गोबर भएको ठाउँमा उम्रने भएकाले च्याउको यो प्रजातिलाई गोब्रे च्याउ भनिएको हो । यो च्याउ चिसो हावापानि भएको ठाउँमा उम्रने भएकाले यसलाई पहाड, उपत्यका वा तराईमा मौसम अनुसार खेती गर्न सकिन्छ । हुन त बतानुकुलित कोठाहरुमा पनि यसको खेती बाह्रै महिना गर्न सकिन्छ । तर यसका लागि नेपाली लगानी धेरै गर्नुपर्ने भएकाले नेपालमा अहिले सम्म मौसम अनुसार नै यो च्याउको खेती हुदै आएको छ । गोब्रे च्याउ खेती गर्नको लागि स्थान अनुसार मौसम मिलाएर कम्पोष्ट मल तयार गर्नु पर्दछ । तयारी कम्पोष्ट मलबाट काठको ¥याकमा च्याउ रोप्ने बेड बनाई सो बेडमा च्याउ खेती गरिन्छ । काठमाण्डौं उपत्यकामा असार—श्रावणमा मल बनाई भाद्रमा बीउ रोप्ने र पुष —माघमा मल बनाई फाल्गुणमा बीउ रोप्ने ।

एक टन परालको कम्पोष्ट मल तयारी गर्न चाहिने सामग्रीहरु :

पराल १००० किलोग्राम
यूरिया ५ किलोग्राम
एमोनियम सल्फेट २० किलोग्राम
ट्रिपल सुपरफस्फेट ७ किलोग्राम
कृषि चून ३० किलोग्राम
फर्मालीन १ लि.
नुभान १०० एम.एल.
डेरोसाल ५० ग्राम
गुणस्तरिय च्याउको बीउ २० वोतल (२५० ग्राम प्रति वोतल) वा ५ कि.ग्रा

कम्पोष्ट तयार गर्ने विधि :

सफा पराललाई १ फिट लामो हुने गरी टुक्र्याउने ।

टुक्राएको पराललाई चिसो पानीमा ८- १० घण्टा डुवाउने ।

काठको फ्रेम (५ फिट लम्बाइ ५ फिट चौंडाइ र १ फिट उचाइ)को सहायताले परालको तहतह गरी थिच्दै हरेक ३-४ तह (१ हात) पछि एक पसारो को दरले मल छर्ने र ४ फिटसम्मको उचाई बनाई ५०० के.जी.सम्म पराल अट्ने गरी पुष्ट पार्ने ।

पराल सुख्खा छ भने हल्का पानी दिने ।

कम्पोष्ट पल्टाउने :

पहिलो पल्टाई ५ दिनमा, दोस्रो १० दिनमा (कृषि चून पनि छर्ने), तेस्रो पल्टाई १३ औं दिनमा, चौथो १६ औं दिनमा, पाँचौ पल्टाई १९ दिन, छैठौं पल्टाई २२ औं दिनमा गर्नुपर्दछ । डाईथेन एम ४५, २.५ ग्राम र नुभान १ मी.लि. प्रति लिटर पानीको दरले घोल बनाई २० लिटर प्रति टन कम्पोष्टमा प्रयोग गर्ने ।

सातौं पल्टाई २५ औं दिनमा र आठौं पल्टाई २८ औं दिनमा गर्ने ।

यो अवस्थामा कम्पोष्टको रङ्ग हल्का खैरा, चिस्यान ६० प्रतिशत र पि.एच. ६-६.५ हुनु पर्दछ ।

कम्पोष्ट वेडको तयारी :

च्याउ खेती गरिने कोठालाई २ प्रतिशतको फर्मालिनले सफा गर्ने । सो कोठामा ३-४ फिट चौडाई र ६-८ इन्च उचाईका कम्पोष्ट वेड काठको ¥याकमा बनाउने । भुईमा पनि वेड बनाउन सकिन्छ ।

बीउ छर्ने :

वेड तयार गरेको २ दिन पछि च्याउको बीउ छर्ने ।

१ टन परालको लागि २० बोतल बीउ आवश्यक पर्छ । (५ कि.ग्राम)

माथिल्लो १.५ इन्च कम्पोष्ट हटाई बीउ छर्ने र त्यसलाई कम्पोष्टले ढाकेर हत्केलाले बिस्तारै थिच्ने । माथिबाट फर्मालिनले उपचार गरिएको पत्रिकाले ढाकी पानी दिने ।

कोठाको तापक्रम २२-२५ डिग्री सेल्सिएस र सापेक्षिक आर्द्रता ८०-८५ प्रतिशत राख्ने ।

१५-२० दिनमा कम्पोष्टमा सेतो ढूसी रेखाले ढाकेको देखिन्छ ।

माटोले छोप्ने (केसिङ्ग)

बीउ छरेको २ हप्ता पछि वेडको माथिल्लो तह ढाक्नको लागि मिश्रण (माटो) तयार गर्ने । यसको लागि १०० के.जी. मसिनो माटो २ के.जी. चूना र फर्मालीन पानीको घोल (२५एम.एल.र ५ ली) एकै ठाउँमा मिसाई प्लाष्टिकले ढाकी ४८ घण्टा राख्ने र पुनः राम्ररी चलाउने । सो मिश्रणले १ इन्च बाक्लो हुने गरी वेडलाई छोप्ने र बिहान बेलुकी हल्का पानी दिने ।

कोठाका तापक्रम :

शुरुमा तीन हप्तासम्म २२-२५ डिग्री सेल्सिएस र सापेक्षिक आद्रता ८०-८५ प्रतिशत राख्ने र त्यसपछि १५-१८ डिग्री सेल्सिएस र सापेक्षिक आद्रता ८०-९० प्रतिशत हुने गरी मिलाउने ।

रोगरकीरा नियन्त्रण :

खैरोप्लाष्टर रोगः यो रोग ढूसीबाट फैलन्छ । शुरुमा सेतो र पछि खैरो पाउडर जस्तो देखिन्छ । यसको नियन्त्रणको लागि सरसफाई, हावाको संवाहन, तापक्रम र सापेक्षिक आर्द्रता मिलाउनु पर्छ । उपचारको लागि ५ ग्राम वेभीष्टीन प्रति लिटर पानीमा मिसाएर वेडमा छर्ने ।

कीरा नियन्त्रणः झिँगा एवं सुलसुलेको असर देखियो भने सुलसुलेको लागि ०.१ प्रतिशत र झिँगाको लागि ०.२ प्रतिशत नुभानको घोल बनाएर छर्कने । अवस्था हेरी फेरी एक पटक दोहो¥याउने । विषादी छरेपछि च्याउ टिप्न ४ दिनसम्म पर्खनु पर्छ ।

च्याउ टिप्नेः

च्याउ रोपेको व्याड माटोले ढाकेको ३ हप्ता पछि च्याउ टिप्न लायक हुन्छ । च्याउ टिप्दा बोटलाई समातेर एकातर्फ बटारी हल्कासँग टिप्नु पर्दछ । च्याउ टिपेपछि जरा हटाई उपचार गरिएको माटोले पुनः पुरी हल्का पानी दिनुपर्दछ । एक टन परालको कम्पोष्ट २००- ३०० किलोग्रामसम्म ताजा गोब्रे च्याउ उत्पादन हुन्छ ।

स्रोत : कृषि व्यवस्थापन सूचना प्रणाली