म्याग्दी। ‘बन्दाबन्दी’का कारण कृषि कामका लागि कामदार पाउन छाडेपछि म्याग्दीका कृषक आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुन थालेका छन् ।

कोरोना भाइरसको प्रकोप र लकडाउनका कारण दैनिक ज्यालादारी काम गर्ने मान्छेको कमी भएपछि कृषकले आधुनिक कृषि प्रविधि प्रयोग गर्न थालेका हुन् । खेतबारी जोत्न गोरु पाउन तथा दैनिक काम गर्ने मान्छे नपाउँदा आधुनिक प्रविधि रोजेको बेनी नगरपालिका–२ बगरफाँटका किसान सागर खत्रीले बताउनुभयो । “अहिले खेतबारी जोत्न कामदार नै छैनन्, लकडाउनका कारण भएका कामदार पनि आउँदैनन्”, उहाँले भन्नुभयो, “कामदार र गोरु पाउन नसकेपछि आधुनिक औजारतर्फ आकर्षित भएको हुँ ।”

पछिल्लो समय जिल्लाका शहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म खेतबारी जोत्न गोरुको सट्टा आधुनिक औजार (हाते ट्र्याक्टर, ट्र्याक्टर) प्रयोग हुन थालेको छ । गोरुले जोत्दाभन्दा आधुनिक औजार प्रयोग गर्दा सजिलो र काम छिटो हुने भएकाले धान रोप्ने, गहुँ काट्ने, गहुँ झाँट्नेलगायत मेसिनको प्रयोग हुन थालेको मल्लरानी मङ्गला गाउँपालिका–१ का तुलाराम सापकोटाले बताउनुभयो । खेतबारी जोत्न आधुनिक प्रविधि आएपछि काममा सहज भएको र श्रम तथा लागत घटेको उहाँले बताउनुभयो । पछिल्लो समय गाउँका युवा विदेशिँदा काम गर्ने मानिसको अभाव भएको र यसले हाते ट्र्याक्टरको प्रयोग बढेको उहाँको भनाइ छ ।

केही समययता केन्द्र, प्रदेश सरकार र स्थानीय तहले आधुनिक औजारको प्रयोगमा प्रोत्साहन तथा अनुदानमा औजार दिन थालेपछि यसको प्रयोग बढ्दै गएको हो । म्याग्दीका स्थानीय तह, विभिन्न सङ्घसंस्था र प्रदेश सरकारको ५० र ७५ प्रतिशत अनुदानमा मिनी टिलर, गहुँ, धान थ्रेसर, चापकटरलगायत कृषि औजार वितरण गरेका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गरेर व्यावसायिकीकरण गर्न थालेपछि परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक कृषि प्रणालीतर्फ किसान अग्रसर हुन थालेका छन् ।

गतवर्ष जिल्लाका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा प्रदेश सरकारले ५० र ७५ प्रतिशत अनुदानमा म्याग्दीका १२७ कृषि समूहलाई कृषि औजार वितरण गरेका थिए । यस वर्ष पनि केही वितरण गरेको र बाँकीलाई वितरण गर्ने तयारी भइरहेको स्थानीय तहले जानकारी दिएका छन् ।

उत्पादन बढाउन तथा कृषिलाई व्यावसायिकीकरण गर्न परम्परागत तरिकाले खेतीपाती गरेर नहुने म्याग्दीका स्थानीय तहले बताएका छन् । कृषिमा आधुनिक औजारको प्रयोगले उत्पादनमा वृद्धि हुने तथा उत्पादन लागतमा कमी आउने मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

“आधुनिकीकरणका लागि आधुनिक उपकरण आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “यस्ता सामग्रीको प्रयोगले श्रम र लागत दुबै घटाउँछ भने उत्पादन बढाउन सघाउ पुग्छ ।” कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जान थालेपछि कृषि उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।