तनहुँ । अदुवाको उचित मूल्य नपाएपछि तनहुँका व्यावसायिक अदुवा कृषक चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् ।

आवश्यक मूल्य नपाएपछि घरपरिवार चलाउनसमेत समस्या भएको अदुवा कृषक ऋषिङ गाउँपालिका–३ रिजालडीका टेकबहादुर आलेले बताए । ‘अदुवाको मूल्य सस्तो भएकाले घरव्यवहार चलाउन समस्या भएको छ’ , उनले भने, ‘अदुवा विक्री गरेर घर खर्च चलाउने, चामल तरकारी किन्ने गरे पनि अहिले बजार मूल्य नपाएपछि समस्या भएको छ ।’

अदुवाले मूल्य नपाएपछि केही कृषकले सुठोसमेत बनाउने गरेका छन् । टेकबहादुरको यस वर्ष २०० धार्नी अदुवा उत्पादन भएको छ । अदुवाको विक्री गाउँमै भए पनि निकै सस्तो मूल्यमा बेच्नुपरेको उनको भनाइ छ ।

बजारमा ग्राहकलाई व्यापारीसँग करीब रू. ४०० धार्नीमा अदुवा किन्नुपर्ने बाध्यता रहे पनि कृषकले भने एक धार्नीलाई रू. १३० मा विक्री गर्नुपरेको कृषक आलेले बताए । जिल्लाका ऋषिङ, भिमाद, घिरिङ, देवघाट गाउँपालिकालगायत एक दर्जन गाउँपालिका अदुवा खेतीका लागि मुख्य क्षेत्र मानिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले जानकारी दिएको छ ।