स्याउ प्रायः हिमाली भेगमा फल्ने स्वादिलो, स्वस्थकर एवं हामीलाई निकै आवश्यक पर्ने ताजा फल मध्ये एक हो । स्याउहरु पनि विभिन्न प्रजातीहरुका हुने गर्दछन् । त्यसमध्ये एउटा पर्छ, अन्ना स्याउ । जसको बैज्ञानिक नाम Malus alba हो । अन्ना जातको स्याउलाई सन् १९५० मा ईजरायलमा अब्बा स्टिनले  Ein Shemer kibbutz नामक संस्थामा विकास गरेका हुन्, भने यसलाई सन् १९५९ मा रिलिज गरि उत्पादन गर्न थालिएको हो । संस्थाको मुख्य उद्देश्य नै ईजरायल, ईरान, अमेरीका लगायत संसारका अन्य मरुभूमि जत्तिकै गर्मी हुने देशहरुमा पनि उत्पादन गर्न सकियोस् भन्ने थियो र फलस्वरूप उत्पादन पनि भईरहेको पाईएको छ ।

अन्ना स्याउलाई अलि फरक विशेषता बोकेको स्याउ भनेर पनि चिनिन्छ । प्राय: हिमाली भेगमा मात्र हुने, ६०० देखि ८०० घन्टा चिसो समय ( Chilling time ) आवश्यक पर्ने स्याउको अन्य प्रजातिको तुलनामा उष्ण क्षेत्रमा (तापक्रम २०°c देखि ४५° c) पनि राम्रो उत्पादन दिन सक्ने हुँदा अन्ना स्याउलाई बिशेष मानिन्छ । जाडो महिनामा मुस्किलै ठन्ड वा सो भन्दा कम तापक्रम हुने ठाउँहरु पनि यो स्याउलाई आनन्दसंग फलाउन सकिन्छ । खास गरेर यस स्याउलाई २०० देखि ३०० घन्टा मात्र चिसो समय भए पुग्दछ । कुनै पनि बिरुवाको कोपिला खुलेर फुल फुल्न, पातहरु पलाउन तथा फल लगाउनको निम्ति चिसो समयको निकै आवश्यक पर्दछ ।

अन्ना स्याउलाई छिटो बढ्ने एवं धेरै फल दिने स्याउ प्रजाती रुपमा समेत चिनिन्छ । अन्ना स्याउ मध्यम देखि ठूलो आकार सम्मको हुने गर्दछ र रङमा हल्का हरियो, पहेँलो तथा रातो ब्लस गरेको हुन्छ भने, स्वादमा गुलियो अलिअली टार्ट एवम् खाँदा कुरकुर गर्ने सेतो गुदि भएको हुन्छ । यो स्याउ सुर्यको पुर्ण ताप खोज्ने, धेरै प्रकारको माटोमा हुनसक्ने, उचाई अनि फैलावट पनि ठिक्क भएको, सुस्त विकासको बेला छाँट्काट गर्न सकिने पतझर प्रकारको बिरुवा पनि हो ।

अन्ना स्याउ स्व-परागसेचन  (Self-pollination) गर्न सक्ने स्याउको जातमा पर्दछ तरपनि यसलाई पर- परागसेचन (Cross-pollination)  गराएर उत्पादन बढाउन सकिन्छ । जसमध्ये नजिकै डोर्सेट गोल्डेन (Dorsett Golden) स्याउको जात लगाएर बाहिरी देशहरुमा पर- परागसेचनबाट थप उत्पादन हुने गरेको पाईन्छ । खासमा, अन्ना स्याउलाई गोल्डेन डेलिसियोस (Golden Delicious) स्याउकै प्रकारको रुपमा बनाईएको हुँदा धेरै गुणस्तर समेत मिल्न गएको कुराहरु पनि आएको छ । अन्ना स्याउ बसन्तको समयमा सेतो सुन्दर फुल फुल्ने र जेठको अन्तिम देखि असारको पहिलो हप्ता सम्म पाक्ने गर्दछ । फल टिपेपछी समेत दुई महिनासम्म स्टोर गरेर राख्न सकिने र थप फ्रीजमै पनि दुई हप्तासम्म राख्न सकिन्छ । हिमाली भेगको चिसो हावापानीमा मात्र हुने स्याउको एकाअधिकारलाई कम गरि सबै तिर विस्तार गर्ने उदेश्यले अन्ना स्याउको विकास भएको सुनिने गरेको छ । र अन्ना स्याउलाई विभिन्न खाना तथा पेय पदार्थहरुमा पनि लिन सकिन्छ, जस्तै स् सुप, सस, ससेज, बेकरी, केक, ब्रेड तथा ताजै पनि । यस स्याउमा केहि मात्रामा भिटामिन एु एण्ड बिु, फलाम, क्याल्सियम तथा फस्फोरस पाईन्छ, भने विभिन्न कच्चा पदार्थ सङ्गसङै मुटु रोग एवम् पाचन समस्याबाट बच्न बिशेष सहयोग गर्दछ ।

नेपालको तराई क्षेत्रमा अन्ना स्याउको खेती तथा संभावनालाई हेर्दा उत्पादनको सुरुवात भईसकेको कुरा विभिन्न सामाजिक संजालहरु फैलिरहेको देखिन्छ । एक साल अघि नेपालको रुपन्देहीको बुटवल र भैरहवामा प्राकृतिक रुपमा स्याउ फल्यो भनेर केहि समाचारहरु आएका थिए । नेपालका हिउँ परिरहने चिसा जिल्लामा गरिने स्याउ खेती गर्मि ठाउँमा सम्भव भएको हुँदा धेरै मानिसहरु चकित परेका थिए । विभिन्न समाचार माध्यमले बताए अनुसार, भैरहवाका एक जना कृषकले अस्ट्रेलियन नानो जातको स्याउलाई ल्याएर ब्यवसायिक उत्पादन सुरु गरेको कुरा बताएका छन् र बोट लगाएको पहिलो बर्ष मै फल दिन सुरु गरेको कुरा पनि जिकिर गरेका छ्न् । तर यसको बिपरित नेपाल कृषि अनुसन्धान परिषद्, खुमलटारले केही दिन अघि भैरहवामा उत्पादन भैरहेको यो स्याउले नेपालका पहाडी एवम हिमाली जिल्लामा उत्पादन भैरहेका स्याउलाई गुणस्तर टक्कर दिन नसक्ने र यसको आकार तथा स्वाद पनि मान्छेले त्यति धेरै नरुचाउने कुरा भने गरेको थियो । यसरी अनुसन्धान नभएका र सिफारिस नगरिएका जातलाई व्यावसायिकरण नगर्न अनुरोध समेत गरेको थियो । नार्कका बैज्ञानिकका अनुसार, भैरहवामा उत्पादन भैरहेको स्याउको जात भारतको HRMN- 99 हुन सक्ने र जुन जात भारत हिमाचलका किसान श्री हरिमान शर्माले विकास गरेको संगसंगै यस जातलाई चिलिङ तापक्रम पनि आवश्यक नपर्ने भएकोले भारतका विभिन्न भागमा यसको अनुसन्धान अगाडि बढिरहेको कुरा बताउनु भएको थियो । समाचारमा बताए जस्तो आरु र स्याउलाई कलमी गरेर यो जात तयार नपारिएको र उत्पादन सम्बन्धमा पनि केही भ्रमात्मक तथा गलत कुरा फैलिएको नार्कका बैज्ञानिकले बताउनु भएको हो ।

