ललितपुर। सरकारले अत्यावश्यक खाद्यान्न, तरकारी र दूध पसल बन्द नगर्न व्यापारीहरुलाई अपिल गरेको छ ।

सही सूचना प्रवाहको अभावमा एक साता लामो लकडाउनको पहिलो दिन उपत्यकासहित मुलुकका अधिकांश स्थानमा अत्यावश्यक सामग्रीमा पसलसमेत बन्द गरिएको पाइएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समन्वय समिति बैठकले अत्यावश्यक सामग्रीमा पसल खुलाउन आग्रह गरेको हो ।

पसल बन्द हुँदा खाद्य सामग्रीको अभाव हुने र बजारमा कालोबजारी मौलाउने भएकाले त्यस्तो निर्णय गरिएको समितिले जनाएको छ । यस्तै अत्यावश्यक बस्तुको ढुवानी गर्ने सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्न र ती सवारीमाथि अवरोध नगर्न सुरक्षा निकायलाई निर्देशन दिइएको समितिका सदस्य एक मन्त्रीले जानकारी दिए ।

सरकारले आज (मंगलबार) बिहान ६ः०० बजेदेखि आगामी चैत १८ गते साँझ ६ः०० बजेसम्मका लागि सिंगो देशलाई लकडाउन गर्ने निर्णय गरेको थियो ।

सरकारले उपभोक्ताको भीड नहुने गरी सेवा प्रवाह गर्न आग्रह गर्दै अत्यावश्यक सामग्रीमा पसल खोल्न आग्रह गरेको हो ।

कुन- कुन पसल खुला रहन्छ :

खाद्यवस्तु (तरकारी, फलफूल, दूध पानी समेत), औषधी र औषधीजन्य पदार्थ तथा खाना पकाउने ग्यास (एलपीजी) बिक्री वितरण हुने पसल तथा बिक्री कक्षहरू नियमित सञ्चालन हुने।

उक्त पसलमा काम गर्ने सबैले अनिवार्य रूपमा मास्क लगाउने र समयसमयमा स्यानिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था गर्ने।

उपभोग्य सामाग्री (औषधी, खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी तथा औषधी र खाद्यवस्तुका कच्चापदार्थ) र पेट्रोलियम पदार्थ (खाना पकाउने ग्यास समेत) ढुवानी गर्ने यातायातका साधन यथावत सञ्चालन हुने।

ढुवानीकर्ता एवं बिक्रेता तथा वितरकले ढुवानी मजदुरको व्यवस्था गर्नुपर्ने र ती सबै मजदुरहरूका लागि अनिवार्य रूपमा मास्कको व्यवस्था गर्ने।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेनिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालिलत पसलहरू यथावत सञ्चालन गर्ने।

आवश्यकताअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट मोबाइल भ्यानहरूबाट खाद्यवस्तु बोकी घुम्ती पसल सञ्चालन गरिने।

खाद्यान्न बिक्रीका लागि एकभन्दा बढी स्थानमा बिक्रीकक्ष राखी बिक्रीवितरण गर्ने ठूला बिक्रेता (भोटभटेनी सुपरमार्केट, बिग मार्ट, सेलवेल, सेल्सबेरी जस्ता) हरूले आफ्ना बिक्री कक्षबाट नियमित बिक्री गर्नुका साथै आफ्ना ग्राहकलाई उनिहरूकै ठेगानामा डेलिभरी गर्ने व्यवस्था समेत हुने।