धान नेपालको मुख्य वर्षे बाली हो । यसको खेती सिँचाइको पानीको अभावका कारण प्रायः वर्षाको भरमा पर्दछ । एकातिर जलवायु परिवर्तनका कारण नेपालमा वर्षा अनियमित हुँदै गइरहेको छ र समयमै वर्षाको कुनै सुनिस्चितता छैन । वर्षामा ढिलाइले धानको बेर्ना तयारी गर्ने गतिविधिलाई असर गरिरहेको छ जुन नेपालमा प्रत्येक वर्ष जेष्ठमा गरिन्छ । मनसुन वर्षामा हुने ढिलाइले समयमा हुने धानको रोपाईलाई असर गर्दै आइरहेको छ । ढिलो हुने वर्षाले कृषकहरू ३०-३५ दिन वा अझ बुढो धानको बेर्ना रोप्न बाध्य हुने गरेका छन् जसले समग्र धानको उत्पादन र उत्पादकत्वलाई समेत असर गर्ने गरेको छ ।  कहिलेकाहीं ढिलो वर्षा सँगै लामो खडेरी र उच्च वायुमण्डलीय तापक्रमले धानको बेर्नालाई नर्सरीमा नै जलाउने गरेको पाइन्छ र यसले बेर्नालाई रोपाईको लागि अनुपयुक्त बनाउँछ । यो समस्या तराईको विभिन्न ठाउँहरूमा वर्षेनी अनुभव गर्ने गरिएको छ । बेर्ना उपलब्ध नभएर जमीन बाझो छोडिने गरेको समस्या पनि तराईको विभिन्न ठाउँहरूमा यथावत रहेको छ ।

वर्षा भए संगै धान रोपाईको लागि जग्गा तयारी गर्न चाहिने मेसिन र अरु साधनहरू जस्तैस ट्र्याक्टर, हल गोरू, राँगा आदिमा किसानहरूको चाप अचानक बढ्ने हुँदा धान रोपाईको काम ढिलो हुने गरेको छ । धान खेती गर्नु धेरै कठिन र झन्झटिलो काम हो किनकि यसलाई धेरै समय र बढी ध्यान आवश्यक छ । ज्यामीको अभाव पनि हरूधान खेतीको लागि समस्या छ जहाँ प्रायः पुरुष युवाहरू विदेशिएका छन् र वर्षे मौसममा जमिन बाँझो छोड्नुको यो पनि एउटा कारण बनेको छ ।

