
जैविक खेती भनेको स्वास्थ्य, वातावरण तथा मानव समुदायको कल्याण गर्ने खालको विभिन्न कृषि प्रविधिहरूद्वारा प्रयोग गर्दै खाद्यान्न वस्तुहरूको उत्पादन गर्नु हो। बालीनालीलाई नोक्सान पुर्याउने हानिकारक कीराहरुलाई गाउँघरमै पाउने वस्तुहरूको प्रयोग गरी कीरा तथा रोगहरूलाई नियन्त्रणमा ल्याउने विधिलाई जैविक कीटनाशक भनिन्छ। जैविक खेतीमा जैविक कीटनाशक प्रयोग गरिने हुँदा उत्पादन गरिएका खाद्य वस्तुहरू उपभोक्ताको स्वास्थ्यको दृष्टिले सुरक्षित हुन्छन्।
अहिलेको समयमा मानिसले दुःख गर्न खोज्दैनन् त्यसैले बजारमा रासायनिक कीटनाशक सजिलै पाउन सक्ने हुँदा किनमेल गरेर बालीमा प्रयोग गर्दछन् । कीराहरुको नियन्त्रण गर्ने क्रममा प्रयोग गरिएको रासायनिक कीटनाशकले गर्दा मानव स्वास्थ्य, पर्यावरणीय सन्तुलन र जैविक विविधतामा गम्भीर संकट उत्पन्न भएको पाइन्छ। बजारमा पाइने विभिन्न मल अथवा विषादीको कारण दिन प्रति दिन खेती योग्य भूमि बिग्रिँदै गएको छ। कृषि उत्पादन वृद्धि सँगै त्यसलाई स्वच्छ तथा स्वस्थ उपयोगी बनाउनु पनि प्रमुख कर्तव्य महसुस गर्दै जिम्मेवारी पूर्वक रासायनिक पदार्थको प्रयोग कम गर्दै सजकता अपनाउनु आजको आवश्यकता बनेको पाइन्छ।
गाउँघरमै रहेको विभिन्न वस्तुहरूले जैविक प्रविधिबाट बाली बिरुवामा लाग्ने कीरा र रोगहरूको नियन्त्रण गर्ने थुप्रै उपायहरू छन् :
१. पहेँलो टाँसिने पासो (Yellow Sticky Trap):
पहेँलो पासो बनाउन गत्ता (cardboard) अथवा खाली टिनको भाँडो प्रयोग गर्न सकिन्छ। त्यसपछि यसलाई पहेँलो रँग लगाई सुक्नको लागि केही समयको लागि छोडिन्छ।
रङ्ग लगाएको गत्ता तथा टिनको भाँडोको वरिपरि चिप्लो पार्नको लागि ग्रीस (grease) लगाइन्छ। बाँसको डन्डाको सहायताले तयार पारिएको (grease) लाई खेत बारीमा लगेर खडा गरिन्छ। यसरी तयार गरिएको yellow sticky trap को पहेँलो रङ्गमा कीराहरु आकर्षित हुँदै नाश हुन्छन्। यसलाई खास गरि लाही कीरा (aphids), सेतो झिंगा आदी जस्ता कीरा फट्याङ्ग्राको नाश गर्न प्रयोग गरिन्छ। पर्ती रोपनी जमिनमा ४-५ वटा yellow sticky trap राख्न सकिन्छ।
२. मोहनी पासो (Cue Lure Trap):
खेतबारीमा काँक्रो, फर्सी, करेलो, घिरौँलो जस्ता तरकारी लगाउँदा एकदमै ध्यान पुर्याउनुपर्ने हुन्छ। यस्तो फल कुहाउने औँसाले समस्या निम्त्याएको पाइन्छ। पोथी झिंगाले फलमा घोचेर भित्र फुल पार्दछ। यी फुलबाट मसिना औँसाहरु निस्किन्छन् र भित्र फल खान्छन् जसले गर्दा फल कुहिएर झर्छ। यसको रोकथामको लागि सबैभन्दा राम्रो उपाय भनेको (Cue lure trap) मोहनी पासो हो ।
