चितवन। नेपाल पोल्ट्री महासंघले भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा शुक्रबारदेखि नेपाल पोल्ट्री इन्टरनेशनल एक्स्पोको आयोजना गर्ने भएको छ । महासंघले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोबारे जानकारी दिएको हो ।

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले पोल्ट्री एक्स्पोमा प्रविधिलाई प्राथमिकता दिइएको बताए । ‘उत्पादन लागत घटाउन प्रविधि आवश्यक हुन्छ’ उनले भने, ‘एक्स्पोमा पोल्ट्रीसँग सम्बन्धित पछिल्ला प्रविधिहरुबारे जानकारी दिइने छ । ती प्रविधि अपनाउन चाहने व्यवसायीले अवलोकनबाट फाइदा लिन सक्छन् ।’

स्वदेशी तथा विदेशी गरी दुई सयभन्दा बढी प्रदर्शकको स्टल रहने एक्स्पोमा नेपाल, भारत, चीन, अमेरिका लगायत १४ भन्दा बढी देशका पोल्ट्री कम्पनीको सहभागिता रहने आयोजकको भनाइ छ । एक्स्पो अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

एक्स्पोभित्रै पोल्ट्री पाठशाला :

शुक्रबारदेखि आइतबारसम्म चल्ने पोल्ट्री एक्स्पोसँगै जोडेर पोल्ट्री पाठशाला समेत आयोजना हुँदैछ । एक्स्पो उद्घाटनको अघिल्लो दिन बिहीबारदेखि सुरु भई चार दिनसम्म चल्ने पोल्ट्री पाठशाला नेपाल भेटेरिनरी संघसँगको सहकार्यमा हुन लागेको पोल्ट्री महासंघका अध्यक्ष बिष्टले जानकारी दिए ।

देशभर दैनिक करिब पाँच सय मेट्रिक टन कुखुराको मासु उत्पादन हुने गरेको छ । मासुको कूल उत्पादनमध्ये २० प्रतिशत अर्थात् दैनिक एक सय टन मासु चितवनमा उत्पादन हुन्छ । नेपालमा अहिले दैनिक १८ लाख गोटा अण्डा उत्पादन हुन्छ । यसमध्ये दैनिक दस लाख गोटा अण्डा चितवनमा उत्पादन हुँदै आएको छ ।

नेपालमा तीन सयभन्दा बढी ह्याचरी उद्योग छन् । ती उद्योगबाट प्रति हप्ता ४५ लाख ब्रोइलर, दुई लाख ५० हजार लेयर्स र एक लाख ७० हजार कलर ब्रोइलर (कोइलर) चल्ला उत्पादन हुँदै आएको छ ।