स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले फेदीखोला गाउँपालिकामा असिनापानीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन् ।

मन्त्री अर्यालले सोमवार किसानको खेतबारीमै पुगेर शनिवार राति हावाहुरीसहित आएको असिनापानीले गाउँपालिकामा पुर्‍याएको क्षतिको निरीक्षण गरेकी हुन् ।

असिनापानीले ठूलो क्षति पुर्‍याएको वडा नम्बर ४ को आरुखर्क र २ को कुडुलेमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई घटनाबाट विचलित नहुन आग्रह गरेकी छन् ।

कृषिका माध्यमबाट समृद्धि ल्याउने योजनाको साथ अगाडि बढेको फेदीखोला गाउँपालिकामा असिनापानीले पुर्‍याएको क्षतिले आफूलाई दुःखी बनाएको बताउँदै उनले प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुन पुगे पनि फेरि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न त्यस क्षेत्रका किसानलाई आग्रह गरेका छन् ।
मन्त्री अर्यालले भनिन्, ‘तपाईंहरू कति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस्, राज्यले तपाईंहरूलाई सहयोग गर्छ । क्षतिको पूर्ण विवरण आइसकेपछि संघ, प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्छ ।’

शनिवार राति परेको असिना पानीले वडा नम्बर १ र वडा नम्बर ४ मा पूर्णरुपमा क्षति पुर्‍याएको छ भने अन्य वडामा आंशिक क्षति पुर्‍याएको छ । असिना पानीका कारण टनेल, कुखुराको फार्म, किसानले लगाएको तरकारी टमाटर, साग, काउली, बन्दा, सुन्तलाको रुख, डाले घाँस लगायतमा क्षति पुगेको वडा नम्बर ४ का अध्यक्ष माधव शर्माले जानकारी दिए ।