ललितपुर। ललितपुर महानगरपालिकाले महानगरपालिकाका १० वटा वडालाई कृषि पकेट एरिया घोषणा गर्ने भएको छ । बुधबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाले बायो टेक्निकल ल्याबको व्यवस्था गर्ने, प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने, तरकारी तथा फलफूल बजारलाई विस्तार गर्ने तथा चिस्यान केन्द्र स्थापना गर्ने, कृषि अटोमेसनअन्तर्गत बीउ एटिएमजस्ता प्रविधिको विकास गर्ने नीति लिएको छ ।
यसका अलावा महानगरले सामाजिक विकास नीतिअन्तर्गत युवा स्वरोजगारको लागि वडाले आवश्यक बीउ पुँजी उपलब्ध गराउने, बालविकास केन्द्रहरूको स्तरोन्नति गर्ने, प्रत्येक वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममाथि आगामी १७ गते छलफल हुने महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।









