ओखलढुङ्गा। मकैबालीमा फौजीकिराको प्रकोप बढेपछि ओखलढुङ्गाका किसान चिन्तित भएका छन् ।

मकैको बिरुवामा फौजीकिराको सङ्क्रमण देखिएपछि ओखलढुङ्गाका किसान चिन्तित भएका हुन् । जिल्लाको मानेभञ्ज्याङ, चम्पादेवी, सुनकोशी, चिशङ्खुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकाको मकैबाली लगाइएको क्षेत्रमा फौजीकिराको प्रकोप देखिएको हो ।

चम्पादेवीको कालिका क्षेत्रका किसानले लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको वडा नं ३ का वडाध्यक्ष बलबहादुर तामाङले बताउनुभयो । गोड्ने बेलाको मकै किराले खाएर नष्ट गरेको भन्दै दैनिक किसानको गुनासो आएको वडाध्यक्ष तामाङको भनाइ छ ।

उहाँले भन्नुभयो, “अघिल्लो वर्ष खडेरीले मकै खायो । अहिले पनि फौजी किराले सताउन थालेको छ ।” फौजी किराले विशेष गरी वडा नं ३ को सिल्खुबेँसीमा लगाइएको मकै धमाधम नष्ट गरिरहेको छ । चम्पादेवीको माथिल्लो क्षेत्रमा मकै छर्न भर्खर शुरु भए पनि तल्लो भेग बेँसीमा भने मकै गोड्ने बेला भएको छ ।

यस्तै मानेभञ्याङ गाउँपालिकाको तिल्पुङडाँडा, माधवपुर, टोक्सेल र थाक्ले क्षेत्रमा फौजी किराले मकैको बिरुवा खाएको स्थानीय किसान भुवन श्रेष्ठले गुनासो गर्नुभयो । किराले शुरुमा पात खाने त्यसपछि बिरुवाको जरा खाएर बिरुवा नष्ट गर्ने गरेको श्रेष्ठको भनाइ छ ।

चिसङ्खुगढीको माम्खालगायत क्षेत्रमा पनि फौजी किराको प्रकोप देखिएको छ । फौजीकिराले मकैको बिरुवा खान थालेको चिसङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । उहाँले फौजी देखिँदा बाली सखाप पार्ने त्रास बढेपछि कृषि शाखालाई अध्ययन गर्न भनिएको र तत्काल यसको उपचारका लागि पालिकाले पहल गर्ने बताउनुभयो ।

सुनकोशी गाउँपालिका–४ सिस्नेरीमा पनि फौजी किराले मकै बालीमा क्षति गरेको छ । अहिले पनि ती क्षेत्रमा फौजी किरा आउने त्रास किसानलाई छ ।

गत वर्ष पनि सुनकोशी, सिद्धिचरण, चिसङ्खुगढी र मानेभञ्ज्याङमा फौजी किराले हिउँदे मकै सखाप पारेको थियो । फागुन, चैतमा रोपिएको मकैमा फौजी किराको असर देखिएको छ । केही ठाउँमा भर्खरै मकै रोपिँदै छ । फौजी किराको प्रकोप देखिएपछि मानेभञ्ज्याङ गाउँपालिकाले नियन्त्रणको तयारी थालेको छ ।

कृषि ज्ञान केन्द्र ओखलढुङ्गामार्फत विषादी झिकाइएको मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले बताउनुभयो ।

यसका साथै तयारी अवस्थामा रहन वडा तथा गाउँपालिकाका कर्मचारीलाई निर्देशन दिइएको भट्टराईले जानकारी दिनुभयो ।

प्रकोप नियन्त्रणका लागि विशेष तयारी थालिएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका प्रमुख विष्णुमणि पोखरेलले बताउनुभयो ।

प्रकोप क्षेत्रको पहिचान गरी किरा मार्ने विषाधी र उपकरणसहित प्राविधिक विशेषज्ञ टोली पठाइएको पोखरेलको भनाइ छ । किराको प्रकोप देखिए कार्यालयमा जानकारी दिन प्रमुख पोखरेलले आग्रह गरेका छन् । यसका साथै प्रकोप देखिएको स्थानीय तहमा विषाधी र उपकरण पठाइएको कार्यालयले जनाएको छ ।