वीरगञ्ज। नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरीद गर्न बन्द गरेपछि किसान निराश भएका छन् ।

कार्यालयले एक सूचना प्रकाशित गरी माघ १० गतेदेखि धान खरीद गर्न बन्द गरेपछि धान बेच्न आउने किसान निराश भई घर फर्किन बाध्य भएका हुन् ।

एकाबिहानै ट्रयाक्टरमा धान लिएर वीरगञ्जको मुर्लीस्थित कम्पनीको शाखा कार्यालयमा पुग्दा धान खरीद गर्न बन्द गरेको थाहापाएपछि निराश भई घर फर्केका वीरगञ्ज महानगरपालिका–२४ रामगढवा किसान विजय पण्डितले भने, ‘कार्यालयले एकाएक धान खरीद गर्न बन्द गरेपछि हामीले सस्तो दरमा निजीस्तरका गल्ला व्यापारीलाई बेच्नुपर्ने बाध्यता आइपुगेको छ ।’

अचानक सो सूचना प्रकाशित गरी धान खरीद स्थगित गरे पनि अहिले पनि सो कार्यालयमा दैनिक तीनदेखि ६०० क्विन्टल धान विक्री गर्न किसान आउने गरेका छन् । तर धान खरीदको काम बन्द भएपछि किसान निराश भई घर फर्किन बाध्य भएको सो कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताए ।

जिरा मन्सुली ५ हजार क्विन्टल तथा सोना मन्सुली २० हजार क्विन्टल गरी कुल २५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य राखेकामा कार्यालयले जिरा मन्सुली ३२ क्विन्टल २५० केजी तथा सोना मन्सुली १९ हजार ९९९ क्विन्टल २० केजी खरीद गरिसकेको छ ।

गल्ला व्यापारीले जीरा मसिनो धान प्रतिक्विन्टल रू.३ हजार २० मा खरीद गर्ने गरेका छन् भने कार्यालयले सो धान प्रतिक्विन्टल रू।३ हजार १०० मा खरीद गर्ने गरेको छ ।