ललितपुर। कोरोना भाइरसका कारण मुलुक भरकै कुखुरा पालन व्यवसाय धराशायी बन्दै गएको छ । कुखुराको मासु र अण्डा बिक्री नहुँदा व्यवसायमा जोखिम बढ्दै गएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण कुखुरा पालक किसान मर्कामा परेका हुन् । सरकारले देशव्यापी लकडाउन गरेपछि कुखुराको दाना पाउन मुश्किल हुँदा किसान जिउँदै कुखुरा खाल्डोमा हाल्न बाध्य छन् ।

नेपाली बजारमा दैनिक करीब १० लाख केजी कुखुराको मासु खपत हुने गरे पनि अहिले व्यवसाय नै ठप्प भएको किसानको गुनासो छ। कुखुराका लागि आवश्यक दाना बजारमा नपाउनु र ढुवानी गर्न नसक्नु जस्ता कारण यतिबेला किसान चौतर्फी मारमा छन् ।

ब्रोइलर चल्ला ३५ देखि ४५ दिनमा बजार पठाउन तयार हुने भए पनि त्यसपछि पाल्नुपर्दा धेरै दाना चाहिन्छ र अतिरिक्त आर्थिक भार हुन्छ ।अहिले विशेष गरी चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, सुनसरी, रुपन्देही, कास्की, दाङ, कैलाली लगातका किसान मारमा परेका छन् ।

नेपाल ह्याचरी उद्योग संघका अनुसार एक सातामा ४५ लाख चल्ला उत्पादन हुने गरेको छ भने १० दिनदेखि चल्ला उत्पादन ठप्प छ ।‘सातामा ४५ लाख चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग अहिले ठप्प रहेको संघका अध्यक्ष टीका पोखरेल बताउँछन् ।

लकडाउनका कारण बजारमा कुखुरासम्म पुर्‍याउन नसक्नु नै मुख्य समस्या रहेको अध्यक्ष पौडेलको भनाइ छ । ‘खोरमा रहेका कुखुरालाई दाना खुवाउन नसक्दा किसानहरू जिउँदै खाल्डोमा हाल्न थालिसकेका छन्,’ उनले प्रश्न गरे, ‘बजारमा कुखुरा पुग्न सकेको छैन किसानले दाना पाउँदैन अनि के गर्ने ? खाल्डोमा हाल्नु परेन ? ’

उनका अनुसार अहिले नेपालभर कुखुरा व्यवसायीले दैनिक झण्डै २२ करोड रुपैयाँ घाटा बेहोर्नु परेको छ । लकडाउनको अघिल्लो दिनबाट बजारमा कुखुरा ढुवानी हुन छाडेको पोखरेलले बताए ।

अण्डाको माग बढ्दो, उत्पादन कम :

लकडाउनका कारण बजारमा ताजा तरकारीको आपूर्तिमा कमी आएसँगै अण्डाको माग बढेको छ । अधिकांश मासु पसल बन्द छन् । उपभोक्ताले किनारा तथा खाद्य स्टोरबाट अण्डा खरिद गर्न पाउँछन् ।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार अहिले दैनिक २५ लाख अण्डा उत्पादन भइरहेको छ । ‘पहिले दैनिक ३० लाखभन्दा बढी अण्डा उत्पादन हुन्थ्यो,’ केसीले भने, ‘अहिले ५ लाख अण्डा उत्पादन घटेको छ ।’ कुखुरालाई पर्याप्त दाना खुवाउन नसक्दा अण्डा उत्पादन घटेको उनको भनाइ छ ।

बजारमा अण्डाको माग बढिरहेको केसी बताउँछन् । ‘उपभोक्ताले अण्डा किनेर राख्न थालेकाले माग बढेको हो’ उनले भने, ‘अण्डा केही दिन राखेर पनि खाना सकिने भएकाले उपभोक्ताको रोजाइमा परेको छ ।’

मागअनुसार बजारमा अण्डा पुर्‍याउन नसकेको केसीले बताए । ‘ढुवानीको समस्याले अण्डा पुर्‍याउन सकेका छैनौँ,’ उनले भने, ‘सरकारले किसानका खोरबाट बजारसम्म पुर्‍याउन ढुवानीको व्यवस्था गरिदिए बजारको मागअनुसार पुर्‍याउन सकिन्थ्यो ।’

संघका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ४७ करोड र गत वर्ष १ अर्ब ५६ करोड वटा उत्पादन भएको थियो । देशव्यापी लकडाउनमा पनि दैनिक २५ लाख वटा अण्डा उत्पादन भएको छ ।

सिमा नाकामै रोकियो दाना :

बजारमा दानाका अभाव भएको हो त ? नेपाल दाना उत्पादक संघका अध्यक्ष राजन पुरी भन्छन्, ‘भारत र अमेरिकाबाट आयत हुने कच्चा पदार्थ भित्रन छोडेपछि दानाको अभाव सिर्जना भएको छ ।’ कुखुराका लागि आवश्यक दैनिक ३ हजार २ सय मेट्रिक टन दानाको उत्पादन र आयत बन्द भएपछि अभाव देखिएको छ । कुखुराको खोर थोरै हुनु भनेको मासु र अण्डा पनि कम उत्पादन हुनु हो ।

कुखुराको दानामा पनि नेपाल परनिर्भर छ । कच्चा पदार्थ मकै, भटमासको पिना आदि आयातबाटै पूर्ति गर्ने गरेको अध्यक्ष पुरी बताउँछन् ।

उनका अनुसार कच्चा पदार्थको रूपमा प्रयोग हुने मकै भारतबाट र भटमास अमेरिकाबाट आउँछ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल र भारत दुवैतिरका नाका बन्द भएपछि कच्चा पदार्थ आयात रोकिएको छ ।

उनका अनुसार नेपालमा १११ वटा दाना उद्योगसँग करिब ५ दिनलाई पुग्ने कच्चा पदार्थमात्र बाँकी छ । ‘भारतबाट आएको दाना सिमानामै रोकिएको छ’ उनले भने, ‘लोड अनलोड गर्ने भरियादेखि सवारी चालक समेतले काम छोडेकाले तत्काल आयत गर्न मुस्किल छ ।’

दैनिक ३ हजार २ सय मेट्रिक टन दाना खपत हुने बजारमा अहिले १ हजार २ सय मेट्रिक टन मात्र गइरहेको छ । यसबाट ठूलो नोक्सानी बेहोर्नु परेको पुरीले बताए ।

बजार नियमित भएपछि भने अहिलेको नोक्सानीका कारणले करिब एक वर्ष कुखुराको अण्डा, मासु र चल्ला महँगो हुनसक्ने उनको भनाइ छ ।