नारायणपुर। खेतबारी वा खोलाको बगरमा गरिएको तरकारी खेतीपाती गरेको सबैलाई जानकारी होला तर बग्ने खोलामा गरिने खेतीका बारेमा धैरैलाई थाहा नहुन पनि सक्छ । दाङका अधिकांश खोलामा मौसमी तरकारी ९साग० उत्पादन गर्ने गरिएको छ ।
यसरी बग्ने खोलामा उत्पादन गरिने भएकाले यसलार्ई ‘खोले साग’ भनिन्छ । तर ठाउँअनुसार यसको नाम भने फरक–फरक हुने गरेको छ । कसैले यसलाई ‘सीम साग’ पनि भन्ने गर्दछन् ।
गर्मी मौसममा खेती गरिने सागबाट नै किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । साग रोपेको एक डेढ महीनामै उत्पादन लिन सकिने र एकपटक काटिसकेपछि पनि निरन्तर उत्पादन भइराख्ने हुनाले कृषकलाई पनि राम्रो फाइदा हुने गरेको छ । गर्मी मौसममा अन्य सागको उत्पादन खासै नहुने हुनाले यसको बजार राम्रो भएको किसान बताउँछन् ।
फागुनको अन्तिम सातादेखि यो साग बजारमा आउने गर्दछ । पूर्णरूपमा जैविक हुने भएकाले बजारमा खोले सागको माग धेरै नै रहेको कृषक नारायणी पुन बताउँछिन् । घर छेउकै घोराहीको सेवार खोलामा उनले सागको खेती गरेकिछिन् । ‘अन्य तरकारी विक्रीका लागि बजारसम्म पुर्याउनुपर्छ तर खोले साग किन्न ग्राहक खोलामै आउँछन’, पुनले भनिन् ।
रोगले पनि नसताउने, हेरचाह धेरै गर्नु नपर्ने भएकाले खोले साग खेती गर्ने गरेको उनले बताइन् । मौसममा मासिक आठदेखि १० हजारसम्मको व्यापार गर्ने गरेको उनको भनाइ छ ।
जिल्लामा रहेका दर्जनौं खोलामा यसरी नै खोले सागको खेती गरेको देख्न सकिन्छ । खोले सागको खेतीबाट हरेक दिन धेरैले आफ्नो दैनिक गर्जोसमेत टार्ने गरेका छन् । साग विक्रीबाट दैनिक करीब १ हजार आम्दानी हुने कृषक जयसरी केसी बताउँछिन् ।
अन्य खेती गर्नका लागि गर्मी मौसम अनुकूल नभए पनि खोले सागको खेतीले दैनिकी चलेको केसीको भनाइ छ । एक पटक रोपेपछि निरन्तर उत्पादन लिन सकिने भएकाले यसको खेती गर्ने किसान बढ्दै गएको केसीले बताइन् ।
‘एक पटक काटेपछि खरानी तथा गाईभैंसीको गोबर मल प्रयोग गरी यसको उत्पादन बढाउँछौं तर कसैले उत्पादन बढाउने नाममा युरिया मल प्रयोग गर्ने गरेका छन्’, केसीले भनिन् । अहिले कटुवा खोला तथा चमै सोतामा मात्रै करीब ५० कृषकले यो साग रोपेको उनले जानकारी दिइन् । ‘साग खरीद गर्ने ग्राहक घरमै खोज्न आउनुहुन्छ, २० रुपैयाँ मुठामा विक्री गर्छौं’, केसीले भनिन् ।
दाङमा उत्पादन हुने यो साग बुटवल, नेपालगञ्जलगायतका शहरमा समेत विक्रीका लागि जाने गरेको कृषकको भनाइ छ । दाङको कटुवा खोला, सेवार खोला सङ्ग्राम खोला र अन्य थुप्रै खोलामा यस प्रकारको साग उत्पादन हुन्छ । कात्तिक, मंसिरमा रोपेको साग फागुन महीनादेखि विक्री वा खानका लागि तयार हुन्छ भने वैशाख, जेठसम्म निरन्तर उत्पादन हुने गरेको छ ।









