ललितपुर। सरकारले कृषि उत्पादनलाई अबको १० वर्षमा अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको छ ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउन कृषिमा व्यवसायीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने बताउनुभयो ।
उहाँले कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो वर्षका लागि ठूलो लगानी गर्न लागिएको बताउनुभयो । कृषिलाई व्यवसायीकरणका लागि पूर्वाधाधार विकास अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।
हरेक पालिकामा किसानको सूचीकरण हुने :
सरकारले सबैखाले जमिनलाई खेर जान नदिने र कृषि उत्पादन बढाउने नीति कार्यान्वयनमा ल्याउने भएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा रसायनिक मल, उन्नत मल र बिउको आपूर्ति सहज बनाउने र किसानको उत्पादनको बजार सुरक्षित गर्ने उल्लेख छ ।
सरकारले हरेक किसानलाई सम्बन्धित पालिकामा सूचीकरण गर्ने र आवश्यकताअनुसार अनुदान दिने भएको छ । कृषक हुनुमा गर्व हुने अवस्था ल्याउने, कृषि उत्पादनको लागि आवश्यक बाटो, बिजुली, शीतभण्डार र बिक्री केन्द्रलगायत सेवा पुर्याउने उल्लेख छ ।
एउटा प्रयोजनको लागि एउटै तह या निकायबाट मात्रै अनुदान दिने र अनुदानमा भएको दोहोरोपन हटाउने पनि राष्टपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममार्फत घोषणा गर्नुभएको छ ।
थप केहि कार्यक्रमहरु :
१. काठमाडौं उपत्यकामा कौशी खेती प्रर्वद्धन कार्यक्रम संचालन गरिने ।
२. माटो प्रयोगशाला विस्तार गरिने ।
३. बाली लगाउनु अगावै प्रमूख खाद्य बालीहरुको न्यूनतम मूल्य निर्धारण गरिने ।
४. प्रत्येक प्रदेशमा खाद्य घर स्थापना गरिने ।
५. भूमि बैंकको स्थापान गरिने ।
६. बाँझो जग्गामा करार खेती कार्यक्रम संचालन गरिने ।









