झिमरुक। गौमुखी गाउँपालिकाले बजेट रकमान्तर गरेपछि किसान आन्दोलित बनेका छन् ।

आर्थिक वर्षको कृषि क्षेत्रलाई छुट्याएको बजेट केही समय अगाडि फेरबदल गरी अन्य क्षेत्रमा रकमान्तर गरेको भन्दै ध्यानाकर्षण भएको किसानले बताएका छन् ।

नेपाल व्यावसायिक बाख्रापालन सङ्घ गौमुखीका अध्यक्ष पदम केसीको अधयक्षता बसेको बैठकले विभिन्न निर्णयसमेत गरेको छ ।

रकमान्तर गरेको बजेट कृषि क्षेत्रमा नै छुट्याउन गाउँपालिकालाई आग्रह गर्ने निणर्य सङ्घले गरेको छ । अबको एक हप्ताभित्र निणर्य एवं अनुरोधलाई गाउँपालिकाले बेवास्ता गरे सङ्घर्षका कार्यक्रम गर्ने निर्णयसमेत गरिएको छ ।

चालु आवमा गाउँपालिकाको गौरवको आयोजना भन्दै कृषितर्फ महत्वपूर्ण बजेट छुट्याएको थियो । सामूहिक कृषि फार्म सञ्चालन गर्न वडा नं १ आर्खामा रु ३५ लाख, वडा नं ४ पुजामा रु ५० लाख र वडा नं ५ खुङमा रु ३० लाख बजेट छुट्याइएको थियो ।

त्यसैगरी बाख्रा खरीदलगायतका पशुपालनलाई टेवा पु¥याउने उद्देश्यले रु १८ लाख १२ हजार रकम विनियोजन गरिएको थियो । विज्ञको अध्ययनले गौमुखीमा बाख्रालगायत पशुपालन र आधुनिक कृषिको राम्रो सम्भावना रहेको प्रतिवेदनमा औँल्याएका थिए । वडा नं १ को कृषितर्फकोरु ३० लाख बजेट गैरकृषि क्षेत्रमा रकमान्तर गरिएको छ ।

त्यसैगरी वडा नं ४ को कृषितर्फको रु २६ लाख रकम सडकलगायत क्षेत्रमा रकमान्तर गरिएको छ भने वडा नं ५ को कृषि क्षेत्रको रु १९ लाख ३० हजार अन्य क्षेत्रमा रकमान्तर गरिएको छ ।

बाख्रा खरीदलगायत पशुपालनलाई टेवा पु¥याउने उद्देश्यले विनियोजित रु १८ लाख १२ हजारमध्य जनप्रतिनिधि र कर्मचारी भ्रमणमा रु पाँच लाखसहित रु १७ लाख १२ हजार रकम गैरकृषि क्षेत्रमा रकमान्तर गरिएको छ । गाउँपालिकाभित्रका ९० प्रतिशतभन्दा बढी नागरिक कृषि पेशामा आश्रित छन् ।

गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले भने कृषिको क्षेत्रमा छुट्याइएको वजेट ठोस योजना नभएका कारण अन्य क्षेत्रमा सदुपयोग गरेको बताउनुभयो ।

दीर्घकालीन योजनाअनुरुप कृषिविज्ञसँगको सुझावका आधारमा अर्को आर्थिक वर्षमा कृषि क्षेत्रमा काम गर्ने निणर्य गरिएको उहाँको भनाइ छ । कृषिमा छुट्याएको बजेट दुरुपयोग हुनुभन्दा अन्य क्षेत्रको विकासका लागि रकमान्तर गरिएको उहाँले बताउनुभयो ।