पाल्पा। सधै अर्काको भरमा जीवन गुजारा चलाउने महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरु अग्रसर छन् ।

रामपुर नगरपालिका वडा नं ७ मलेङ बस्ने गीता भट्टराईले तरकारी लगाएर राम्रो आम्दानी गर्नुहुन्छ । करिव एक दशक देखि तरकारी व्यवसायमा आबद्ध भट्टराईले पाँच देखि सात रोपनी क्षेत्रफलमा तरकारी लगाउने गर्नुहुन्छ । उहाँले वर्षमा न्युनतम तीन लाख भन्दा बढी आम्दानी लिन सफल हुनुभएको छ ।

“तरकारी लगाउन सुरु गरेपछि अरुको भर पर्नु परेको छैन, आफ्नो खुट्टामा आफै उभिन सक्ने भएको छु, तरकारी लगाउने विभिन्न प्रबिधि जानकारी भएपछि अहिले उत्पादन पनि राम्रै हुन्छ” उहाँले भन्नुभयो ।

उहाँलाई तरकारी खेती सुरु नगर्दा सम्म अरुको भरमा बाँच्नु परेको थियो । अहिले आफैले तरकारी लगाएर कमाउन थालेपछि परिवारमा सुखका दिन आएको भट्टराईले अनुभव सुनाउनुभयो ।

बहखोला बस्ने मथुरा ढकालले तरकारी लगाएर आफ्नो जीविका चलाउदै आउनुभएको छ । कम्तीमा पनि बाह«ै महिना तीन रोपनी जग्गामा तरकारी लगाएर छोराछोरीको पढाई खर्च, घरखर्च चलाउने गरेको उहाँ बताउनुहुन्छ ।

तरकारीबाट उहाँको परिवारको गुजारा राम्रो संग चलेको छ । विभिन्न जातका तरकारी लगाउदै आउनुभएको छ । तरकारी बिक्रिबाट मासिक रु ३० हजार सम्म कमाई हुने गरेको ढकालले बताउनुभयो ।

तरकारी नलगाउँदा सम्म जीवनमा धेरै दुख गर्नुभएकी ढकालले छ वर्ष यता तरकारी खेती निरन्तर गर्न थालेपछि अर्काको भर पर्नु नपरेको उहाँको भनाई छ ।

सोही ठाउँकै विष्णुमाया पोखरेललाई तरकारी लगाउन थालेपछि श्रीमान्को भरमा पर्नुपर्ने अवस्था छैन । तरकारी लगाएर दिनहुँ हातमा पैसा आउन थालेपछि व्यवसायमा हौसला बढेको पोखरेल बताउनुहुन्छ ।

“आफ्नो खर्च चलाउन कस्ले दुई चार पैसा देला भनेर बस्नु जत्तिको दुख जीवनमा केही रहेनछ, अहिले तरकारी लगाउन थालेपछि दिनहुँ हातमा दाम परिरहन्छ, आफ्नो खर्च सजिलो संग चलाउन पाइएको छ” पोखरेलले भन्नुभयो ।

रामपुर नगरपालिका वडा नं ५ राङभाङ बस्ने ज्ञानुमाया कार्की दुई दशक यता तरकारी खेतीमा आबद्ध हुनुहुन्छ । करिव पाँच रोपनी जग्गामा उहाँको खेतमा हरियाली बाह्रै महिना तरकारी हुन्छ । तरकारी खेतीमा कार्कीले रामपुरमा राम्रो पहिचान बनाउनुभएको छ ।

“तरकारी लगाएरै दुई दशक बितेको पत्तो भएन, दिनदिनै तरकारी बेच्यो हातमा पैसा आइहाल्यो, यसरी नै आम्दानी लिन थालेको लामो समय भयो, तरकारीबाट नसोँचेको आम्दानी भइरहेको छ” कार्कीले भन्नुभयो ।

तरकारीबाट वर्षमा तीन लाख देखि पाँच लाख सम्म कमाई गर्नुहुन्छ । अहिले उहाँको व्यवसायबाट गाउँका अन्य महिलाहरुले पनि सिको गर्न थालेका छन् ।

घरायसी कामधन्दा संगै घरमै बसेर पनि दुई चार पैसा आम्दानी गर्न सकिन्छ । केही न केही गरियो भने दुई चार पैसा आम्दानी लिन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् रामपुरका महिलाहरु । यहाँका महिलाहरुको व्यवसायको अवलम्वन गर्न सकेमा महिला परनिर्भरता कम हुदै जानेछ ।