सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रवद्र्धन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रवद्र्धन गर्ने’ उल्लेख गरिएको छ ।

देशभर उत्पादनशील जमिन ठूलो मात्रामा बाँझो भइरहेको बेला विशेषतः सहरी क्षेत्रमा प्रचलित यो नीतिले अर्थतन्त्रमा कति योगदान देला ? यसको अध्ययन हुन बाँकी नै छ । तर, विगत केही वर्षदेखि राजधानी लगायतका सहरी क्षेत्रमा यसले निकै स्थान पाइरहेको छ । विश्वव्यापी महामारीका कारण सिर्जना भएको अहिलेको वातावरणमा सहरी क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि घरमा कौसी खेती समय कटाउने र खाँचो टार्ने उत्तम विकल्प हुन सक्छ ।

कौसी खेतीमा माटो तथा मलखाद व्यवस्थापन :
कोभिड-१९ को महामारीको यो समयमा कृषि र कृषिजन्य गतिविधिबारे बहस चुलिदो छ । काठमाडौं उपत्यका लगायतका केहि शहरमा विस्तारै लोकप्रिय हुँदै गएको कौसी खेतीले यतिबेला धेरैको ध्यान खिचेको छ । आफ्नो घरको छत, कौसी र बरण्डामा स्थानीय स्रोत र साधनको उपयोगबाट दैनिक उपभोगको लागि आवश्यक तरकारी, फलफूल, मसलाबाली आदिको स्वस्थ एवं विकार रहित उत्पादनका लागि कौसी खेती महत्त्वपूर्ण छ ।

रहरको रुपमा सिमित कौसी खेती यति बेला विशेषगरी कृषि भूमिको अभाव हुने शहरी क्षेत्रमा अनिवार्य आवश्यकता जस्तै बन्दै गैरहेको छ तसर्थ यस खेतीको बारेमा आधारभूत तौरतरिका जान्नु आवश्यक छ । यस लेखमा भने कौसी खेतीमा माटो तथा मलखादको उचित व्यवस्थापनबारे जानकारी प्रस्तुत गरिएको छ ।

माटो तथा मल कस्तो हुनुपर्छ ?
१. हलुका र खुकुलो माटो हुनुपर्ने
२. सामान्यतया मलिलो माटो वा जङ्गलको माटो २ भाग, कम्पोस्ट मल १ भाग र बालुवा १ भागको सम्मिश्रण
३ . माटोको प्रकार अनुसार मल र बालुवाको मात्रा मिलाउन सकिने
४. पछिल्लो समयमा माटोको सट्टा पानी धेरै सोस्न नसक्ने र हलुका हुने नरिवलको जटाको बाहिरी कभर (कोको पिट), काठको धुलो धान, गहुँको भुस आदि र कम्पोस्ट मलको प्रयोग राम्रो देखिएको छ
५. माटो खुकुलो र मलिलो बनाउन गड्यौले मल, नरिवलको जटा (मधुमति पनि भनिने नरिवलको जटा विभिन्न नर्सरीहरुमा समेत पाइन्छ), झ्याउ आदिको प्रयोग गर्न सकिने
६. मलखाद व्यवस्थापनको लागि कम्पोष्ट मल, गमला मल, गड्यौले मल, हाडको धूलो, पिना, आदिको प्रयोग गर्ने
७. कम्पोस्ट मल राम्ररी पाकेको हुनुपर्ने
८. भान्साबाट निस्केको सजिलै कुहिने फोहोरलाई स-सानो टुक्रा बनाई कम्पोस्ट बिनमा राम्ररी कुहाएर बनाइएको गुणस्तरीय मल प्रयोग गर्ने सकिने (खानेकुरा मात्रको बढी प्रयोग गर्दा बाक्लो भई दुर्गन्ध आउने र मल गुणस्तरहिन हुन सक्छ तसर्थ केहि कागजका टुक्रा, सुकेका पात, केहि जोडन आदिको प्रयोग गर्नुपर्छ । उक्त बिनको तल फेदमा स-साना सुकेका काठका टुक्रा, घाँसका टुक्रा एवं हरिया र सुकेका पात राखेपछि खाने कुराहरु राख्नु पर्छ र इ.एम. झोलको समेत प्रयोग गर्दा छिटो कुहिन सहयोग पुग्छ । यसरी राखेपछि एक हप्ताको फरकमा चलाउने गर्नुपर्छ र २-३ महिनामा कम्पोस्ट बिनमा मल तयार हुन्छ ।)
९. एक हप्तामामै तयार हुने जापानी बोकासी मल प्रयोग गर्ने सकिने
१०. रासायनिक मलको प्रयोग गर्नु परेमा करिव २० ग्राम डि.ए.पी. र १५ ग्राम म्यूरेट अफ पोटास प्रति १० किलोग्राम मिश्रणमा मिसाउन सकिने