भाले कीरालाई आकर्षण गर्ने क्युलियरु नामक रसायन राखिएको बोतललाई मोहनी पासो भनिन्छ। उक्त रासायनको गन्ध पोथी कीराको जस्तै हुन्छ। रसायनसँगै बोतलमा २/३ थोपा मालाथियन वा पानी राखिन्छ। भाले कीरा पोथीको गन्ध सुँघदै बोतलभित्र पस्छ र ती कीरा बाहिर निस्किन सक्दैनन् र त्यहीँ फसेर मर्छन्। भाले-पोथीको सम्पर्क हुन नसकेपछि अन्य लार्भा जन्मिन पाउँदैन। तसर्थ भाले कीरालाई मार्न सके तरकारीमा अन्य कीरा आफैँ हराउँछन्।
३. डट्रि ट्रयाप (Dirty Trap):
धानमा लाग्ने पतेरो कीराहरुलाई नियन्त्रण गर्न डट्रि ट्रयापको प्रयोग गरिन्छ। पतेरो कीरालाई गन्धी कीरा पनि भनिन्छ। यसको माउ र बच्चा दुवै नै हानिकारक हुन्छन्। यस कीराले धानको पात, कलिलो भाग साथै कमलो बालाहरूलाई चुसेर नोकसानी पुर्याउँछ। भर्खरै पलाउन लागेको धानबाट रस चुस्दा दानाभित्र दूध भरिन पाउँदैन र दाना फुस्रो बन्छ। यस्तो अवस्थामा पतेरो लागेको दानाहरू टुक्रिएर कनिका बन्दछन्।
पतेरो कीराको व्यवस्थापन गर्न गाइभैंसीको ताजा मलमुत्र संकलन गरिन्छ। त्यसमा जुटको बोरा अथवा पुरानो कपडालाई ३-४घन्टाको लागि भिजाएर एउटा लट्ठीको छेउमा बाधिन्छ र उक्त लट्ठीलाई धानबारीको बीचमा लगेर गाड्ने गर्नुपर्दछ। ट्रयापमा कीराहरु आकर्षित भई झुम्मिन्छन्। यसरी बोरामा टाँसिएको कीरालाई प्लाष्टिकको झोलाले छोपी संकलन गरी नष्ट गर्न सकिन्छ।
४. मिथाइल यूजेनोल (Methyl Eugenol):
फलफूल बालीमा लाग्ने औंसा कीराको नियन्त्रण गर्नको लागि फेरोमन ट्रयापको प्रयोग गरिन्छ। फेरोमन ट्रयाप बनाउँदा बोतलमा अगाडि र पछाडि एक इन्च गोलो आकारको प्वाल पारिन्छ। बोतललाई अडाउनको लागि तारको प्रयोग गरिन्छ। बोतल भित्रको तारलाई कपासले उनेर त्यसमा मिथाइल यूजेनोल र मालाथियन झोल राखेर बारीमा झुन्ड्याउनु पर्दछ।
फेरोमनको गन्धले भाले कीराहरु आकर्षित भइ बोतल भित्र पस्छन् र बाहिर निस्किन नसकेर त्यहीँ मर्ने गर्दछन्। त्यसपछि पोथी कीराहरुले बतासे फुल पार्दछन् जसबाट बच्चाहरू जन्मन सक्दैनन्। यसको प्रयोग गरेको हरेक महिनामा मालाथियन झोल बट्टामा राख्नु पर्दछ। बालीमा फल कुहाउने औसा बाट बच्नको लागि फेरोमन ट्रयाप प्रति कट्ठा तीन-चार ओटाको दरले राखिन्छ भने फलफूल बालीमा फेरोमन ट्रयाप प्रति कट्ठा दुई वटाको दरले राखिन्छ।
५. नीम :
नीम एउटा आयुर्वेदिक औषधि हो। नीम एन्टिसेप्टिक, एन्टिबायोटिक, कृमिनाशक, जीवाणुरोधी, फंगलविरोधी हुन्छ। यसको प्रयोगले खपटे कीरा ,धानको पात खाने कीरा ,पात बेरुवा, बन्दाको गवारो, लाही कीरा आदि जस्ता धरै प्रकारका कीराहरु मार्न अथवा नियन्त्रणमा ल्याउन सकिन्छ। नीमलाई धेरै तरिकाबाट जैविक कीटनाशकको रूपमा प्रयोग गर्न सकिन्छ । दुई किलोग्राम जति नीमको पातलाई पाँच लिटर पानीमा मिसाएर हरियो पानी हुने बेलासम्म पकाउनु पर्छ। त्यसलाई सेलाएपछि कीटनाशकको रूपमा प्रयोग गर्न
सकिन्छ। त्यसैगरी नीमको बीउको बोक्रा हटाएर न बीउलाई राम्ररी पिसिन्छ। ०.५-१ किलोग्राम नीमको बीउलाई पातलो कपडामा राखि २० लिटर पानीमा करिब १२ घण्टासम्म राखिन्छ। त्यसपछि त्यसलाई निचारेर दुई ग्राम साबुनको धूलो मिसाई राम्रोसँग चलाएर कीटनाशक औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। यसरी नीमको प्रयोगले धेरै प्रकारका हानिकारक कीराहरुको व्यवस्थापन हुन्छ।
६. झोलमल :
अमिलो,तीतो, टर्रो स्वाद भएका विभिन्न किसिमका वनस्पतिहरू जस्तै बकाइनो, नीम, तितेपाती, असुरो, बोझो,सुर्ती, केतुके, बनमारा लहरे तरकारीका पातहरू तथा गाईभैंसीको पिसाब, गोबर प्रयोग गरी बनाइएको मललाई झोल मल भनिन्छ। झोल मलले बिरुवालाई खाद्य तत्त्व दिनुका साथै रोग र कीराको प्रकोपबाट बचाउने हुँदा स्वस्थ बिरुवा उत्पादन गर्न मद्दत पुर्याउँछ। जसले बढ्दो रासायनिक मल प्रयोगमा कमी ल्याई त्यसले पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्दछ। झोल मल तयार गर्न चाहिने आवश्यक सामग्रीहरू हाम्रै गाउँ ठाउँमा उपलब्ध हुन्छ जसले माटोको उर्वरा शक्ति बढाउने काम गर्दछ। स्थानीय स्तरमा पाइने तीतो, टर्रो, पिरो, अमिलो इत्यादि स्वाद आउने हरियो बोट बिरुवा अनि काँचो गोबर, खरानी, गाईवस्तुको गहुँतको प्रयोग गर्दै गाउँघरमै बनाउन सकिन्छ। हामीले केही मात्रामा ई एम को पनि प्रयोग गर्नु पर्दछ जसले तयार गराउन राखिएको मिश्रणलाई छिटो कुहाउने काम गर्दछ।
झोल मल बनाउने बेलामा हामीले ससाना कुराहरूमा ध्यान दिनुपर्छ जस्तै मसिनो पारेर भाँडामा राखिएका टुक्राहरूलाई राम्रो सँग चलाउने, भाँडोमा बिर्को लगाएर बिहानदेखि
बेलुकासम्म घाममा राखिदिने (यदि बिर्को राम्रो सँग नलागे हावा छिर्ने भएकाले ढुसी लागेर बन्दै गरेको मल पनि बिग्रिन्छ र ढुसी दनक रोगहरू लाग्न सक्छ), गर्मी समयमा यसरी बनाएको झोल मल १ हप्तामा प्रयोग गर्न योग्य हुन्छ भने जाडो समयमा २ हप्ता मा प्रयोग गर्न योग्य हुन्छ। घाममा राखेर दिनैपिच्छे चलाउनु पर्दछ। यसरी तयार गरिएको विषादी एकदमै हुने भएकाले यसको प्रयोग गर्दा सकेसम्म पन्जा र माक्स लगाउने तथा खानेकुरामा हात नलग्ने जस्तो सतर्कता अपनाउनु पर्दछ अनि प्रयोग गरिसकेपछि राम्रो सँग प्रयोगमा आएका सामग्रीहरू धोएर राख्नु पर्दछ। माटोमा चिस्यान कायम राख्ने र कीराबाट समेत बालीलाई बचाउने भएकाले यसलाई कीरा लाग्ने समयमा पटक – पटक छर्नु पर्दछ।
७. मानव मुत्र :