धान खेती गर्ने परम्परागत पद्धति बढी महँगो छ । परम्परागत पद्धति अनुसार २/३ पटक जोती, हिल्याएर पाटा लगाएको खेतमा नर्सरी व्याडमा तयार पारेको बेर्ना रोपिने गरिन्छ । जसले गर्दा परम्परागत पद्धतिमा ज्यामी र कुल उत्पादन खर्च बढी लाग्छ । खेतीको उच्च लागतका कारण गरिब किसानहरूले आफ्नो जग्गामा खेती गर्न सक्दैनन् किनभने उनीहरू जोखिम मोल्न चाहदैनन् र उनीहरूले खेतीमा लगानी गर्न सक्दैनन् । साथै परम्परागत धानखेती बाट मिथेन र नाइट्रसअक्साइड नामक हरितगृह ग्यासहरूको उत्सर्जन हुने गरेको छ । पानीमा डुबाएर धान खेती गरिँदा माटोमा अक्सिजनको अभावमा बाँच्ने व्याक्टेरीयाहरुले भएको प्रांगारिक पदार्थ कुहाउने क्रममा मिथेन नामक ग्याँस निस्कन्छ । हरितगृह ग्याँसहरुमध्ये मिथेन ग्याँस कार्वन डाईअक्साईड ग्याँसको तुलनामा २५ गुणा बढी असर गर्ने हरितगृह ग्याँस हो । पानीको किफायत प्रयोग प्रविधि प्रयोग गरेर जस्तै आलोपालो केही अवधि सुकाउने र केही अवधि सिंचाई गर्ने र धान खेतीको सुख्खा छरुवा प्रविधि अपनाउँदा खेतमा पानी जम्ने समय घटन गई मिथेन ग्याँस उत्सर्जन करीव ६०-९०% ले घट्न सक्छ। हुन त यी विधिमा अर्को एउटा हरितगृह नाईट्रस अक्साईड ग्याँस उत्सर्जन हुन पुग्दछ जुन ग्याँस कार्वनडाईअक्साईडको तुलनामा ३०० गुणा बढी हानिकारक छ । धान खेतको माटोमा नाईट्रोजन मलको बढी उपलव्धता अनि त्यस माथि पानी कम भएको स्थितिमा बढी नाईट्रस अक्साईड ग्याँस उत्पादन उत्सर्जन हुन जान्छ । यस परिस्थितिमा नाईट्रस अक्साईड ग्याँसको उत्सर्जंन न्युनीकरणका लागि पानी बचत प्रविधि अपनाउनुका साथै असल खाद्यतत्व व्यवस्थापन प्रविधि संगसंगै लैजानु पर्ने हुन्छ जस्तैस् नाईट्रोजनजन्य मलको प्रयोग को मात्रा घटाउने, साथै नाईट्रोजन मलखाद एकै पटक धेरै प्रयोग नगरि थोरै थोरै पटक पटक गरि प्रयोग गर्दा नाईट्रस अक्साईड उत्सर्जन पनि घटाउन सकिन्छ ।

यी समस्याहरू छरुवा धान खेती प्रविधि अपनाएमा निकैहदसम्म समाधान गर्न सकिन्छ जहाँ बीउ सुख्खा माटोमा (सुक्खा-छरुवा) छरिन्छ वा पूर्व अंकुरण गरिएको बीउ हिल्याएको समतल माटो (हिले-छरुवा) मा छरिन्छ । यसरी खेतमा धानको बेर्ना रोप्नुको साट्टो सिधै बीउ छर्ने प्रविधि लाइ नै छरुवा धान खेती प्रविधि (DSR) भनिन्छ । छरुवा धान खेती प्रविधि नेपालका सबै धान उत्पादन हुने क्षेत्रमा विशेष गरी जलवायु परिवर्तनको असरबाट प्रभावित क्षेत्रहरूमा अवलम्बन गर्न सकिन्छ । परम्परागत पद्धतिमा भन्दा छरुवा पद्धतिमा उल्लेख्य मात्रामा ज्यामी कम लाग्ने र उत्पादन लागत पनि कम लाग्ने हुँदा छरुवा धान खेती पद्धति अहिले आकर्षक प्रविधिको रूपमा कृषकहरू माझ आइरहेको छ । परम्परागत पद्धतिको विकल्पको रूपमा पछिल्ला वर्षहरूमा विभिन्न कारणहरूले छरुवा धान खेती आकर्षक भएको छ । वैदेशिक रोजगारी एवं अन्य रोजगारीका कारण ज्यामीको उपलब्धता न्यून भएको हुँदा छरुवा धान खेती तर्फ कृषकहरू अझै आकर्षित हुदै गइरहेका छन् ।

२. प्रविधि प्याकेज :
धान खेती गर्नको लागि विभिन्न कृषि कर्महरू आवश्यक हुन्छन । ती सबै कृषि कर्महरूमा विभिन्न प्रविधिहरू समावेश भएका हुन्छन । समग्रमा भन्नु पर्दा प्रविधिको मुख्य तत्वहरूनै प्रविधि प्याकेज हो । विभिन्न तरिकाले धानको खेती गर्दा अपनाउने कृषि कर्महरू हेर्दा उस्तै-उस्तै देखिए तापनि सारमा ती कृषि कर्महरूसंग जोडिएका प्रविधिहरू फरक हुन्छन (जस्तै : जग्गा तयारी र सिचाई व्यवस्थापन) । छरुवा विधि अपनाई धान खेती गर्दा पनि प्रविधि प्याकेज छरुवाको किसिम (सुख्खा र हिले छरुवा) अनुसार फरक हुन्छन । दुवै तरिकाको छरुवा धान खेतीको प्रविधि प्याकेज तल तालिकामा दिईएको छ ।

