चितवन। झण्डै डेढ महीनाअघि उत्पादन बढी भएर कुखुराको मासु पर्याप्त विक्री हुन नसकेको चितवनमा हाल उत्पादन घटेपछि बजारमा मासुको मूल्य ह्वात्तै बढेको छ ।

यसअघि प्रतिकेजी रू. २४० देखि २६० सम्म उपभोक्ताले तयारी मासु किन्दै आएपनि अहिले यसको मूल्य वद्धि भएर प्रतिकेजी रू. ४०० सम्म पुगेको छ । बजारमा मागको अनुपातमा आपूर्ति नहुँदा मूल्य बढेको व्यावसायीहरुको भनाइ छ । तर किसानहरु मासुको मूल्य बढ्दा पनि आफूहरुले मुस्किलले लागत मूल्य पाएको दाबी गर्छन् ।

नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेल ब्रोइलर पाल्ने किसाननै पलायन भएको कारण मासुको आपुर्ति कम भएको बताउंँछन् ।

‘करीब ३ महीना अघिनै ५० प्रतिशत किसानले ब्रोइलर पाल्नै छोडेका छन्, अहिले त्यसैको असर परेको हो’, उनले भने । हालको मूल्यले किसानलाई राहत पुगेपनि फाइदा भने नभएको उनले बताए ।

‘अहिलेपनि हाम्रो लागत मूल्इ प्रतिकेजी रू. २२० छ, तर रू. २२६ मा विक्री गर्नुपरेको छ ।’ उपभोक्ताले प्रतिकेजी रू. ४०० सम्म तयारी मासु किन्नुपर्ने बाध्यता भएपनि वीचको मूल्यलाई सन्तुलन ल्याउनुपर्ने उनको भनाइ छ ।

नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष हरिकृष्ण लोहनी बजारमा कुखुराको माग अत्याधिक भएपनि चाहेअनुसार कुखुरा नपाएको बताउँछन् । ‘ब्रोइलर पाल्ने किसाननै छैनन् अहिले’, उनले भने, ‘कुखुरा नभएपछि मुल्यत स्वभाविक बढ्छनै ।’

‘प्रतिकेजी हामीले रू. २ देखि ५ भन्दाबढी नाफा लिएकै छैनौं’, उनले भने, ‘त्यति हुँदा पनि हिजोआज काठमाडौंबाट अर्डर आउन कम भइसक्यो ।’ तर मासु व्यावसायी भने कुखुराको मासुमा उत्तारचढाव आइराख्ने बताउंँछन् ।

चितवन भ्याली कोल्ड स्टोरका सञ्चालक एवं नवलपुर चितवन दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे जाडोमा किसानले कुखुरा पाल्न कम गर्ने हुनाले मासुको मूल्यमा वृद्धि भएको बताउंँछन् ।

‘एकत ब्रोइलर पाल्ने किसाननै घटिसकेका छन्, विस्तारै मौसम अनुकुल भएपछि उत्पादन फेरी बढ्छ’, उनले भने । मासुको मूल्य वृद्धि हुनुमा डेढ महीनाअघि नेपाल ह्याचरी संघले गरेको चिकेन होलिडेको असर अहिले परेको अधिकांशको बुझाइ छ ।

नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल चिकेन होलिडेका कारण कुखुराको उत्पादन कम भएको नभई संयोग मात्र भएको बताउँछन् । ‘ब्रोइलर उत्पादननै कम भएर हो मासुको उत्पादन कम भएको’, उनले भने, ‘पहिले उत्पादन पनि बढी थियो , किसान पनि बढी थिए ।’

अहिलेको मूल्य किसान, व्यावसायी र उपभोक्ताको हितमा समेत रहेको उनको तर्क छ । ‘एउटा चल्लाको ह्याचिङ रेटनै रू. ५० पर्छ’, उनले भने, ‘अहिले रू.५५ मा बेचेका छौं ।’केही समयको लागि बजारमा मासुको मूल्य उच्च भएपनि विस्तारै सन्तुलित दरमा कारोबार हुने उनले बताए ।

बिचौलियाको बिगबिगी सुरु :

उत्पादन बढी भएको जनाउंदै पोल्ट्री व्यवसायीले गरेको १० दिने ‘चिक्स होलिडे’ को असर बजारमा अहिले देखिन थालेको छ । गत मङ्सिर २९ गते देखि पुष ८ गते सम्म ह्याचरीबाट उत्पादित ब्रोईलर, कलर ब्रोईलर र क्रोईलर चल्ला बिक्रि वितरण र ओसारपसार बन्द भए संगै कुखुराको उत्पादनमा देखिएको कमीले बजारमा कुखुराको मासुको मूल्य अहिले सम्म कै उच्च देखिएको छ ।

पशु सेवा विभागका अनुसार १ करोड २० लाख किलो मासु उत्पादनमा कमि आएको तथ्यांक पाईएको छ ।बढी उत्पादन भएर चल्ला मारेका व्यवसायीले ३ महिना पछि बजार पाउने सोचे पनि बजारमा डेढ महिना नबित्दै कुखुराको मासु अभाव भई उच्च मुल्य कायम भएको छ ।

बजारमा माग अनुसार कुखुराको मासु अपुग रहँदा भारतबाट अवैध रुपमा कुखुराको मासु तस्करी भईरहेको जानकारहरु बताउँछन् । भारतबाट सस्तोमा ल्याएर महंगोमा बिक्रि गर्न पाईने भएकाले बिचौलियाहरुको बिगबिगी सुरु भएको हो ।

नेपालको तुलनामा भारतमा प्रति किलो ४० रुपैयाँ सम्म सस्तो रहेकाले कुखुरा भारतबाट नेपाल कागतपत्र बिना नै कुखुराको आयात भएको हो । ठाउँ ठाउँमा रहेका पशु क्वारेन्टाइन कार्यालयको काम त्यति प्रभावकारी नभएको गुनासो सुनिन थालेको छ ।

बजार पाउने लोभले चल्ला मारेका व्यवसायीहरुले अहिले चल्ला मारेको पापको सजाय भोग्न बाध्य भएका छन् । आफ्नो फार्मका कुखुरा सबै रित्तिएपछि भारतबाट कुखुरा आयात हुन थालेपछि व्यवसायीहरु झस्किएका छन् ।