कैलाली। कैलालीको टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण भएको छ । च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले अबको केही दिनमा च्याम्बरमा केरा पकाउन शुरु गरिने जानकारी दिएको छ ।
रू. तीन करोड, ५६ लाख, ३६ हजार, २३६ लागतमा उक्त च्याम्बर निर्माण भएको हो । च्याम्बर निर्माणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरको रू. १ करोड, ९० लाख, आठ हजार ५९१ अनुदान सहयोग रहेको छ भने निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिको रू. १ करोड, ६६ लाख, २७ हजार, ६४५ लागतमा निर्माण भएको हो ।
च्याम्बर निर्माणका लागि च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले २०७६ साल वैशाख १९ गते रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरसँग सम्झौता गरी निर्माणको काम थालनी गरेको थियो ।
टीकापुर–२ बन्दीपुरमा निर्माण भएको च्याम्बरको क्षमता १५० मेट्रिक टन रहेको छ । च्याम्बरको भवनमा ३०/३० मेट्रिक टन क्षमताका पाँच ओटा खण्ड रहेका च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिका सदस्य शिलाकान्त झाले जानकारी दिए । ‘च्याम्बरमा केरा, आँप र मेवा एउटै मापदण्डमा समयअनुसार पकाउन सकिन्छ ।’ झा भन्छन्, ‘तापक्रम तलमाथि गरेर त्यसलाई शीतगृहका रुपमा पनि प्रयोग गर्न सकिने छ ।’
आफ्नै गाउँघरमा केरा पकाउने च्याम्बर बन्दा खुशी लागेको केरा व्यवसायीहरु बताउँछन् । केरा व्यवसायी वीरेन्द्र ढुङ्गानाले अहिले बाहिर केरा पठाउँदा समयमै पैसा नआउनाले आफूलाई समस्या भइरहेको बताए । ‘यसरी केरा पकाउने च्याम्बर टीकापुरमै बन्दा सजिलो हुने भएको छ’, ढुङ्गानाले भने, ‘अब किसानको समय पनि बचत हुन्छ । ढुवानी खर्च पनि बचत हुन्छ ।’
रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरका कार्यालय प्रमुख भरत कँडेलले बाहिर पकाएको केराभन्दा च्याम्बरमा पकाएको केरा मानव स्वास्थ्यका लागि राम्रो हुने बताए ।
‘च्याम्बरमा पकाएको केरा उपभोक्ताका लागि पनि फाइदाजनक हुन्छ’, कँडेलले भने, ‘सिँचाइ आयोजनाले किसानलाई लाभ हुने खालका संरचना निर्माणमा सघाउने गरेको छ ।’ केरा व्यवसायी संघ कैलालीका अध्यक्ष दीपेन्द्र चौधरीका अनुसार अहिले टीकापुर क्षेत्रमा ५०० हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ ।









