
दाङ। मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् ।
लमहीमा साधारण सुती कपडाको मास्क बनाउन थालिएसँगै घोराहीमा अल्लोको मास्क बनाउन थालिएको छ । उत्पादकले यो मास्कलाई स्यानिटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुनसक्ने बताएको छ । अल्लोको मास्क निर्माण गरेर बजारमा समेत ल्याइएको छ । प्रतिमास्कको मूल्य रू. ८० निर्धारण गरिएको छ ।
जिल्लाको बजारमा मास्कको अभाव भएको भन्दै स्थानीय स्तरमा समेत मास्कको उत्पादन थालिएको हो । यसअघि बजारमा अधिकतम उपयोग हुने मास्क चीनमा निर्मित थियो । जसको अधिकत्तम मूल्य रू. १० मात्र थियो । बजारमा अभाव चुलिएसँगै प्रतिमास्कको मूल्य रू. २५ सम्म पुगेको थियो ।
बजारमा मास्कको अभाव भएपछि प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफकेयर हस्पिटल तुलसीपुर लगायतका स्वास्थ्य संस्थाले स्थानीय स्तरमै निर्मित मास्क आन्तरिक प्रयोजनका लागि उपयोग गर्न थालेका छन् ।