ललितपुर। प्रदेशभित्र कृषि र पशुपक्षीको विकासमा सहकार्य र साझेदारी गर्ने गरी प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच समझादारी भएको छ ।
नार्कको कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालको उपस्थितिमा प्रदेश सचिव तेजबहादूर सुवेदी र नार्कका निमित्त कार्यकारी निर्देशक दीपक भण्डारीले समझादारीपत्रमा हस्ताक्षर गरेका छन्। देशभरमा कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि हस्तान्तरण गर्दै आएको परिषद्सँग मन्त्रालयले आवश्यक विज्ञ सेवा लिने गरी समझदारी गरेको छ।
प्रदेशका मन्त्री आरती पौडेलले सो समझदारीले प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको ‘स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्ने बताए। कृषि क्षेत्रमा स्थानीयस्तरमा स्थानीय सरकार र प्रदेश सरकारले काम गरिरहे पनि प्राविधिक जनशक्तिको अभाव रहेको उनको भनाइ छ। उनले भने, किसानका समस्या हल गर्न र प्रदेश सरकारको योजना सफल गर्न यसले सहयोग गर्नेछ।
परिषद्का निमित्त कार्यकारी निर्देशक भण्डारीले देश सङ्घीयतामा गएसँगै कृषि प्रविधि कसरी किसानसम्म पुर्याउन सकिन्छ भन्ने विषय जल्दोबल्दो विषय बनेको बताए। अहिले नेपाल सरकारभन्दा अरु दुई तह स्थानीय किसानसँग बढी नजिक भइरहेका उनको भनाइ छ। उनले भने, किसानलाई प्रविधि दिने कुरामा र मन्त्रालयको कृषि प्रसार सीप बढाउन यसले सहयोग गर्नेछ।
प्रदेश सचिव सुवेदीले कृषि प्राविधिकलाई किसानसम्म पुर्याउनु चुनौतीको विषय भएको बताए। कृषिको प्रसार गर्ने निकाय र यसको अनुसन्धानमा कार्यरत संस्था मिलेर अघि बढ्दा त्यसले किसानलाई फाइदा पुग्ने उनको भनाइ छ। उनले भने, आगामी दिनमा हामीले यहाँका कृषि वैज्ञानिकको अनुभव र ज्ञान लिन सक्नेछौँ।
सो समझदारीपत्रमा मन्त्रालयले आवश्यक पूर्वाधार निर्माण गर्न, स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत विकास र अनुसन्धानका लागि र स्थानीयस्तरमा काम गर्ने प्राविधिकको ज्ञान बढाउन बजेट छुट्टाउनुपर्ने उल्लेख छ। मन्त्रालयले किसानलाई लक्षित गरी विभिन्न सभा, सम्मेलन र वैज्ञानिक भेलालगायतका कार्यक्रम गर्ने समझदारीपत्रमा उल्लेख छ। दोस्रो पक्षका रुपमा परिषद्ले कार्यक्रमका लागि आवश्यक बजेट र कार्यक्रमसमेत उल्लेख गरी परियोजना प्रतिवेदन बनाउने उल्लख छ।









