झापा। मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ । झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन तथा दुग्ध उत्पादन संघको नेतृत्वमा मकैखेती गरिएको हो ।
संघका अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले साइलेक्स बनाउन मकैको फेददेखि टुप्पोसम्म सबै प्रयोग हुने भएकाले केही खेर नजाने र गाई–बाख्राले राम्ररी खाने गरेकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको बताए ।
‘दानाको भन्दा यो चार गुणा सस्तो पर्छ’, उनले भने, ‘साइलेक्समा १३ देखि १४ प्रतिशत प्रोटिन हुने भएकाले दूध उत्पादन वृद्धि हुन्छ र पशुपालक किसानलाई प्रत्यक्ष फाइदा पुग्छ ।’
दानाको तुलनामा साइलेक्सको प्रयोग गर्दा गाई तथा बाख्रापालक किसानको २५ प्रतिशत लागत खर्च घट्ने अध्यक्ष सिटौलाको भनाइ छ । विगत तीन वर्षदेखि सानो परिमाणमा साइलेक्स उत्पादन गर्दै आए पनि संघले प्रदेश सरकारको आर्थिक सहयोगमा ठूलो परिमाणमा उत्पादन शुरु गर्न लागेको छ ।
साइलेक्स उत्पादनका लागि प्रदेश सरकारले रू. ८ करोड अनुदान दिने भएको छ भने संघमा आबद्ध किसानको रू.४ करोड थप गरी रू. १२ करोडको लागतमा अत्याधुनिक उपकरण ल्याउन लागिएको छ । जर्मनीबाट क्यासिक कम्पनीको ‘फूल अटोमेनिक’ यन्त्र खरीद गर्न लागिएको अध्यक्ष सिटौलाले बताए ।
प्रदेशबाट प्राप्त अनुदानबाट भण्डारण गृह, आवश्यक उपकरण खरीद गरिने जनाइएको छ । साइलेक्स उत्पादनका लागि जिल्लाको मेचीनगर नगरपालिका, दमक नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका लगायतका स्थानमा करीब २०० बिघामा मकैखेती गरिएको छ ।
हावा र पानीबाट बचाउनसके साइलेक्स १८ महीनासम्म भण्डारण गरेर राख्न सकिन्छ । हाल भारतको पञ्जावबाट प्रतिकिलो रू.१८ मा साइलेक्स आयात हुने गरेको अध्यक्ष सिटौलाले बताए ।
संघले उत्पादन गरेको साइलेक्स प्रतिकिलो रू.१२ देखि १३ सम्म पर्नेछ । यो वर्ष १ करोड किलो साइलेक्स उत्पादन गर्ने संघको लक्ष्य छ । अत्याधुनिक यन्त्र भित्रिएपछि वार्षिक ४ करोड किलो साइलेक्स उत्पादन गर्न सकिने अध्यक्ष सिटौलाले जानकारी दिए ।
सरकारले खाली रहेको जग्गामा मकै खेती गर्न दिए पशु आहारमा आत्मनिर्भर बनाउन सकिने अध्यक्ष सिटौलाको भनाइ छ । ‘सरकारले खाली रहेको जग्गा दिए पशु आहारमा आत्मनिर्भर बनाउन सकिन्छ’, उनले भने । १ हजार बिघा जग्गामा मकैखेती गर्न सकिए त्यसबाट उत्पादन भएको साइलेक्स ८ हजार गाईलाई पुग्नेछ ।
उन्नत जातका बाच्छी उत्पादनका लागि संघले अमेरिकाबाट एबीएस कम्पनीको कृत्रिम गर्भाधारण उपकरण खरीद गर्ने तयारी गरेको छ । ‘उन्नत जातको बाच्छी मात्रै उत्पादन र गाईको उपचारका लागि आवश्यक तयारी गरिरहेका छौं’, उनले भने ।
संघमा झापा, इलाम, ताप्लेजुङका गरी करीब ११५ गाई तथा बाख्रापालक फार्म आबद्ध छन् । प्रदेश नं १ का पशुपालक किसानलाई संघमा आबद्ध गराएर पशु आहार आपूर्ति गर्ने योजना बनाइएको छ । संघले अन्य किसानले उत्पादन गरेको मकैसमेत खरीद गरेर साइलेक्स उत्पादन गर्दै आएको छ ।









