता जनशक्ति उत्पादनले पक्कै पनि आधुनिक कृषिलाई टेवा पुर्याउँदै जानेछ।गाउँगाउँमा विभिन्न समूह गठन गरी सामूहिक खेतीतर्फ आकर्षित महिलाको संख्या बढ्दो छ जसले गर्दा सरकारले अघि सारेकोसामूहिक खेतीलाई प्रबन्धन गर्दै जी डी पी वृद्दिमा सहयोग पुग्नेछ। महिलाले केही गर्न सक्दैनन् भन्ने मानसिकता परिवर्तनका लागि यो गतिलो उदाहरण हो। यसमा पुरुषको साथ र समर्थनले काम गर्ने हातहरुलाई प्रेरणा पुर्याउनु जरुरी छ।तथापि दुरदराजका गाउँमा कृषक महिलाको अवस्था भने दयनीय छ।आजपनि हाम्री गाऊँकी फुलमती दिदीको पिठ्युँमा डोको टुटेको छैन। शहरका महङ्गा तारे होटलमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने नाममा नास्ता खर्चको बिल लाखौंको निस्कन्छ।अनि उता मध्य पश्चिममा साहूको खेतमा काम गर्न हलो र कोदालो बोकेर बिहानी झिसमिसे उज्यालोमा खेततिर लाग्ने दिनभरी अर्काको खेतमा खनजोत गर्ने अनि साँझ परेपछि घरपरिवारको मुखमा माण लगाउनका लागि विखय मागदै साहूको पाउमा लम्पसार पर्ने साहिली दिदीको दिनचर्या यसैगरी सकिन्छ।तसर्थ यी र यस्ता महिलाको अवस्थालाई बुझेर कार्यक्रम ल्याउनु पहिलो प्राथमिकता हुनुपर्दछ।

कृषिमा सक्षम महिलाहरुको प्रवेश सुनिश्चितताका लागि सरकारी प्रयासबाट महिलाको सहभागिता र निर्णय अधिकार बढाउनु जरुरी छ। मितव्ययिताकी प्रतिमूर्ति मानिने महिलाले जस्तोसुकै स्तरको कृषिलाई पनि व्यबस्थापन गर्न सक्छन्। त्यसैले अब कृषिमा महिला सहभागिताको विगतलाई कदर गर्दै यस क्षेत्रमा रहेका समस्याहरुको पहिचान गरी त्यसको समाधान गर्नका लागि अग्रसर हुनु जरुरी छ। कृषिबाट भोको पेट मात्र भरिदैंन समुन्नत राष्ट्रको पेट पनि भरिन्छ भन्ने भावना जगाउनुपर्दछ। कृषिक्षेत्रमा महिला र पुरुषबीचको विध्यमान खाडल हटाउन आवश्यक छ।विभिन्न संघ संस्थाहरुद्वारा तथा सरकारी प्रयासबाट महिलालाई जमिन, बजार जल, मल, बीउ, प्रबिधिमा पहुँच बढाउनुका साथै थुप्रै महिलामैत्री योजना बनाएर आयआर्जनमा सकारात्मक परिवर्तन ल्याउने नीति निर्माण र कार्यान्वयन गर्नु जरुरी छ। सामाजिक सांस्कृतिक तथा आर्थिक हरेक क्षेत्रमा महिलाहरुको सहभागिता र पहुँच बढाउँदै लैजानुपर्छ। महिला सशक्तीकरणका लागि शिक्षा, चेतना, अधिकार र अवसर उपलब्ध गराउनुपर्छ। अनि मात्र महिलाको श्रम र मिहिनेतको उचित फल मिल्नेछ।

लेखक : एन्जिला चापागाईं