तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले शुरु गरेको जग्गा बाँझो नराख्ने अभियानमा किसानले साथ दिएका छन् ।

बाँझो रहेका जग्गाको सदुपयोग गर्दै खेती गर्दा वडा कार्यालयले अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएका हुन् ।

तरकारी खेतीमा अनुदान दिने घोषणापछि यहाँका किसानले बाँझो रहेका जग्गामा तरकारी खेती शुरु गरेका छन् । उक्त वडाको लालिम निवासी टेकनारायण पौडेलले साढे तीन रोपनी क्षेत्रफलमा शनिबारदेखि तरकारी खेती शुरु गर्नुभएको छ ।

पर्याप्त सिँचाइको अभावमा विगत १७ वर्षदेखि बाँझो रहेको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने पौडेलले जानकारी दिनुभयो । “अहिले सिँचाइको सुविधासमेत पुगेको र किसानलाई प्रोत्साहित गर्ने नीतिले तरकारी खेती गर्ने प्रेरणा मिलेको छ”, उहाँले भन्नुभयो ।

सोही वडाको लालिममा केही किसानले समूह गठन गरी सामूहिक तरकारी खेती शुरु गरेको अन्नपूर्ण टोल विकास संस्थाका अध्यक्ष रमेश महतले जानकारी दिनुभयो ।

उक्त ठाउँमा रहेको सात रोपनी सार्वजनिक जग्गामा सामूहिक तरकारी खेती गरिनेछ । बन्दाबन्दी लम्बिँदै जाँदा कृषि उत्पादन नभएर भोकमरीको अवस्था आउन सक्ने भएकाले बाँझो जग्गाको सदुपयोग गर्दै तरकारी खेती शुरु गरिएको उहाँले बताउनुभयो ।

महतका अनुसार उक्त ठाउँमा छोटो समयमा उत्पादन हुने तरकारी खेती गरिनेछ । उहाँका अनुसार काँक्रो, भिण्डी, बोडीलगायतको खेती गर्नका लागि किसानले जग्गा सम्याउने काम गरिरहेका छन् । “वडा कार्यालयले तरकारी खेतीका लागि अनुदानको व्यवस्था समेत मिलाएको छ”, महतले भन्नुभयो, “सामूहिक तरकारी खेतीबाट किसान उत्साहित छन् ।”

शुक्लागण्डकी नगरपालिका–८ मा जग्गा बाँझो नराख्ने अभियान शुरु गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँझो रहेका व्यक्तिका जग्गा तथा सार्वजनिक जग्गामा तरकारी खेतीका लागि किसानलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिएको छ ।

“वडालाई पुग्ने तरकारी वडाभित्रै उत्पादन गर्ने लक्ष्य लिएका छौँ”, वडाध्यक्ष रेग्मीले भन्नुभयो, “यसले वडाभित्रका बाँझो जग्गाको सदुपयोग हुनुका साथै कृषि उपज सामग्री उत्पादनमा सहयोग पुग्नेछ ।”

वडाध्यक्ष रेग्मीका अनुसार तीन रोपनी भन्दा कम क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई वडाको तर्फबाट निःशुल्क रुपमा बीउबिजनको व्यवस्था गरिनेछ भने तीन रोपनी भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्ने किसान वा समूहलाई कूल लगानीको ५० प्रतिशत अनुदान दिइनेछ ।

“घरआँगनको जग्गा बाँझो राख्ने अनि बजारबाट तरकारी ल्याएर उपभोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तरकारी उत्पादनमा जोड दिइएको छ”, उहाँले भन्नुभयो, “यसले अन्य किसान पनि तरकारी खेतीतर्फ आकर्षित हुने विश्वास लिएका छौं।”

कृषिजन्य उत्पादनको क्रममा वडाभित्रकै श्रमिक तथा मजदुरलाई काममा खटाइनेछ । बन्दाबन्दीबाट प्रभावित भएर राहत बुझेका श्रमिक तथा मजदुरलाई कृषिकर्ममा खटाउने तयारी गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत बुझेकाहरुलाई वडाले विकास निर्माणका काममा खटाउन शुरु गरिसकेको छ ।

जसअनुसार पहिलो चरणमा सडकका नाला मर्मत तथा सरसफाईमा मजदुर खटाइएको छ । वडा कार्यालयले विभिन्न व्यक्तिसँग सहयोग उठाएर ३३८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । ती व्यक्तिलाई कृषिकर्म तथा विकास निर्माणका काममा खटाइनेछ ।

सामूहिक तरकारी खेतीको अभियानले वडालाई तरकारीमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ । उत्पादित तरकारीको बजारीकरणका लागि पनि वडाले सहजीकरण गर्ने रेग्मीले जानकारी दिनुभयो । वडाले साना किसान सहकारी संस्थासँगको सहकार्यमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्न लागेको छ ।

“उत्पादित तरकारीको बजारमा कुनै समस्या हुनेछैन, खैरेनीटार, दुलेगौँडा बजार नजिकै भएकाले पनि यहाँ उत्पादित कृषि उपजले सहजै बजार पाउनेछ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित कृषि उपज सामग्री खेर फाल्नुपर्ने अवस्था विगतमा पनि थिएन ।” वडालाई आलुमा आत्मनिर्भर बनाउन वडा कार्यालयले विगत वर्षदेखि नै किसानलाई अनुदानको व्यवस्था गर्दै आएको छ ।

दीर्घरोगीलाई घरदैलोमा औषधि :

