हेटौंडा। बागमती प्रदेशले कोभिड—१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने भएको छ ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गर्दै बैंकहरुबाट न्यून व्याजदरमा ऋण उपलब्ध गराइने बताए ।

यसका साथै प्रदेश सरकारले कृषि, पशुपक्षी र मत्स्य क्षेत्रको आधुनिकिकरण र औद्योगीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिने नीति लिएको छ । बागमती प्रदेशले बाँझो जमिनको प्रयोग गरी उत्पादनमा सहयोग पु¥याउन स्थानीय तहको समन्वयमा विशेष प्याकेज ल्याउने, दुध र दुग्धजन्य वस्तु उत्पादन गर्ने किसानलाई प्रतिलिटर १ रुपैयाँ अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । खाद्य स्वच्छता कायम गर्न कृषि थोक बजारमै विषादीको परीक्षण गरेर पैठारी गर्ने, धान, मकै, गहुँ, कोदो लागयतका बालीको उत्पादकत्व वृद्धिका विशेष अनुदानको व्यवस्था मिलाइने भएको छ ।

प्रदेश सरकारले शहीद, वेपत्ता, घाइते र अपाङ्गता भएका परिवारलाई ‘द्वन्द पीडितका साथ प्रदेश सरकार’ कार्यक्रम अन्तर्गत सीप अभिवृद्धि र रोजगारीका अवशर उपलब्ध गराउने नीति पनि लिएको छ । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले आफ्नै सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालन गर्ने, रेडियो टेलिभिजन अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण नियमन र अनुगमनलाई प्रभावकारी बनाएर प्रोत्साहन गर्ने नीति पनि लिएको छ ।

प्रदेश सरकारले विदेशबाट फर्किएका वा स्वदेशमा रहेका, कृषि र पशुपंक्षी विषय अध्ययन गरी बेरोजगार बसेका युवाहरुलाई कृषि पेशामा आवद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार कार्यक्रम सञ्चलन गर्ने नीति पनि सरकारले लिएको छ ।