पशु सम्बन्धी रोग , आहारा र घासँ सम्बन्धी नयाँ नयाँ अनुसन्धान तथा अनुगमन गर्ने उद्धेश्यका साथ राष्ट्रिय पशु विज्ञान अनुसन्धानको स्थापना भएको हो । अहिले यो अनुसन्धान साखाले कामधेनु घाँसको अनुसन्धान गरिसकेको छ । कामधेनु घाँस कस्तो घाँस हो यो कतिको फाइदाजनक छ भन्ने बिषयमा राष्ट्रिय पशु बिज्ञान अनुसन्धानको सुचना अधिकृतको रुपमा आबद्ध झमक पौडेल सगँ गरिएको कुराकानी ।

कामधेनु कस्तो प्रकारको घाँस हो ?
कामधेनु जै घाँस एक प्रकारको जौ घाँस जस्तै हिउँदे घाँस हो । यो जौ घाँस जस्तै गरेर उम्रिन्छ । यसको पात तथा काण्ड नरम हुन्छ । यस घाँसमा पौष्टिकता र स्वादिष्टता हुनुका साथै प्रोटिन बढि हुन्छ ।

बिउ लगाएको कति दिनमा घाँस काट्न योग्य हुन्छ ?
बिउ लगाएको ४० दखि ४५ दिनमा काट्न योग्य हुन्छ । यो घाँसबाट ४ पटक सम्म कटान लिन सकिन्छ तर, बिउ उत्पादन गर्ने इच्छा छ भने एकपटक मात्र कटिङ लिन सकिन्छ ।

कस्तो हावापानीमा उपयुक्त हुन्छ ?
यो घाँस तराई देखि पहाड सम्म लगाउन सकिन्छ । तर धेरै पानी जम्ने ठाउँमा भने यो लगाउनु उपयुक्त हुदैन । त्यसैले धेरै पानी नजम्ने ठाउँमा लगाउनु पर्दछ ।

जग्गा छनोट कसरी गर्न सकिन्छ ?
मकै लगाउन जसरी जग्गाको तयारी गरिन्छ त्यसै गरी कामधेनु घाँसको लागी पनि त्यस्तै किसिमको जग्गाको तयारी गर्न सकिन्छ । जग्गालाई हल्का खनजोत गरी कामधेनु जै घाँसको बिउ छर्न सकिन्छ ।

सिंचाई कति कति दिनमा गर्नु उपयुक्त हुन्छ ?
यो घाँसलाई लगाएको १० देखि १५ दिनको फरकमा सिंचाई गर्नु पर्दछ । अथवा कटान लिई सकेपछि सिंचाई गर्न सकिन्छ ।

मलखादलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
३० केजी प्रतिहेक्टरका दरले युरीया मल राख्न सकिन्छ । युरीया मलहरु कटान गरिसकेपछि थोरै थोरै डोजमा राख्नु पर्दछ ।

रोग किराले कत्तिको सताएको पाइन्छ ?
यसमा रोगले खासै सताएको पाइदैन । रोग एकदमै कम लाग्छ ।

कामधेनु घाँसको महत्व के छ ?
छोटो समयमा उत्पादन लिन सकिने र गाई वस्तुलाई पोषिलो हुने हुदा यो घाँस हिँउदको लागी महत्व छ । त्यसका कारण दुध तथा माशु उत्पादनमा वृद्धि हुन्छ । कामधेनु घाँस मिलाएर खुवाउन सकियो भने दानाको खपतलाई कम गर्न सकिन्छ । हरियो घाँसमा भिटामिन हुने हुदाँ पशुहरु स्वस्थ्य हुन्छन् साथै रोग लाग्नबाट पनि बचाउछ । जसले पोषिलो खाना खान्छ उ स्वस्थ्य हुन्छ भने झै पशुलाई स्वस्थ्य राख्न कामधेनु घाँस खुवाउनु उत्तम मानिन्छ । चैत्र बैशाख जस्तो सुख्खा समयमा पनि यो घाँस खुवाई उत्पादन बढाउन सकिन्छ ।

कामधेनु घाँस लगाउन चाहने किसानलाई के भन्न चाहनु हुन्छ ?
यदि यो घाँस लगाउन चाहनुहुन्छ भने बिउको लागी खुमलटारमा पनि सम्पर्क गर्न सक्नुहुन्छ । भेटनरी , जिल्ला पशुसेवा कार्यालयमा पनि बिउ पाउन सकिन्छ । तथा प्राबिधिक सगँ पनि सल्लाह लिन सक्नुहुनेछ ।