एस. आर.आई. विभिन्न सिद्धान्त र प्रविधिको प्याकेज हो,जसले कुनै पनि जातका धानबाट किसानहरूलाई धेरै उत्पादन प्रदान गर्दछ। तर, यो प्रविधि विशेष गरी बढी गाज दिने धानका जातहरूमा प्रयोग गरिन्छ । यो प्रविधि कुनै निश्चित ढांचामा धान रोप्ने विधि हो। एस.आर.आई.ले धान रोप्ने विधिमा धानको बिरूवा, माटोको, पानी र खाद्य तत्वमा सुधार, परिवर्तन र व्यवस्थापन जस्ता विषयमा मुख्य भूमिका खेल्दछ। यस प्रविधिको प्रयोगबाट २०-३० % धानको उब्जनीमा वृद्धि भएको पाइएको छ । यो विधि पहिले १९८३ मा अफ्रीकाको मेडाग्यास्कर भन्ने छेत्रबाट सुरू गरिएको हो।

प्रमुख सिद्धान्त :
१.  एक पटकको रोपाइमा एउटा मात्र बेर्ना रोप्ने।
२. दुई पाते अवस्था (८-१० दिनको) कलिलो उमेरमै बिरूवा सार्नु पर्ने।
३.  बेर्ना बिचको आपसी प्रतिस्पर्धा घटाउने।
४. कोनो व्यीडर जस्ता हाते मेसिनको प्रयोग।
५.  माटोको उर्वरा शक्ति वृद्धि र सूक्ष्म जीवाणुको सक्रियता बढाउने।
६. खेतलाई आलो पालो सुख्खा र ओसिलो राख्ने।

एस.आर.आई. विधिका साधारण नियमहरू :
१. बिउको जात छनोट :

१. प्रथमतः धान खेती गर्दा, धानको बेर्ना तयार पार्ने मूल बिउको उपयुक्त जात छनोट गर्नुपर्ने ।
२. बिउ छनोट गर्दा, नेपाल सरकार तथा कृषि मंत्रालयद्वारा सिफारिश गरिएको आफ्नो क्षेत्र वा भौगोलिक बनोटको आधारमा धान बालीका जातहरूको चयन गर्ने ।
३. त्यस्तै, विभिन्न धान बालीका जातहरू मध्य पनि अधिक हागा फैलाउने, रोग प्रतिरोधात्मक क्षमता बढी भएको साथै किराकिरी आदिले धेरै क्षति गर्न नसक्ने हाइब्रिड जातको छनोट गर्ने।

२. ब्याडको तयारी :

१. सर्वप्रथम ब्याड तयार गर्न उपयुक्त जग्गाको चयन गर्नुपर्ने ।
२.  धान रोप्ने मूल जग्गाको आधारमा ब्याड राख्ने जग्गाको फिल्ड ले आउट तयार गर्ने ।
३. तयार पारिएको उक्त ले आउटको जमिनमा ८० % माटो, ५ % धानको भुस र १५ % एफ्. वाइ. एम्. राखी २-३ पटक खनजोत गर्ने।
४. उक्त मिश्रणलाई जमिनको सतह भन्दा करिब ३ इन्च माटो उठाएर त्यसको वरिपरी अधिक पानी बग्ने निकास तयार पार्ने ।
५. माटोलाई बग्न नदिन तयार गरिएको ब्याडको वरिपरी काठको प्लाइ वा इट्टाले बार्ने ।

३.  बिउको उपचार एवं प्रयोग :

१.  १० : १ को एकाइको मापदण्डमा पानी र नुन राखेर घोल्ने, जबसम्म पानीमा अण्डा राख्दा माथि तैरिॅदैन।
२. त्यसपछी चयन गरिएको गुणस्तरिय जातको धानको बिउ उक्त पानीमा राख्ने।
३.  पानीको तल्लो सतहमा थुप्रिएका धानका बिउ मात्र धानको ब्याड राख्नमा प्रयोग गर्न सकिने ।
४. नुन पानीमा करिब १५ मिनेट भिजाए पछि धानको बिउलाई राम्ररी सफा गर्ने र जुटको बोरामा राखेर करिब २४ घण्टा सम्म छाडिदिने।
५.  २४ घण्टा पछि उक्त धानको बिउ अंकुरित भएपछि बिउ राख्ने ब्याडमा बिउ उमार्न प्रयोग गर्न सकिने ।
६. ब्याड तयार पारिएको जमिनमा समान रूपले बिउ छर्नुपर्छ र माथिबाट एफ।वाइ।एम्। युक्त माटोले छोपिदिएर परालले ढाकिदिनुपर्ने। यसो गर्दा बिउ सिधै घामको प्रकाश र वर्षाबाट पनि जोगिने।
७. बिउहरू राम्रोसंग अंकुरण भएपछि पराललाई हटाइदिनुपर्छ र प्रत्येक दिन पानीले सिञ्चित गर्नुपर्ने।

४. जमिनको तयारी :