तालिका १. धान खेतीको लागि सुख्खा छरुवा र हिले छरुवा विधिमा अपनाइने विभिन्न कृषि कर्महरू  (प्रविधि प्याकेजहरू)


छरुवा धान खेतीमा ड्रम सिडरको प्रयोग :

तस्बिरमा प्रयोग गरिएको ड्रम सिडरमा केन्द्रीय अक्षको (central axis) साथमा चार सिलेन्ड्रिकल ड्रम हुन्छन्। ड्रम सिडर अगाडि तान्दा प्रत्येक ड्रममा भएका प्वालहरूबाट पूर्व-अंकुरित बीउ हिल्याएको माटोमा सफासँग झर्छ । यो सिडरलाई हिँडाईको गतिमा एकल प्रयोगकर्ताले सजिलै संग तान्नको लागि ड्रमहरूको प्रत्येक छेउमा ठूला प्लास्टिकको पाङ्ग्राहरू रहेको हुन्छन l ड्रम सिडिंग प्रविधीमा फाइबर सामग्रीले बनेको ड्रमको प्रयोग गरि पूर्व अंकुरण भएको धानको बीउलाई हिल्याइएको र समतल माटोमा २० सेन्टीमिटर अन्तरालको लाईनमा समान रूपले छर्ने गरिन्छ। धानको बीउलाई  टुसाउनको लागि २४ घण्टा वा कम्तीमा रातभरि पानीमा भिजाइन्छ। लामो टुसा पलाएको बीउ ड्रम सिडिंगको लागि उपयुक्त नहुने हुनाले बीउ छर्न ढिलो हुन नदिन ध्यान दिन आवस्यक हुन्छ ।

अंकुरित बीउलाई ड्रम सिडरको प्वालबाट सजिलैसँग झर्नको लागि बीउ छर्नुभन्दा पहिला छहारीमा सुकाइन्छ। माटोको सतह चिसो रहने गरि हिल्याईएको खेतमा भएको धेरै पानीलाइ निकास गरिन्छl ड्रम अंकुरित बीउले भरिन्छ (३/४ भाग) र समान रूपले बीउ छर्न सिडर स्थिर गति कायम गर्दै खेतमा तानिन्छ। जराको विकास हुन र माटोमा बीउको सामिप्यता राख्न बीउ छरेको २- ३ दिनसम्म सिँचाइ गर्नु हुँदैन। तथापि बीउ छरेको तुरुन्तै पछि ठूलो वर्षा भयो भने भर्खरै छरेको बिउहरू बगाईदिन सक्छ ।

हिले छरुवा प्रविधीमा बालीको सफल स्थापना पछि खेतमा जमाएको पानीले खाद्यतत्वहरूको कमी (जस्तै, फलाम र जिंक) र माटोबाट सर्ने रोगहरू (जस्तै नेमाटोड्स) लाई हटाउँछ। बेर्ना हुर्किएपछि झारपातको अझ बढि नियन्त्रणको लागि खेतमा पानीको स्तर बढाउन सकिन्छ l लाईनमा धान छरिएको हुनाले झार हटाउनका लागि पंक्तिहरूक बीचमा परिमार्जित कोनोवीडरको प्रयोग गर्न सकिन्छ l यसरी कोनोवीडरलाई धान छर्दा ड्रम सिडर तानिएकै दिशामा संचालन गर्न सकिन्छ।

