पाल्पा। कालो धान खेतीप्रति पाल्पाका किसानको आकर्षण बढ्दै गएको छ। परीक्षणका लागि लगाइएको कालो धानबाट प्रशस्त आम्दानी हुँदा उक्त खेतीप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको हो।

पाल्पाको रामपुर नगरपालिका र बगनासकाली गाउँपालिका क्षेत्रका किसानले दुई वर्षअघि परीक्षणका रुपमा कालो धानका विशेषता भएको ‘जी–६० ब्ल्याक राइस’ खेती गरेका थिए।

स्थानीय किसान नारायण भट्टराईले काला धान बीऊको परीक्षणबाट दुई मुरी धान उत्पादन गरे। दुई रोपनी खेतमा पहिलो वर्ष नै राम्रो उत्पादन भएपछि कालो धान खेतीलाई व्यावसायिक बनाउन उनी लागि परेका छन्।

‘कालो धानको चामलको माग शहरी क्षेत्रका होटलमा बढ्दो छ। छोटो अवधिमा धान उत्पादन हुने र स्वास्थ्यका लागि फाइदाजनक हुँदा आगामी वर्ष सात रोपनी खेतमा लगाउने योजना छ’, उनले भने।

अन्य चामलका मात्रामा ब्ल्याक राईस मिसाई नियमित रुपमा सेवन गर्नाले क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउने भट्टराई बताउँछन्। अर्का किसान जनार्दन पन्तले पनि तीन किलो काला धान परीक्षणका लागि खेती गरेका थिए। एक रोपनी खेतमा लगाएको काला धान दुई मुरी फलेपछि उनी हौसिएका छन्।

पाल्पाको बगनासकाली गाउँपालिकाको आर्यभञ्याङ्गका बलबहादुर गाहाले समेत पाँच किलो काला धान खरिद गरी व्यावसायिक खेती गरेका छन्। पूर्वमन्त्री लोकेन्द्र विष्टले पनि काला धानको खेती गर्न थालेका छन्। यस खेतीलाई आफूले निरन्तर रुपमा उत्पादन गर्ने उनको भनाइ छ।