विराटनगर। प्रदेश १ सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताएपनि बजारमा मल अभाव हुँदा केही नगरेको प्रदेशसभा सदस्यहरूले आरोप लगाएका छन्।

प्रदेश १ प्रदेशसभाकोे सोमबारको बैठकको शून्य समयमा बोल्दै सत्ता पक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले सरकार कृषिको विकासमा उदासिन भएको आरोप लगाए। नेकपाका सांसद वसन्त बानियाँले चैते धान लगाउने बेलामा रासायनिक मलको अभाव भएको बताए। झापा घर भएका बानियाँले भने ‘झापालाई सुपर धान जोन भनिएको छ। तर, धान रोप्ने बेलामा बजारमा युरिया र डिएपी मल नपाएर किसानहरु समस्यामा परेका छन्।’ उनले बालीमा लाग्ने किरा नियन्त्रण गर्न र किसानलाई अन्य सहयोगका लागि प्राविधिक उपलब्ध नभएको गुनासो गरे।

प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले किसानलाई प्रताडित गरेको आरोप लगाए। उनले सुनसरी–मोरङ सिँचाई आयोजना अन्तर्गते मोरङको बाहुनी क्षेत्रमा नहर बाढीले क्षतविक्षत बनाएपनि त्यसको मर्मतमा सम्बन्धित निकायले ध्यान नदिएको आरोप लगाए। उनले भने, ‘बाढीपछि तत्काल मर्मत सम्भार गर्ने भनिएपनि अहिलेसम्म नहर मर्मत नगरेर किसानलाई सरकारले नै दुख दिइरहेको छ।’

प्रदेशसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य बलबहादुर सामसुहाङले सरकारले सवारीसाधन किन्दा सार्वजनिक खरिद ऐनलाई पालना गरेरनगरेको विषयमा ध्यानाकर्षण गराएका छन्।