ललितपुर। नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायीक विकास गर्ने उदेश्यले चितवनमा अन्र्तराष्ट्रिय नेपाल पोल्ट्री प्रर्दशनी २०२० हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक मिडिया स्पेस सोलुसनले उक्त जानकारी गराएको हो ।

नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उदेश्यले आयोजना गरिएको प्रर्दशनीमा आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधी, फिड सप्लिमेण्ट्स , डेरी उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योगको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

फाल्गुण १६ , १७ र १८ गते हुने प्रर्दशनीमा पन्ध्र भन्दा बढि राष्ट्रको सहभागीता रहनुका साथै  २ सय ५० भन्दा बढि स्टल रहने छ ।

नेपाली पोल्ट्री क्षेत्रलाई व्यवसायीक परिचय दिई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन र अन्य विकसित देशमा भैरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपाल भित्र्याउन मेला सफल हुने आयोजकको दावी छ ।

प्रदर्शनीमा नेपालका कृषकहरु नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय,उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय,कृषि उद्यम केन्द्र,नेपाल उद्योग वाणिज्य महासंघ,कृषि उद्यम केन्दको समेत सहभागीता रहने छ ।