
ललितपुर। चीनमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल आयात हुने चिनियाँ लसुनको मूल्य एक महिनामै १३० प्रतिशतले बढेको छ ।
कालीमाटी फलफुल तथा बजार विकास समितिको एक महिने तुलानात्मक थोक मूल्य सूचीका अनुसार मित्र राष्ट्र चीनबाट आयात हुने लसुनको मूल्य पुस १७ गते २१५ रुपैयाँ प्रतिकेजी रहेकोमा माघ १९ गते १३०.२३ प्रतिशतले मूल्य बढेर ४९५ रुपैयाँ पुगेको छ ।
केही समयअघि भारतका कारण प्याजको मूल्यमा यसैगरी अचाक्ली वृद्धि भएको थियो । प्याजजस्तै गरी लसूनको मूल्यमा समेत तीव्र गतिमा बढोत्तरी भइरहेको हो । नेपालमा विगत लामो समयदेखि चाइनिज लसून आयात हुँदै आएको छ । नेपाली बजारमा आउने लसूनमध्ये ५० प्रतिशत बढी चीनबाट आउने गर्छ । यसकारण समेत चीनबाट आयात ठप्प हुँदा लसूनको बजारमा चरम अभाव भई अचाक्ली मूल्य बढेको हो ।
विश्लेषकहरुले चीनका कोरोना भाइरसको महामारी तत्काल रोकिने नदेखिएकोले आगामी दिनमा लसूनको मूल्य अझै बढ्नसक्ने प्रक्षेपण गरेका छन् ।
लसून प्रतिकेजी नै ७०० रुपैयाँ माथि पुग्नसक्ने उनीहरुको विश्लेषण छ।