बुटवल। कोरोना महामारीले मारमा परेका किसान लक्षित गरेर प्रदेश ५ सरकारले ५१ करोडको अनुदान कार्यक्रम ल्याएको छ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ५१ करोड १४ लाखको कोभिड–१९ विशेष कृषि कार्यक्रम स्वीकृत गरेको हो। कोरोना पीडित ४१ हजार ४ सय किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

दूध, कुखुरापालक, कृषि उपज, बीउबिजन उत्पादन र विदेशबाट फर्किएकालाई कृषिमा लागउने गरी कार्यक्रम बनाएको छ। यो कार्यक्रम अन्तर्गतको बजेट साउन मसान्तभित्र सक्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ।

कार्यक्रम अन्तर्गत कृषि उपज विक्रीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्सका लागि ३४ लाख छुट्याइएको छ। बेमौसमी आलु उत्पादनका लागि १ करोड २० लाख छुट्याइएको छ। गुल्मी, प्युठान, रुकुम, र रोल्पामा केन्द्रीत हुने कार्यक्रमबाट ५ सय किसान लाभान्वित हुने जनाइएको छ।

त्यस्तै व्यवसायिक तरकारी खेतीका लागि १४ करोड रुपैयाँ छुट्याइएको छ। सात हजार किसान लाभावन्ति हुने गरी दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र रुकुममा यो कार्यक्रम लागू हुनेछ।

विदेशबाट फर्किएकालाई व्यवसायिक खेतीमा प्रोत्साहन गर्न २१ करोड ८० लाख खर्च गर्ने निर्णय भएको छ। प्रदेशका १ सय ९ वटै पालीकामा प्रतिकिसान २० हजारका दरले १० हजार ९ सय किसानलाई अनुदान दिइने जनाइएको छ। बोइलर किसान लक्षित कार्यक्रमका लागि ७ करोड बिनियोजन गरिएको छ। २ हजार किसानलाई ३५ हजारका दरले अनुदान दिइने भएको छ।

दूध उत्पादक किसानले प्रति लिटर १० रुपैयाँ अनुदान पाउने निर्णय गरिएको छ। ४० दिनमा उत्पादन भएको दूधको अनुदान दिन २ करोड ८० लाख बिनियोजन गरिएको छ। त्यस्तै बीउ उत्पादक किसान लक्षित ४ करोड छुट्याइएको छ। राहत कार्यक्रम कृषि भूमिव्यवस्था तथा सहकारी मन्त्रालय मातहतबाट किसानहरुले पाउनेछन्।