नेपालका पहाडी जिल्लामा केही साल पहिले परिक्षणका लागि अन्ना, भेरिड, ट्रपिकल ब्यूटि जस्ता जात रोपेर हेर्दा यसको गुणस्तर अरु चिसोमा फल्ने स्याउको गुणस्तर जती राम्रो नभएकाले त्यती लोकप्रियता नकमाएको कुरा पनि बाहिर आइरहेको पाईन्छ तर भैरहवामा उत्पादन भईरहेको स्याउको गुणस्तर असल र उत्पादन पनि राम्रो भयो भने हामी कृषिका बिद्यार्थी र कृषि बैज्ञानिकको लागि यो पक्कैपनि नयाँ अनुसन्धान र चासोको बिषय हुनेछ । तसर्थ, यो बिषयलाई अझै गम्भिर रुपमा लिई नार्कका फलफुल विभागका बैज्ञानिक र नार्क स्वयम् ले पनि यस बारे अनुसन्धान अगाडि बढाउन आवश्यक छ । यदि यसरी उत्पादन भएका स्याउको गुणस्तर असल नभएमा पनि स्याउलाई अन्य विधिको प्रयोगबट जाम तथा जेलि बनाएर पोस्ट हार्भेष्ट ( Post Harvest) उद्योग सुरु गर्न सकिने समेत सम्भावना देखिन्छ । नेपालमा बार्षिक रुपमा चीन तथा भारतबाट अरबौ रुपियाँको स्याउ आयात गरिने गरिन्छ भने देशमै उत्पादन भएका स्याउहरु भने भौगोलिक विकटताको कारण ढुवानी सेवा नपुग्नाले राम्रो बजार नपाउने र बोटमै कुहिएर जाने अवस्थाहरु सिर्जना हुने गर्दछन् । तसर्थ, यसको लागि पनि बिशेष पहल हुन जरुरी देखिन्छ । तर अन्ना स्याउको उत्पादन भने गर्मी समयमा अन्य स्याउको भन्दा चाडै हुनाले राम्रो बजार समेत पाउन सकिन्छ र साथसाथै यसको उत्पादन तराईको भु-भागमा हुने हुनाले ढुवानीका लागि यातायातका साधनको कुनैपनि समस्या हुँदैन । त्यसकारण, अफसिजन उत्पादन एवम् बजारिकरण गर्न सकियो भने कृषि क्षेत्रमा राम्रो मुनाफा लिन सकिनेछ ।

अन्ततस् गुणस्तरको हिसाबमा नेपालमा उत्पादन हुने स्याउको स्वाद अन्य देशको तुलनामा उत्कृष्ट हुने गर्दछ । नेपालका स्याउहरुमा तुलनात्मक रुपमा कम विषादिको प्रयोग गरिने हुनाले अर्गानिक स्वादले भरिपुर्ण हुन्छन् भने संगसङ्गै स्वास्थको दृष्टिकोणले पनि सुरक्षीत मानिन्छन् । अन्ना स्याउ हरेक कुरामा हिमाली भेगमा फल्ने स्याउ जत्तिकै उत्तम नभएपनि तराई क्षेत्रमा सजिलै उपलब्ध गराउन सकिने हुँदा नयाँ प्रविधि मार्फत फरक तरिकाले पनि अगाडि सार्न सकिन्छ । तसर्थ, अन्ना स्याउको लागि तराईका गर्मी जिल्लाहरु बाँके, रुपन्देही, चितवन तथा अन्य पुर्वी एवम् पश्चिमि जिल्लाहरुमा समेत यसको उत्पादन बढाउन निजि तथा सरकारी तवरबाट उचित पहल गर्नसके आयतलाई कम गरि नयाँ ब्यवसायलाई फस्टाउन सकिनेछ । जसको लागि संबंधित निकायहरु तुरुन्तै अघि बढेर आफ्नै देशको उत्पादनलाई प्राथमिकता दिई अर्थतन्त्रलाई मजबुत बनाउन अग्रसर हुनुपर्दछ ।

लेखक : ललित बि. सि. र महेश कुमार भण्डारी पक्लिहवा कृषि क्याम्पसका  विध्यार्थी हुनुहुन्छ । उहाँहरुले फार्मर्स फिल्ड स्कुल(FFS) संचालन गरेर विभिन्न कृषि संबंधित कामहरु पनि गरिरहनु भएको छ ।