तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा व्यावसायिकरूपमा तरकारी खेती हुन्छ । यहाँका करिब ५०० भन्दा बढी कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्छन् ।
उत्पादित तरकारी तनहुँभन्दा पनि बाहिरी जिल्लामा बढी मात्रामा निर्यात हुने गरेकामा लकडाउनपछि उत्पादित तरकारीले बाहिरी जिल्लामा बजार पाएको छैन ।
बाहिरी जिल्लामा तरकारी निर्यात नभएपछि तरकारी कृषक सङ्गठित भएर स्थापना भएको मिलीजुली कृषि उत्पादक कृषि सहकारी संस्थाले जिल्लाभित्रै तरकारी बिक्री वितरण शुरु गरेको छ ।
कोभिड–१९को जोखिम नियन्त्रणका लागि जारी लकडाउनमा सर्वसाधारणलाई सहजरूपमा तरकारीको व्यवस्था गर्न सहकारीले घरघरमै पुगेर तरकारी बिक्री शुरु गरेको अध्यक्ष ईश्वरबाबु गौलीले जानकारी दिनुभयो ।
सहजरूपमा तरकारीको आपूर्ति मिलाउन सहकारीले आफ्नै सवारी साधनबाट तरकारी बिक्री गरिरहेको गौलीले बताउनुभयो । गौलीका अनुसार एक हप्ता अगाडिबाट आँबुखैरेनी, खैरेनीटार, डुम्रे, दुलेगौडा, दमौलीलगायतका ठाउँमा तरकारी बिक्रीको व्यवस्था मिलाइएको छ ।
उहाँका अनुसार अहिले उत्पादनअनुसारका बन्दा, काउली, फर्सी, लौकालगायतका तरकारी बिक्री भइरहेको छ । एक हप्तापछि लहरेबाली पनि उत्पादन हुनेछ ।
सहकारीमा ६५० शेयर सदस्य आबद्ध छन् । तीमध्ये ४०० जनाले तरकारी खेती गर्ने गरेका छन् । “हिउँद र वर्षाअनुसार फरक–फरक खेती गर्ने कृषक छन्”, गौलीले भन्नुभयो, “बजारको आवश्यकता र मागलाई ध्यानमा राखेर तरकारी उत्पादन गर्छौँ ।”
सहकारीमा आबद्ध कृषकको सहकारीमा नै खाता खोलिएको छ । तरकारी बिक्रीवापतको पैसा सिधै कृषकको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले गत वर्ष मासिक रु दुई लाख ५० हजारसम्मको तरकारी बिक्री गर्ने गरेको थियो ।









