दमक। कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा एक महीनाको अवधिमा झापामा करीब रू. दुई करोडबराबरको च्याउ नोक्सान भएको छ ।

च्याउ उत्पादक किसान संघका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पुर्‍याउन नसक्दा सो मूल्य बराबरको क्षति पुगेको जानकारी दिए । जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा १०० भन्दा बढी किसानले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् ।

माइपश्चिमका गौरादह–९ स्थित नमूना च्याउ उद्योगको करीब रू. पाँच लाख, सीता च्याउ उद्योगको रू. ६ लाख, कुलश च्याउ उद्योगको रू। पाँच लाख, ढुङ्गाना च्याउ उद्योगको रू. १० लाख र कल्याण तथा कृतिसा च्याउ उद्योगको रू. पाँच लाखबराबरको च्याउ घाटा व्यहोर्नुपरेको संघले जानकारी दिएको छ ।

यस्तै कमल गाउँपालिकाका विभिन्न च्याउ किसानका करीब रू.३० लाख, शिवसताक्षीका किसानको करीब रू. ३० लाख र दमक नगरपालिकाका च्याउ किसानका करीब रू. ४० लाखको च्याउ नोक्सान भएको छ ।

यहाँका किसानले उत्पादन गरेका च्याउ बन्दाबन्दीले गर्दा जिल्ला बाहिरका ठूला बजारसम्म पुर्‍याउन सकेका छैनन् । हाटबजार, पसल तथा यातायातका सवारी साधन बन्द हुँदा दैनिक उत्पादन हुने ठूलो परिणामको च्याउमा ठलो घाटा व्यहोर्नु परेको संयोजक गौतम बताउछन् ।

बन्दाबन्दीबाट प्रभावित जिल्लाका च्याउ किसानले बन्दाबन्दी लम्बिँदै गएपछि उद्योग धरासायी बन्ने अवस्थामा पुगेको किसानको गुनासो छ ।