ड्रम सिडरको प्रयोगले १ हेक्टर जग्गामा २-३ व्यक्तिले ५-६ घण्टामा धानको बीउ छर्न सक्छन जबकि त्यतिकै जग्गामा धानको बेर्ना रोपाई गर्न ३०-४० व्यक्ति आवस्यक पर्छ l यस प्रविधिको प्रयोगले बीउ, पानी र श्रमको बचत हुनुको साथै उत्पादकत्व पनि सुधार हुने गर्छ।  यसरी उत्पादकत्व बढ्नुमा लाइनमा हुने रोपाई (पंक्ति र धानको गांजहरूको बीचमा २०x२० सेन्टीमिटर दूरी) र बालीको अग्रिम परिपक्वता (७ देखि १० दिनले)ले पनि उल्लेखनिय योगदान गरेको हुन्छनl लाईनमा लगाउँदा धानको बेर्नाहरूबीच ठाउँ, पानी, हावा र खाद्यतत्वको लागि कम प्रतिश्पर्धा हुन्छ l संगै बालीको अग्रिम परिपक्वताले गर्दा प्रजनन अवस्थामा पानीको अभाव बाट हुने तनाव कम हुन गइ उत्पादन बढ्ने गरेको छl ड्रम सिडिंगले धानको बेर्ना तयारी र त्यसपछि बेर्ना रोप्ने कामलाइ पूर्ण रूपमा हटाई खेती लागत कम गर्दछ l

  • निष्कर्ष

छरुवा धान खेती प्रविधिले श्रमको लागत मात्र हैन खेतीको कुल लागत पनि कम गर्दछ। यसले धान उत्पादनमा श्रमको आवश्यकता घटाएर श्रमिक अभावको समस्या समाधान गर्नुको साथै धान खेतीको झन्झटलाई पनि कम गर्दछ। धान उत्पादनमा जलवायु परिवर्तनको जोखिम कम गर्न तुलनात्मक र अझ बढी उत्पादनको साथ छरुवा धान खेती प्रविधी रोपुवा विधिको राम्रो विकल्प हुन सक्छ। छरुवा धान खेती प्रविधिको प्रयोगले ढिलो बेर्ना तयारी, ढिलो बेर्ना रोपाई, बुढो बेर्ना रोपाई, लामो खडेरी तथा उच्च तापक्रमले बेर्ना जलेर नष्ट हुनाले जग्गा बाँझो रहने जस्ता समस्याको अन्त्य हुन्छ। डुबानको कारण हुने क्षति पनि छरुवा प्रविधिको प्रयोगले कम गर्न सकिन्छ। त्यसैले बाढीको खतरा भएका क्षेत्रहरूका लागि पनि यो राम्रो विकल्प हुन सक्छ। छरुवा प्रविधीमा धानको बोटहरू बेर्ना रोपाई गर्दा लाग्ने झट्का र चोटपटकबाट जोगिन्छन । यस प्रविधीमा धानको राम्ररी विकसित जरा प्रणाली संगै चाडै र सफल बाली स्थापना हुन्छ l यो राम्ररी विकसित जरा प्रणालीले नै धान बालीलाइ बाढीसंग बढि सहनशील बनाउँछ ।

छरुवा धान खेती प्रविधीको प्रयोगले खडेरी र बाढी प्रति धानको संवेदनशीलता कम गर्दछ। उत्पादन र उत्पादकत्वको बृद्धिले कृषकहरूको खुद आम्दानी पनि बढाउँदछ र जलवायु जोखिमहरूको सामना गर्न उनीहरूको अनुकूलन क्षमता बढाउँदछ। आम्दानीमा बृद्धि, धानको उपलब्धता र उपयोगले खाद्य सुरक्षामा सुधार र छरुवा खेती प्रविधी अवलम्बन गरी जलवायु जोखिममा कमी आदिले जलवायु परिवर्तनको प्रभावसंग समानुकूलन गर्न मद्धत मिल्दछ ।

लेखक : रामप्रवेश चौहान कृषिविज्ञ हुन् ।