रुकुमपूर्व। रुकुमपूर्वका युवा पछिल्लो समय तरकारी खेतीमा आकर्षित हुँदै गएका छन्। जिल्लाको सिस्ने गाउँपालिका–५ का टाकुरा, ह्याप्ला, दुधिल्लागैरा वडा नं ६ का पाखागाउँ, दाङ्चा, ढकालबारा, लुस्पालगायतका विभिन्न ठाउँमा तरकारी खेती गरेर युवाले मनग्य आम्दानी लिइराखेछन्।

सिस्ने गाउँपालिका–५ का प्रकाश बिसी र विमल बिसीले बेमौसमी तरकारी खेतीबाट आम्दानी लिएको जानकारी दिए। उनीहरु सहोदर दाजुभाइ छन्। उनीहरुले तरकारी खेतीबाटै वार्षिकरूपमा रु छ देखि सात लाखसम्म आम्दानी गर्दै आएका छन्। विसं २०६३ बाट सुरु गरेको तरकारी खेतीलाई ती दाजुभाइले निरन्तरता दिँदै आएका छन्। बारीमा बन्दा, काउली, टमाटर, लसुन, प्याज, सागलगायतका तरकारी उत्पादन गर्दै आएका छन्। अहिले पनि उनको बारीमा टमाटर लटरम्म फलेको छ। त्यसैगरी प्याज, मुला, सागलगायतका तरकारी छन्।

पछिल्लो समय रुकुमकोट रुकुमपूर्वको सदरमुकाम बनेपछि उत्पादित तरकारी सबै खपत हुने गरेको प्रकाश बिसीले जानकारी दिए। ‘उत्पादित सबै तरकारी बजार लग्नुपर्ने बाध्यता छैन’, उनले भने, ‘तरकारी खोज्दै मानिसहरु घरमै किन्न आउँछन्।’ अग्र्यानिक तरकारी उत्पादन गर्ने भएकाले मानिसले आफूले उत्पादन गरेको तरकारी सबैले मन पराउने गरेको जनाइएको छ।

सिस्ने गाउँपालिका–६ की सुगन्धा मल्लले छ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन्। उनले तरकारी खेतीबाट मात्रै वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। तरकारी मात्र नभएर उनले विभिन्न प्रकारका बिरुवा पनि उत्पादन गर्दै आएको जानकारी दिए। पछिल्लो चरणमा रुकुमकोटमा विस्तार हुँदै गरेको बजार, बढिरहेको जनसङ्ख्याले गर्दा बजारको समस्या नरहेको उनले बताए। ‘तरकारी बिक्रीका लागि बजारको चिन्ता गर्नु पर्दैन, ग्राहक बारीमै पुगेर ताजा तरकारी लिने गरेका छन्’, उनले भने।

रुकुमकोटमा उत्पादित तरकारी अहिले रुकुमकोट उपत्यकामै खपत हुने गरेको छ। जिल्लामा विषादी प्रयोग अझै नभित्रिएकाले युवाले गरेको अग्र्यानिक तरकारी उत्पादन सबैको रोजाइमा पर्ने गरेको छ। यहाँका युवाले प्रदेशको लगानीबाट तरकारी खेती गरिरहेका छन्। कतिपयले आफ्नै लगानीबाट पनि तरकारी खेती गरिरहेका छन्। प्रदेश सरकारले अनुदान उपलब्ध गराएपछि आफू कृषिमा होमिन उत्साहित भएको सिस्ने गाउँपालिका वडा नं ५ की रत्ना बिसीले बताए। तरकारी उत्पादनमा युवाहरु आकर्षण भए विभिन्न रोगले उनीहरुलाई आतङ्कित बनाउने गर्दछ।

बारीभरि तरकारी लगाएर मेहनतको फल पाउने बेलामा विभिन्न किसिमका किरा, भुसुना लागेर क्षति पु¥याउने गरेको सिस्ने गाउँपालिका–५ भाटलराउनेका टेकबहादुर रोकाले जानकारी दिए। किराले बेलाबेलामा सताइरहने हुँदा माटो परीक्षण, उपयुक्त बीउ, दक्ष प्राविधिक, रोगको पहिचान, तरकारी खेतीसम्बन्धी तालीमलगायतका विषयमा व्यवस्थापन गर्न स्थानीय सरकारले सहयोग गर्ने अपेक्षा आफूले गरेको पनि उनले बताए।