माटो कसरी तयार पार्ने ?
१. मलिलो माटो ल्याई डल्ला फोरेर सफा गरी अन्य टुक्राटाक्री, छेस्का, ठुटाठाँटि , गिर्खा आदि केलाएर सफा बनाउने
२. गेगर नमिसिएको राम्रो बालुवा चाल्ने र राम्रोसँग पाकेको कम्पोष्ट मल वा गोबर मल धुलो पार्ने
३. समान आयतनमा माथि भने जस्तै माटोको मिश्रण तयार पार्ने
४. बलोटे माटो छ भने बालुवा नमिसाए पनि हुने
५. लगातार खेती गरिरहँदा प्रयोगमा ल्याएको माटोमा रहेको प्राङ्गारिक पदार्थको मात्रा घट्न जाने हुनाले प्रत्येक बाली लगाउँदा प्राङ्गारिक पदार्थ तथा नयाँ माटो थप्नुपर्ने
६. भाँडो वा कुनै संरचनामा उक्त माटोको समिश्रण भर्नु भन्दा पहिले साना साना ईंटाका टुक्रा वा गेगर भाडोका प्वाल वरपर पाँच सेन्टिमिटर जति राख्ने
७. उक्त माटो भर्दा भाँडो पुरै नभरेर केहि ठाउँ खाली राख्ने (यसो गर्दा पानी वा अरु केही आवश्यक चीज थप्दा पोखिने र बाहिर निस्किने समस्या नहुने र समय समयमा मल वा अन्य केही थप्नु परेमा भाँडोमा सजिलैसँग अटाउन सकिने)
८ . भरेको माटोलाई एक पटक हजारीले राम्ररी भिज्ने गरी पानी दिई केही ओभाएपछि विरूवा सार्ने
९. गमला, प्लाष्टिक जस्ता संरचनामा सारेको बिरूवालाई पटक पटक हेरचाह र हल्का गोडाई गर्ने र झार उम्रन नदिने
१०. प्रत्येक बोटलाई साना साना करिब १ मिटर लामो बाँसको कप्टेरा वा लठ्ठी गाडी सहारा दिने तथा लहरे बालीलाई डोरीको सहायताले थाँक्रा दिने
११. बेर्ना रोप्ने बित्तिकै निमको झोल वा ट्राइकोडर्मा प्रयोग गर्दा किरा नियन्त्रणमा सहयोग पुग्ने
१२. तरकारी बालीमा खाद्य तत्वको कमी देखिने हुँदा हरेक १५ दिनको फरकमा एक एम.एल. भेजिमाक्स दुई लिटर पानीमा मिसाएर छर्द उपयुक्त हुने
१३. पानीको आवश्यकता धेरै हुने भएकोले माटो सुक्न नपाउने गरी प्रत्येक दिन वा एक दिन बिराएर माटो नबगाउने किसिमले पानी हाल्नु पर्ने
१४. बिरूवा राम्ररी सरेपछि करिव १० दिनको फरकमा २-३ पटक १ लिटर पानीमा ४-५ ग्राम युरीया घोलेर प्रत्येक बोटमा आधा लिटरको दरले सिंचाई गर्न सकिने
१५. चर्को घाममा प्लाष्टिक तथा भाँडा तातेर बिरूवा ओइलाउन लाग्दा छहारी तिर सार्ने
यसरी माटो तथा मलखादको विभिन्न स्रोत र प्रयोग गर्ने तरिका अपनाएर कौसी खेतीबाट स्वस्थ, ताजा र विकार रहित तरकारी तथा फलफूल उत्पादन गर्न सकिन्छ घर परिवारको उचित रेखदेखमा सजिलै र कम लागतमा गर्न सकिने र घरमा हरियाली समेत बढाउने कौसी खेती अपनाएर मौसम अनुसारको तरकारी र फलफूलको स्वाद चाख्दै विशेषगरी शहरका बासिन्दा आत्मनिर्भर तर्फ लाग्ने कि ?

लेखक : कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा माटो विज्ञान स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ ।