ललितपुर। ललितपुरको कृषि ज्ञानकेन्द्रले कौसीखेती प्रवर्द्धनका लागि अनुदान दिने भएको छ । केन्द्रले न्यूनतम २ हजार घरधुरीलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने योजना बनाई कार्यक्रम संचालनमा ल्याएको हो।

केन्द्रले चालू आव ०७६/७७ को बजेट कार्यक्रमको लागि २ करोड रुपैयाँ छुट्याएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रांगारिक कौसीखेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, ०७६ अनुसार निःशुल्क प्राविधिक तालिमसमेत प्रदान गर्ने छ।

कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख निर्मल गदालका अनुसार कुल लागतको बढीमा ५० प्रतिशत हुन आउने रकम अनुदानबापत दिइनेछ । गमला वा ट्रेमा आधारित कौसीखेतीका लागि बढीमा १० हजार र हाइड्रो–पोनिक्स तथा एरो–पोनिक्स प्रविधिको सहायतामा गरिने खेतीका लागि बढीमा २५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइनेछ।

सामान्यतया कौशीमा तरकारी खेती लगाउँदा यस्ता कुराहरुमा ध्यान दिनुपर्छ :

बाल्टीन, बोरा, थोक्रा जर्किन तयार पार्ने ।

मलिलो कालो माटो ल्याउने र त्यसलाई भाँडामा राख्ने ।

घरमा विशेषगरी भान्साबाट निस्कने फोहोरलाई (लसुन, अदुवा, आलुका बोक्रा, सागपात) संकलन गरेर छुटटै बाल्टिनमा राख्ने ।

त्यही फोहोरलाई कुहाएर कम्पोष्ट मल तयार पार्ने ।

कौशीमा के–के तरकारी लगाउन सकिन्छ ?

घरको कौशीमा तरकारी लगाउँदा विशेषगरी फर्सी, लौका, खुर्सानी, सिमी, घिरौला आदि लगाउन सकिन्छ । कतिपयले ठाउँ उपलब्ध भएसम्म कौशीमै पनि गोलभेँडा, काउली, बन्दा लगायतका तरकारी उब्जाउने गरेका छन् ।

यस्ता छन् कौशी खेतीका फाइदाहरु :

परिवारको इच्छाअनुसार स्वच्छ एवंम ताजा तरकारी तथा फलफूल आपूर्ति हुन्छ ।

दैनिक रुपमा तरकारी तथा फलफूल किन्नको लागि पैसा तथा समयको बचत हुन्छ ।

दैनिक भन्सामा निस्कने कुहिने फोहोरमैलाबाट मल निर्माण गरी वातावरण प्रदुषण नियन्त्रण तथा कौशी तरकारी खेतीबाट शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन हुन्छ ।

शारीरिक तथा मानसिक रुपमा फूर्तिलो बनाउने छ ।