ललितपुर। सरकारले तरकारी, फलफुल, खाद्यान्न, मासु र अण्डा ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।

उत्पादनकर्ताले नजिकको बजार केन्द्र वा काठमाण्डौमा ढुवानी गर्न गाउँपालिका वा नगरपालिकाले गाडीको बन्दोबस्त गर्ने र ढुवानी भाडामा २५ प्रतिशत अनुदान दिने सरकारले निर्णय गरेको हो ।

यसको लागि कृषि तथा पशुपंक्षी मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र वाणिज्य विभागलाई जिम्मेवार निकाय तोकिएको छ ।

किसानलाई ढुवानीको पास मिलाउने जिम्मा भने गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई दिइएको छ । यो निर्णय मङ्गलबारदेखि नै लागु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रदेश ५ को विशेष कार्यक्रम :

प्रदेश ५ को मन्त्रपरिषद् बैठकले लक डाउनको कारण प्रभावित भएका किसानहरुको लागि विशेष सहजता प्रदान गर्ने भएको छ ।

सोमबार बुटवलमा बसेको मन्त्री परिषद् बैठकलले खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यता, पशु र कृषि जन्य उपज विक्रि वितरणका लागि प्रदेश नम्बर ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विशेष पहल सुरु गरेको छ ।

लक डाउनको कारण किसानहरुले उत्पादन गरेका कृषि जन्य उपज, माछा, मासु, दूध विक्रि वितरणमा समस्या भएको भन्दै यसमा विशेष पहल सुरु गरेको हो ।

मन्त्रालय को सोमबार बुटवलमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलललेकृषि तथा पशुजन्य बस्तु विक्रि वितरणका लागि प्रदेशका १२ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत सहजताका लागि आग्रह गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले किसानका उपज बिक्री वितरणका लागि कृषि संकलन स्थल सम्म ल्याउने साधानको समेत व्यवस्थापन गरेको छ ।
खासगरी किसानले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्रीवितरण मा समस्या भएको गुनासो आएका थिए ।
सोहि अनुसार मन्त्रालयले पहल सुरु गरेको हो ।

यस्तो छ मन्त्रीपरिषद् को निर्णय :

विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गरेका निर्णहरु
१. सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने ।

. निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्ने ।

३.खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने ।

४. एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको छ । एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने ।

५. प्रदेश ५ मा तीन वटा प्रयोगशाला स्थापना गर्ने । भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा । तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने ।