झापा । झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी ५०० हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम सञ्चालन गरिएसँगै यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका हुन् ।
धानपछि झापामा धेरै क्षेत्रफलमा मकैखेती हुने गरेको छ । अझ सरकारले झापामा मकैजोन कार्यक्रम सञ्चालन गरेपछि मकैखेतीका लागि यहाँका कृषक थप उत्साहित बनेका छन् । उत्पादनका लागि उर्वरभूमि मानिने झापा गाउँपालिका र कनकाई नगरपालिकामा मात्रै मकैजोन कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्षमा संघीय सरकारबाट रू। एक करोड २४ लाख ६५ हजार बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन एकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए ।
झापामा प्रत्येक वर्ष दुई लाख आठ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । झापामा वसन्ते मकै ३१ हजार हेक्टर, हिउँदे मकै आठ हजार हेक्टर र बर्खे मकै ९०० हेक्टरमा उत्पादन हुँदै आएको केन्द्रले जानकारी दिएको छ ।
उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यो समयमा उन्नत जात ९हाइब्रिड० मकैखेती गर्दै आएका छन् । झापामा मकैजोन कार्यक्रम लागू भएपछि मकैखेती गर्ने कृषकको संख्या बढ्दो छ ।
झापा गाउँपालिकाको छ वडामा झण्डै ८० प्रतिशत क्षेत्रफलमा मकैखेती गरिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । एक बिघा क्षेत्रफलमा यहाँका कृषकले रू। एक लाखदेखि एक लाख ५० हजारसम्म मकै बेचेर आम्दानी गर्ने गरेको गाउँपालिका–३ निवासी देवकुमार गणेशले बताए ।
विगतका वर्षदेखि नै आफूले मकैखेती गर्दै आएको र गाउँपालिकाले अहिले कृषकलाई मकैखेतीका लागि प्रोत्साहन गरेपछि थप उत्साह मिलेको उनको भनाइ छ । एक बिघामा १४० मन मकै उत्पादन हुने गरेको गणेशले बताए । उनले अहिले ‘छैसठ्ठी जिरो सात’ प्रजातिको हाइब्रिड (वर्णशंकर) मकैखेती गरेका छन् । ‘स्थानीय प्रजातिको मकैमा भन्दा हाइब्रिड मकैखेतीमा राम्रो आम्दानी हुन्छ’, उनले भने, ‘एक बिघामा खर्च कटाएर पनि रू। एक लाख नाफा हुन्छ ।’
झापा गाउँपालिकाले कृषकका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्दै मकैखेतीका लागि प्रोत्साहन गरेको छ । यसबाट गाउँपालिकाका कृषकले अहिले तोरी र गहुँखेतीभन्दा धेरै क्षेत्रफलमा मकैखेती गरिरहेको गाउँपालिकाका अध्यक्ष साहले बताए ।