बन्दाबन्दीले प्रभावित दीर्घरोगीलाई तनहुँ जिल्लाका विभिन्न सङ्घसंस्थाले घरदैलोमा नै औषधि पु¥याउन थालेका छन् । बन्दाबन्दीका कारण सवारी साधन नचलेपछि बजारसम्म पुगेर औषधि किन्न समस्यामा परेका दीर्घरोगीलाई विभिन्न सङ्घसंस्थाले घरदैलोमा नै पुगेर औषधि वितरण गरेका हुन् ।

शुक्लागण्डकी जेसिजले शुक्लागण्डकी नगरपालिका–९ स्थित सुकुम्बासी बस्तीका ४० जना दीर्घरोगीलाई औषधि सहयोग गरेको छ ।

बन्दाबन्दीले गर्दा दीर्घरोगीका बिरामीले नियमित सेवन गर्नुपर्ने औषधि खरिद गर्न समस्या परेपछि संस्थाले खरिद गरी सहयोग गरेको संस्थाका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो ।

एक महिनाका लागि पुग्ने औषधि शहरी स्वास्थ्य केन्द्र घारीलाई हस्तान्तरण गरिएको र दीर्घरोगीले स्वास्थ्य केन्द्रबाट निःशुल्करूपमा औषधि प्राप्त गर्ने श्रेष्ठले बताउनुभयो ।

“बन्दाबन्दीले नियमित सेवन गर्नुपर्ने औषधि पाउन पनि समस्या भएको छ, नियमित सेवन गर्नुपर्ने औषधि सेवन नगर्दा स्वास्थ्यमा पनि समस्या आउन सक्छ”, श्रेष्ठले भन्नुभयो, “विपन्न वर्गका दीर्घरोगी पहिचान गरी उहाँहरुलाई औषधि सहयोग गरेका हौं ।”

अपाङ्गता भएका व्यक्तिको अधिकार विकासका लागि स्रोत केन्द्र (रिसेड) तनहुँको पहलमा मनोसामाजिक अपाङ्गता भएकाहरुलाई पनि निःशुल्करूपमा औषधि उपलब्ध गराइएको छ ।

बन्दाबन्दीका कारण औषधि खरिद गर्नका लागि सदरमुकाम दमौली आउन नसकेका मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यले रिसेडले निःशुल्क औषधि उपलब्ध गराएको हो ।

विगत लामो समयदेखि नियमितरूपमा औषधि सेवन गर्दै आएका शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाका ३० मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई कोसिस नेपालको सहयोगमा निःशुल्क औषधि उपलब्ध गराइएको रिसेड तनहुँका महासचिव दामोदर रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियमितरूपमा औषधि सेवन गर्ने मनोसामाजिक अपाङ्गता भएका व्यक्ति शुक्लागण्डकी नगरपालिकामा १८ र बन्दीपुर गाउँपालिकामा १२ जना छन् ।

बन्दाबन्दीका क्रममा दमौलीसम्म आएर औषधि खरिद गर्न नपरोस् भन्नका लागि सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाबाट लैजाने गरी औषधि सहयोग गरिएको छ ।

“चिकित्सकको प्रेसक्रिप्सन बिना उक्त औषधि प्रयोग गर्न मिल्दैन, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुसँग चिकित्सकको प्रेसक्रिप्सन छ”, रेग्मीले भन्नुभयो, “उहाँहरुले स्वास्थ्य शाखामा आएर प्रेसक्रिप्सन देखाएर औषधि लैजान सक्नुहुनेछ ।”

बन्दाबन्दी अगाडि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुले दमौलीमा आएर उक्त औषधि खरिद गर्नुपर्दथ्यो । “कोभिड–१९ का कारण उत्पन्न वर्तमान विषम परिस्थितिमा अपाङ्गता भएका व्यक्तिमा बढी सन्त्रास, तनाव र मानसिक दबाब हुन्छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा त झन् उहाँहरुले नियमितरूपमा औषधि सेवन गर्नुपर्ने हुन्छ ।”

एचआइभी सङ्क्रमितको अधिकारका लागि काम गर्ने तनहुँ सहयोगी समूहले पनि घरघरमै पुगेर औषधि वितरण गरेको छ । बन्दाबन्दीका कारण प्रभावित उनीहरुलाई घरमै पुगेर एन्टिरेट्रोभाइरल ९एआरभी० औषधि वितरण गरिएको संस्थाका अध्यक्ष श्रीराम कंडेलले जानकारी दिनुभयो ।

दैनिक रुपमा नियमित सेवन गर्नुपर्ने उक्त औषधि सकिएका सङ्क्रमितलाई सहज होस् भनेर सङ्क्रमितको घरमा नै पुगेर औषधि वितरण गरिएको कँडेलले जानकारी दिनुभयो ।

“बन्दाबन्दीले सवारीसाधन नचल्दा एचआइभी सङ्क्रमितलाई समस्या भइरहेको बेला नियमित सेवन गर्नुपर्ने औषधि घरमै पु¥याउने व्यवस्था मिलाएका छौँ”, कँडेलले भन्नुभयो ।

तनहुँमा कूल ३१३ एचआइभी सङ्क्रमित रहेको संस्थाले जनाएको छ । बन्दाबन्दी अगाडि २०० ले दुई महिनाका लागि पुग्ने औषधि संस्थाबाट लिएर गइसकेका र बाँकी रहेकाहरुलाई भने घरमै पुगेर औषधि वितरण गरिएको छ ।