मानव मुत्र प्रभावकारी मल हो। बोट बिरुवालाई चाहिने तत्वहरु मानव मुत्रबाट पाइने भएकोले रासायनिक मलको सट्टा मुत्र उपयोग गरिएको छ। बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन, फास्फोरस, पोटासियम जस्ता तत्व मानव मुत्रमा हुने भएकोले तरकारी तथा फलफूल खेतीमा यसको प्रयोग निकै प्रभावकारी छ । लाही कीराले तरकारीहरूमा बढि क्षति पुराएको पाइन्छ । यो कीरालाई नियन्त्रणमा ल्याउन सरल र सजिलै उपलब्ध हुने जैविक कीटनाशक मानव मुत्र हो। यसले सिधै लाही कीरालाई मार्ने गर्दैन तर यसको गन्धले खाना अरुचि गराउने भएकाले यसको बारम्बार प्रयोगले लाही कीराको व्यवस्थापन गर्न सकिन्छ ।
मानव मुत्र र पानीलाई मिश्रण गर्दै प्रयोग गर्ने यो विधिले तरकारी फलफूलमा कीरा नलाग्ने, उत्पादन राम्रो हुने र माटोको उर्वराशक्ती बढ्ने कारणले यस विधिको प्रयोग प्रभावकारी हुन थालेको छ। मानव मुत्रलाई खेतबारीमा मलको रूपमा प्रयोग गर्दा बिरुवाको जरामा हाल्ने हो भने एक भाग मुत्रमा तीन भाग पानी र माथि पातबाट हाल्ने हो भने एक भाग मुत्रमा दश भाग पानी मिसाएर हाल्नु पर्दछ। मनमुत्रको प्रयोग काँचै खाने तरकारीमा टिप्ने बेला लगाउनु हुँदैन भने बाँकी सबै बालीमा लगाउँदा तरकारी राम्रो उत्पादन हुने गरेको छ।
८. दूध दहीर महीको घोल :
फर्सी, भिन्डीजस्ता तरकारीको पातमा भाइरसबाट लाग्ने रोग देखा पर्छ जसलाई हामीले (Yellow mosaic disease/ virus) छिर्केमिर्के रोग भन्छौ। यो रोग सेतो झिंगाले सार्ने गर्दछ। त्यसैले बोटबिरुवाहरुलाई भाइरसबाट लाग्ने रोगहरूबाट बचाउनको लागि एक लिटर पानीमा १०० मिलि मिटर गाईवस्तुको दूध मिसाएर बारीमा छर्किनु पर्दछ। छिर्केमिर्के रोग लागेको बोटलाई तुरुन्त जलाउन वा गाड्नुपर्छ।
९. वकाइनो :
वनजङ्गल र हाम्रै खरबारीहरुमा पाइने बकाइनोलाई पनि जैविक कीटनाशकको रूपमा प्रयोग गर्न सकिन्छ। बकाइनोको फल र सुकेको पातलाई राम्ररी पिसेर धूलो बनाउने र १ किलोग्राम बकाइनोको धूलोलाई पातलो कपडामा राखी २४ घण्टा सम्म १० लिटर पानीमा भिजाएर तयार पारिएको झोललाई बन्दाको पुतलीको लाभ्रेहरूमा छरेर तिनिहरूलाई नष्ट गर्न सकिन्छ ।
१०. माटोमुनि पाइने कीराहरूलाई नियन्त्रणमा ल्याउनको लागि बनमारा, तितेपाती, बकाइनो, बोझो, सुर्ती जस्ता वनस्पतिहरूलाई मसिना टुक्राहरू हुने गरि काटेर बालीनाली लगाउनु भन्दा हप्ता-दश दिन अगाडि माटोमा राखेर खन्न सकिन्छ।
नेपालमा व्यावसायिक जैविक खेतीलाई रोजगारीको मुख्य आधार बनाउन सकिन्छ। जैविक खेती र जैविक कीटनाशक बाट वातावरण संरक्षण हुनुको साथसाथै मानव स्वस्थमा पनि अनुकूल प्रभाव पर्छ।
लेखक : निलम शर्मा (पूर्वाञ्चल कृषि क्याम्पस )