१. जमिनको उर्वरक छमता अनुसार खाद्य एवं जैविक मलको प्रयोग गर्नुपर्ने।
२. २ – ३ पटकसम्म जमिनलाई राम्ररी खनजोत गर्नुपर्ने।
३. जोतिएको जमिनमा पानी राखेर उक्त जमिनलाई हिलाम्य पर्ने तर परम्परागत विधिमा जस्तो पानीलाई भने अडिन दिन नहुने।
४. २५× २५ से.मी. को स्पेसिङ भएको काठ वा बासबाट निर्मित रेक मार्कर प्रयोग गरी तयार पारिएको उक्त जमिनमा मार्किङ् गर्नु पर्ने।

५.  बेर्ना रोप्ने विधि :

१. ब्याडमा राखिएको धानको बिउ ८ – १० दिनको भएपछि बेर्ना रोप्नको लागी तयार हुने।
२. बेर्ना एकदम कलिलो र जराहरूको विकास राम्ररी नभइ सकेको हुने हुँदा बेर्ना निकाल्दा विशेष ध्यान पुर्याउनु पर्ने।
३. २५× २५ से.मी. मा मार्किङ् गरिएको तयार जमिनमा १ देखी २ वाट बेर्ना लिएर धेरै गहिरो बेर्ना पर्ने गरी नरोप्ने।
४.  रोपे देखी १५, ३० र ४५ दिनमा तीन पटक गोड्ने मेसिनको प्रयोग गरी गोड्ने ।

६. मल व्यवस्थापन :

१. माटोमा रहेकाजैविक तत्वहरू वृद्धि विकास गर्न बढी भन्दा बढी प्राङ्गारिक मलको प्रयोग गर्ने ।
२. हरियो मल, जैविक मल तथा कम्पोस्टको प्रयोग गर्ने ।
३. रासायनिक मल कम प्रयोग गर्ने ।

७. पानी व्यवस्थापन :

१. सकेसम्म जग्गा सम्याउने (लेजर लेबलर प्रयोग गर्न सके राम्रो) ।
२. बिरूवा वॄद्धि एवम् धान पसाउने अवस्थामा जमिन भिज्ने गरी सिंचाई गर्ने ।
३. बेला बेला खेत भिजाउने र सुकाउने गर्ने ।
४.  परम्परागत विधिमा जस्तो पानी धेरै जम्न नदिने।

सावधानी :

१. सर्वप्रथम, नुन युक्त पानीमा बिउलाई लामो समयसम्म राख्नु हुँदैन । यदि त्यसो गरेमा बिउ उम्रने सम्भावना कम हुन जान्छ।
२. ब्याडमा बिउ राखेको ८ – १० दिन भित्रमा बिरूवाको रोपाइ गरि सक्नुपर्छ।
३. जमिन तयार गर्दा परम्परागत विधिमा जस्तो जमिनमा धेरै पानी अडिन दिनु हुँदैन ।
४. ब्याड देखी बेर्ना निकाल्दा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ ।
५. उक्त निकालिएको बेर्नालाई ½ देखी १ घण्टा भित्रमा रोपिसक्नु पर्दछ।
६. सके सम्म विरूवा देखी विरूवासम्मको दुरी बढाएर आपसी प्रतिस्पर्धा कम गरिदिनुपर्छ ।
७. उचित समयमा बेर्नाको गोडमेल र मलजल गर्नु आवश्यक हुन्छ।
८. खेतलाई आलो पालो सख्खा र ओसिलो राख्नु अत्यन्त जरूरी हुन्छ ।

फाइदाहरू :

१. कम पानी, थोरै जग्गा र थोरै बिउबाट अत्यधिक उत्पादन पाउन सकिने ।
२. नढल्ने, बाडी र सुख्खाको असर कम पर्ने ।
३. स्रोत संरक्षण प्रविधि, स्थानीय स्रोत साधनमा आधारित खेती प्रविधि ।
४. वातावरणमा हरित ग्रिह ग्यास ( जस्तै परम्परागत धान खेती भन्दा मिथेन उत्पादन ६४ % कम उत्पादन हुने) को उत्सर्जन कम गर्ने ।
५.  उपभोक्ता मैत्री, स्वस्थ र प्राङ्गारिक धान उत्पादन गर्न सकिने, रासायनिक मलको प्रयोग कम हुने ।
६. धान खेतीमा आधा भन्दा बढी पानीको बचत गर्न सकिने ।
७. धानको उत्पादन बढाई देशलाई आत्मनिर्भर बनाउन सकिने ।

नेपालका लागी एस.आर.आई. किन उपयोगी ?

१.  नेपालका अधिकांश कृषक एवम् उपभोक्ताहरू धान जस्तो अन्नबालीमा बढी परनिर्भर भएको ।
२.  नेपालको थुप्रै पहाडी भू-भाग एवम् तराई क्षेत्रहरू धान्यबाली लगाउनको लागी उपयुक्त रहेको ।
३. विभिन्न विकेट क्षेत्रमा यातायात, राम्रो जातका बिउ एवम् रासायनिक मल पुर्याउन निकै कठिनाई भोग्नु परेको ।
४. स्थानीय स्रोत साधनको प्रयोग गरी यस विधिलाई अपनाउदा उत्पादनमा धेरै वृद्धि गराउन सकिने सम्भावना रहेको ।
५. एस.आर.आई. विधिको प्रयोगले नेपालको कृषिमा देखिएको खाद्य संकटलाई कम गर्न सकिने ।

लेखक : किरण आचार्य पूर्वांचल कृषि क्याम्पसमा अध्ययनरत छन् ।